सुखानुभूति

| 2023 Sep 01 | 11:53 am 1585

– दीन पन्थी

सुखको खोजीमा हुन्छन् सबै । भोगी, जोगी, रागी, बैरागी सबै सधै डुल्छन् आनन्दको खोजीमा । आनन्दकै खोजीमा नागा बाबा डुल्छन् । आनन्दकै खोजीमा राजा-महाराजा डुल्छन् । आनन्दकै खोजीमा बने वेदहरू, शास्त्रहरू, पुराणहरू, कुरानहरू, बाइबलहरू । आनन्दकै खातिर बने-धर्म, स्वर्ग र वैकुण्ठहरू । आनन्दकै खोजीमा भेटिए ज्ञानविज्ञान र कलाकौशलहरू । सुख के हो ? वस्तु हो कि मन ? बुझ्नै सकिन्न यो । संसार विचित्र छ । सुखकै खोजमा एउटा रागी हुन्छ, अर्को बैरागी हुन्छ, एउटाले पाउडर घस्छ, अर्कोले खरानी घस्छ । सुखकै खोजीमा एउटा शहर पस्छ, एउटा वन पस्छ । सुख वनमा छ कि शहरमा ? परिभाषा नै गन्जागोल छ सुखको ।

सुखबाट सुख प्राप्त हुँदैन । गर्मीमा घाम ताप्दा सुख हुँदैन । जाडोमा सिर्सिरे बतास सुखदायी हुँदैन । अघाएको पेटमा भोजन सुखकर हुँदैन । आरामपछिको आराम सुखदायी हुँदैन । दुःख हुनाले नै सुख छ । लाग्छ सुख दुःखकै अर्को पाटो हो जसले दुःखसँग साक्षात्कार गर्छ, त्यसैले सुखसँग साक्षात्कार गर्छ । सुखपछि दुःख छ, दुःखपछि सुख छ । दुःखका मूलमा सुख छन्, सुखका मूलमा दुःख छन् । हरेक रात प्रभातको संकेत हुन्छ । हरेक दिन रातको आगमनको संकेत हुन्छ । दुःखमिश्रित सुख छन्, सुखमिश्रित दुःख छन् । जसले कष्ट भोग्छ, उसैले सुख भोग्छ । गुलाबमा काँढा हुन्छन् । तितो खाएपछि गुलियो झन् स्वादिलो हुन्छ

जसले त्याग र संयमको साधना गर्छ, त्यसैले भोगको आनन्द भोग्छ । उपनिषद् भन्छ- ‘तेन त्यक्तेन भुञ्जीथा’ अर्थात् त्यागपूर्वक भोग गर । अति भोग दुःखकर। छ । समयको अन्तराल जति बढ्छ, भोगको स्वाद त्यति नै सुखकर रहन्छ । जसले भोकको अनुभव गर्छ, त्यसैले भोजनको आनन्द लिन्छ । जसले प्यासको अनुभव गर्छ, त्यसैले पेयको आनन्द लिन्छ । जसले थकाइको अनुभव गर्छ त्यसैले विश्रामको आनन्द भोग्छ । भोकविनाको भोजन, प्यास विनाको पेय र थकाइविनाको विश्राम किमार्थ सुखकर हुँदैनन् । हाम्रा बानी विचित्र छन्- बसिरहे हिड्न मन लाग्छ, हिडिरहे बस्न मन लाग्छ । अभावपछिको भावमा आनन्द छ । वर्षामा पानी पर्दा छाता ओढेर हिड्छौं, बाथरूममा छँदा टाउको धारामा थाप्छौं । नखोजेका सुखहरूभन्दा रोजेका दुःखहरू आनन्ददायी हुन्छन् । आनन्द स्वतन्त्रतामा छ । सुनको साङ्लामा जेलिएर सुख खोज्नेहरू दुःख भोगिरहेछन् । चाँदीको पिञ्जडामा थुनिएर आनन्द खोज्नेहरू पिञ्जडाबाट उम्किन खोजिरहेछन् । हामीले सुखी देखेका धेरै मान्छे दुःखी छन् । हामीले दुःखी देखेका धेरै मान्छे सुखी छन् । अर्काले जोखेर दिएको सुख भार भएको छ धेरैलाई । सुख मनमोजमा छ ।

संसार विचित्र छ । कोही खरानी घसेर मस्त छ, कोही अत्तर दलेर अस्तव्यस्त छ । एउटा बाबुलाई थुनेर राजगद्दीमा बस्छ, अर्को स्वतः प्राप्त राजगद्दीलाई लत्याएर भिक्षु  बन्छ। सुखको अनुभव मनले गर्छ कि तनले ? यसको उत्तर खोज्न भौतारिइरहेछन् दार्शनिकहरू । मान्छेले कान छेड्छ, नाक छेड्छ, जिभ्रो छेड्छ किन ? किन सगरमाथा चढ्छन् मान्छेहरू ? कुनै सुरा र सुन्दरीमा दिव्य आनन्द देख्छन् । कुनै त्याग आदर्श र बलिदानमा आनन्द देख्छन् । कसैले आस्था र निष्ठाको लागि ज्यान दिन्छन्, कसैले स्वार्थका लागि भ्रष्टाचार गरेर देश डुबाउँछन्; जनता रूवाउँछन् । देवकोटा भन्छन्- ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरुलाई दिनु जहाँ छ । के देवकोटा भ्रममा छन् ? के लिंदा मात्र सुख हुन्छ, दिंदा हुँदैन ?

कतै झुप्रामा प्रेम फुलिरहेछ, कतै महलमा घृणा डुलिरहेछ । एउटा माटाका थुप्रामाथि उभिएर हाँसिरहेछ, अर्को सुनका रासमाथि उभिएर रोइरहेछ । कसले बाँड्छ सुख-दुःखहरू कुनामा लुकेर ? के प्रकृतिले सुख बाँड्दैन ? के चन्द्रमाले आनन्द बाँड्दैन ? के जुरेली र कोइलीको कण्ठले आनन्द बर्साउँदैन ? के बैस र वसन्तले आनन्द बाँड्दैन ? गर्मीमा उकालो चढ्दा नेटाको चौपारीमा शीतल वायुले के आनन्द प्रदान गर्दैन उकालो नै नचढ्नेले त्यस्तो आनन्द भोग्छ ?
संसारमा छरिएका छन्, जसले टिप्छ, त्यसले भोग्छ । क्षण-क्षण भोग्नुपर्छ आनन्द ।

विचित्र छ संसार । कोही धनी छन् तिनका सन्तान छैनन् । कोही गरीब छन्, तिनका धेरै सन्तान छन् । कसैसँग ढुंगा पचाउने पाचनशक्ति छ तर तिनीसँग प्रशस्त भोजन छैन एउटा भोकले तड्पिरहेछ, अर्को भोजन निल्न नसकेर छट्पटाइरहेछ । एउटा निद्रा नलागेर अस्पटाइरहेछ आरामदायी बिछौनामा, अर्को भुईमै मस्त निदाइरहेछ । भोक नलागेर सन्ताप छ कसैलाई भोजन नमिलेर सन्ताप छ कसैलाई एउटासँग भोक छ अर्कोसँग भोजन छ । एउटासँग प्यास छ, अर्कोसँग पेय छ । एउटासँग बिछौना छ, अर्कोसँग निद्रा छ । रछ्यानमा छन् मणिहरू । शिरमा चढेका छन् काँचहरू । कस्तो नमिलेको संसार हो यो ! ढंगमरू कालिगढले गढेजस्तो । जीवनको उकालीमा चढ्दै गर्दा बैंस भेटिए, वासना भेटिए सुख भेटिए । जीवनको ओरालीमा झर्दै गर्दा ती सबै पोखिए खल्तीबाट । त्यहाँ वैराग्य भेटिए’, निराशा भेटिए, हताशा र मुमुर्षा भेटिए, मरूभूमिमा मरूद्यान झैं त्यहाँ पनि भेटिने छन् केही आशाहरू सुखका झिल्काहरू तडित् झैँ । आँसुमा पनि चम्किन्छन् हर्ष हर्षाश्रु बनेर । झरीमा चम्किन्छन् बिजुली । हाँस्दाहाँस्दै पनि झर्छन् आँसु । जीवन क्षणक्षण चल्छ । क्षणक्षण हुन्छन् अनुभूति हर्षका, शोकका, सुखका, दुःखका ।

सुख त अनुभूति हो मनबाट उठेको । धनले किन्न पाइने बजारिया वस्तु होइन यो । दुःखमा रुँदा पनि मन हलुंगो हुन्छ वेदनाहरू बग्छन् आँसुमा । सुखमा हाँस्दा मन प्रसन्न हुन्छ । तर जीवन विचित्र छ । हाँस्दा हाँस्दै रूनुपर्छ । रुँदारुँदै हाँस्नुपर्छ । जीवनका प्रत्येक क्षणहरू अमूल्य छन् । जीवन रहेसम्म रहन्छन् सुख-दुःखहरू । जीवनान्तपछि न सुख छन् न दुःख छन् । यही शरीर यिनै इन्द्रिय र यही मन हुन् भोक्ता सुख दुःखका । देहान्तपछि आत्मालाई नित्य सुख छ, चिदानन्द छ । कमाएका वैभव यहीं रहलान्, छोरानातिले भोग्लान् । हाम्रा सन्ताप र मृगतृष्णाहरू हामीसितै मर्लान् । सुख र हर्षका उन्मादहरू पानीका फोका झैँ बिलाउलान् । हामीले भोगेका दुःखहरूका बन्लान् मर्मस्पर्शी र चिरस्थायी कथाहरू ।

(किरण पुस्तकालय, तम्घास, गुल्मीबाट प्रकाशित हुटिट्याउँको मन निबन्ध स‌ंग्रहका कृतिकार दीन पन्थी हाल रेसुङ्गा क्याम्पस तम्घासमा अध्यापनरत हुनुहुन्छ)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.