सिरहा, चैत ३ :सीके राउत संयोजक रहेको ‘स्वतन्त्र मधेस गठबन्धन’को राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा सुरु भएको छ । सरकारसँग ११ बुँदे समझदारीपछि मूलधारको राजनीतिमा आएपछि गठबन्धनको यो पहिलो बैठक हो ।
मधेशको २२ जिल्लाबाट २ सय प्रतिनिधि तथा पर्यवेक्षक बैठकमा सहभागि भएको गठबन्धनका नेता सुदीपराज कुशवाहाले जानकारी दिए । बैठकमा सहभागि हुन आएका गठबन्धनका नेताहरुलाई परिचयपत्रको रुपमा नागरिकता देखाएपछि बिना मोबाइल बैठकस्थलमा प्रवेश दिइएको थियो ।
सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित मारवाडी सेवा सदनमा आइतबारबाट सुरु भएकाे वैठकबाट गठबन्धनको आगामी राणनीति तय गर्न गम्भीररुपमा बहस चल्ने भएकाले मोबाइल निषेध गरिएको कुशवाहाले जनाए ।
एक स्वयंसेवकका अनुसार वैठकस्थलमै नास्ता देखि भोजनसम्मको प्रबन्ध गरिएको छ । वैठकस्थलको मूल गेटबाटै गठबन्धनको आन्तरिक सुरक्षा दस्ताले वैठकस्थलमा कडाइ गरेको छ । प्रहरीले भने मारवाडी सेवा सदनको मुल गेट नजिकै सडकमा उभिएर सुरक्षा दिइरहेको छ । बैठकस्थलभित्र प्रहरीसमेतलाई प्रवेश दिइएको छैन ।
यस बैठकमा सरकारसँग भएको ११ बुँदे सहमतिमा उल्लेखित ‘जनअभिमत’ शब्दमाथि कडारुपमा बसह भइरहेको स्रोतले जनाएको छ । बैठक भोली सम्म चल्ने आयोजकले जनाएको छ ।