सिरहा, साउन २४ : सिरहाको मिर्चैया नगरपालिका ३ मा बन्दुक देखाएर दिउँसै २५ लाख रुपैयाँ लुटिएको छ। लुटेराले मनी ट्रान्सफरका सञ्चालकबाट अाज (बिहीबार) २५ लाख ६० हजार रुपैयाँ लुटेका हुन्।
कल्याणपुर नगरपालिका ११ स्थित सञ्चालनमा रहेको राजाराम सव मनी ट्रान्सफरका सञ्चालक राजाराम साहबाट उक्त रकम लुटिएको मिर्चैया प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साहका अनुसार मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट २५ लाख ६० हजार नगद लिएर कल्याणपुर मोटरसाइकलमा जाँदै गरेका साह मिर्चैया–कल्याणपुर सडक खण्ड अन्तर्गत तिनगछियामा लुटिएका हुन्।
दिउँसाे १२ बजेतिर २ वटा मोटरसाइकलमा आएका ४ जना युवाको समूहले साहलाई घेरेर पेस्तोल देखाउँदै नगद लुटिएको डिएसपी साहले जानकारी दिए। मिर्चैयाका डीएसपी साहका अनुसार लुटेराको खोजी भइराखेको छ।