सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र स्थनीय प्रशासन बीच सहमत

| 2025 Nov 22 | 10:24 am 629

मंसिर ६ काठमाडौँ / गएको बुधवार र बिहिवार बाराको सिमरामा भएको घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र स्थनीय प्रशासनबीच सहमति भएको छ ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत जिल्लामा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन आउने क्रममा जेनजी समूहले विरोध प्रदर्शन गरेको थियो । सोही क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो ।

बाराको पथलैयामा रहेको सशस्त्र प्रहरी बल नेपालको प्राविधिक तालिम शिक्षालयमा हिजो भएको वार्तामा सिमरामा उत्पन्न द्वन्द्व व्यवस्थापन गर्ने सहमति जुटेको हो ।

वार्तामा सहभागी जेनजीका अगुवाले आफूहरूमाथि धम्की आएको भन्दै सुरक्षाको ‘ग्यारेण्टी’ हुनुपर्ने माग राखेका थिए । प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख र जेनजीको तर्फबाट अभियन्ता सुदन गुरुङ, पुरुषोत्तम यादव, बाराका अध्यक्ष सम्राट उपाध्यायसहित जीतपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको सहभागिता थियो ।

जेनजीहरूको उजुरीका आधारमा स्थानीय प्रशासनले तीन जनालाई पक्राउ लिएर अनुसन्धान गरिरहेको छ । बुधवार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण दुई दिनदेखि बारा अशान्त बनेको थियो ।

स्थिति सामान्य बनाउन लगाइएको कर्फ्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी युवाले बुधवार र बिहिवार दिनभरि वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.