राजेन्द्र पहारी निर्माण व्यवसायि मात्र नभएर समाजसेवी पनि हुन् । विगत लामो समय देखि विभिन्न सामाजिक क्षेत्रमा कार्यरत पहारीले चार नम्बर प्रदेशको राजधानी कास्की पोखरालाई कार्यथलो बनाएका छन् । हाल निर्माण व्यवसायि संघ कास्कीको सल्लाहकार रहेका उनी यस अघि दुई कार्यकाल कास्की निर्माण व्यवसायि संघको अध्यक्ष बनिसकेका छन् । उनी अध्यक्ष रहेको समयमा कास्की निर्माण व्यवसायि संघ उत्कृष्ट हुन सफल भएको थियो।
पश्चिमाञ्चल खेलकुद विकास समितिको सदस्य, जनप्रिय बहुमुखी क्याम्पस पोखराको संचालक समितिको सदस्य, कास्की जिल्ला बक्सिङ्ग संघको बरिष्ठ उपाध्यक्ष, मानव अधिकार तथा शान्ति समाजको आजिवन सदस्य, नेपाल रेडक्रस सोसाइटी उपशाखा ९ को सभापति लगायत दर्जन भन्दा बढी सामाजिक संस्थामा उनी आबद्ध छन् ।
खेलकुद र शिक्षा क्षेत्रमा अलि बढी ध्यान केन्द्रीत गर्ने राजेन्द्र पहारी बिहिबार देखि काठमाडौंमा सुरु भएको यातायात व्यवसायि राष्ट्रिय महासंघको चार नम्बर प्रदेशबाट उपाध्यक्षमा उम्मेदवार बनेका छन् । पहारीसँग रिपोर्ट नेपालका लागि कार्यकारी सम्पादक महेन्द्र पाण्डयेले गरेको कुराकानी प्रस्तुत गरेका छौं ।
राजेन्द्र जी चार नम्बर प्रदेशको उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ, तपाईका एजेण्डा के छन् ?
म कुरालाई भन्दा कामलाई बढी महत्व दिने मान्छे हुँ । मैले गर्न नसक्ने कुरा प्रतिनिधि साथीहरुसँग राखेर आउने दिनका लागि ढोका बन्द गर्न चाहदिन । मेरो काम गर्ने तौर तरिका चार नम्बर प्रदेशका साथीहरुलाई राम्रोसँग थाहा छ । म निर्वाचित भएपछि मेरो पहिलो आवाज उठाउने काम सरकारले हाम्रो पेशालाई हेर्ने दृष्टिकोणबाट हुनेछ । सरकारले हाम्रो व्यवसायलाई अत्यन्तै नकरात्मक दृष्टिले हेर्ने गरेको छ । त्यसलाई अन्त्य गर्न मेरो बुद्धि विवेक र क्षमताले भ्याए सम्म लागि पर्नेछु ।
सरकारले त निर्माण व्यवसायिका कारण विकासका कामले गति लिन सकेन भनिरहेको छ त ?
सरकारको यो भनाई नाच्न नजान्नेले आँगन टेढो देखे जस्तै हो । आफूले स्टीमेट गर्ने आफैले टेण्डर निकाल्ने आफै निरीक्षण गर्ने, समयमा भुक्तानी नदिने अनि आरोप चाही हामीमाथि लगाउने ?
समयमै काम नगर्ने र गुणस्तरिय नगर्ने भनेर लगाउने आरोपलाई तपाई के भन्नुहुन्छ ?
राज्यले निर्माण व्यवसायिलाई आरोप लगाएर आफू पानी माथिको ओभानो बनेर आफ्नो असफलता प्रस्तुत गरेको हो । समयमा काम सम्पन्न गर्नका लागि राज्यले सहयोग गरोस हामी दिइएको समय भन्दा अगाडी नै सम्पन्न गर्छौं । मेटरियल प्रयोग गर्न डोजर लगायो प्रहरीले समाउछ । रुख आयो हामीले काट्न नपाउने सम्बन्धित कार्यालयले महिनौसम्म कटान नगरिदिने, ढुङ्गा गिट्टी थुपार्द स्थानीयले अवरोध गर्ने, काम गरिरहँदा विभिन्न संघ संस्थाको नाम लिदै रकम मागेर हैरानी पार्ने यस्ता काम सरकारले बन्द गरिदियोस् हामी समयमा काम दिन तयार छौं ।
गुणस्तरको आरोप के हो त ?
सरकारले स्वयम् गुणस्तरहिन काम गर्नका लागि मूल्याङ्कन गर्छ । चालिस टन सामान बोकेर हिड्ने बाटो बीस एमएमको स्टीमेट गरे पछि कहाँबाट गुणस्तरको हुन्छ । पाँच करोड योजना पाँच ठाँउ टालटुले तरिकाले गर्ने सरकार दोष दिने हामीलाई ? सरकारले त्यही किसिमको स्टीमेट गरोस् यति वर्ष टिकाउ भन्ने राखोस् हामी त्यही अनुसार काम गर्न तयार छौं । सरकारले हामीमाथि लगाउँदै आएको आरोपलाई चिर्नका लागि पनि मैले उम्मेदवारी दिएको हुँ ।
एउटा योजनाको रकम अन्यत्रै लगेर काममा ढिलाई गर्ने गरेको आरोपलाई चाही तपाई के भन्नुहुन्छ ?
हामीले त्यस्तो गरेका पनि छैनौ र गर्दैनौ पनि । सरकारले कामको भुक्तानी समयमा नदिने दोष चाही हामीलाई दिने ? हामीले काम गरेको भुक्तानी दिदै जाने हो भने काम रोकिने कुरै आउदैन । काम रोकिएको पाउना साथ हामीले बैंक ग्यारेन्टी दिएका हुन्छौं रकम ताने भइहाल्यो ।
अन्त्यमा के भन्नुहुन्छ ?
हाम्रो व्यवसायमा ठूला र साना व्यवसायि बीच गहिरो खाडल छ । म त्यो खाडललाई पुर्न चाहान्छु । अव हामीले साना व्यसायिको सम्मान गर्नु पर्छ । आफूले पेटभरी खाने अरुलाई भोकै बस भन्ने परिपाटिलाई हटाउनु पर्छ । मेरो उम्मेदवारी साना व्यवसायि साथिसँग भाइचाराको व्यवहार गर्नका लागि हो । म निर्वाचित भए भने सबै जिल्लामा हुने टेण्डरमा साना व्यवसायिको समेत संलग्नता गराउने छु । यसका लागि जस्तो सुकै कुर्वानी गर्न म तयार छु । साना व्यवसायिको जिविकोपार्जन मेरो पहिलो मुद्दा हुनेछ ।