सशस्त्र प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, एक भारतीय सहित ३ पक्राउ

| 2019 Feb 02 | 11:47 am 2213

राजविराज, माघ १९ : सशस्त्र प्रहरी र गाँजा तस्करबीच शुक्रबार राति सप्तरीमा दोहोरो गोली हानाहान भएको छ । हनुमान नगर कंकालिनी नगरपालिका-१३ गोबरगाढा टापुमा गोली हानाहान भएको हो ।

भारततर्फ निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुबीच झडप भएको हो । गाँजा लिएर तस्करहरु जाँदैछ भन्ने गोप्य सूचनाका आधारमा पछयाउँदै गएको सशस्त्र प्रहरीको टोली देख्नासाथ तस्करहरुको टोलीले सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरि दुई राउण्ड गोली प्रहार गरेको सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजमा गणपति एसपी खेमबहादुर थापाले जानकारी दिए ।

गाँजासहित भारत विहार राज्यको सुपौल जिल्लाका ६५ वर्षीय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर रायलाई पक्राउ परेका छन् । तस्करीमा संलग्न अन्य व्यक्ति भने फरार भएको तथा उनीहरुको खोजी कार्य तीव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीमाथि गोली चलाउने उक्त समूहका अन्य दुईजना भने फरार भएको एसपी थापाले जनाए । पक्राउ गरिएको गाँजा र तीनैजनालाई आवश्यक अनुसनधान र कारबाहीका लागि सशस्त्रले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.