सुनसरी, असार २७: अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिन देखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । बिहीबार सप्तकोशीमा पानीको बहाव प्रतिसेकण्ड १ लाख १० हजार ९ सय सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जानकारी दिए ।
सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । बिहीबार र शुक्रबार देशभर भारी वर्षाको कारण साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी गर्न सरकारले आह्वान गरेको छ ।
विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २०–३६ घण्टासम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ । तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह खतराको लेभलभन्दा माथि पुग्ने चेतावनी दिइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशभर वर्षाको सम्भावना छ ।
हाल मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनी वर्षा जारी छ । धनुषा र सिरहाको सीमाको रुपमा रहेको कमला नदीमा समेत पानीको बहाब अचानक बढन सक्ने संकेत रहेको भन्दै कमला छेउका स्थानीयहरुलाई सर्तक रहन आग्रह गरिएको छ ।
यसका साथै उक्त क्षेत्रहरुमा सुरक्षाकर्मीहरुलाई समेत तैनाथ रहन निर्देशन गरिएको छ ।