काठमाडौँ १४ जेठ / सदनको गतिरोध अन्त्य गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयास असफल भएको छ । सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज सोमबार भएको छलफलमा कुनै निष्कर्ष निस्किएन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको अलग अलग र संयुक्त छलफलमा सहमति नजुटेपछि आजै साँझ पुनः छलफल गर्नेगरी छलफल स्थगित भएको छ । छलफलमा सहभागी कांग्रेसका नेताहरुले आजै दिउसो आफ्नो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्ने र साँझ पुनः बैठकमा सहभागी हुनेछन् ।
सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।
‘प्रधानमन्त्रीले पछिल्लो समय विपक्षी दलसँग बैठक राख्दै समझदारीको लागि केही कुरा राखेको बुझिएको छ । आज साँझसम्म यो गतिरोधको अन्त्य गर्ने भनेर प्रधानमन्त्री लागेको बुझिएको छ । प्रधानमन्त्रीको यो पहलकदमी उपयुक्त छ। तर समग्र सत्तापक्ष एमाले र रास्वपा सोचेजस्तो समस्या समाधान गर्ने तर्फभन्दा पनि यो समस्या अल्झाइ रहने मनशाय देखिन्छ।
सहकारी प्रकरणको छानविनको कार्यादेशसम्वन्धमा बीचमा केही लचक भएको कांग्रेसले अहिले पूरानै अडानमा फर्किएको बुझिएको छ । कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरुले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत अडान कायम राखेको बताएका छन् । सँगै सत्तारुद नेकपा एमालेका अध्यक्ष केपी ओली मुछिएको गिरिवन्धु टि–इस्टेट प्रकरणमा पनि कांग्रेस आक्रामक बनेको छ ।
गिरिबन्धु टि–इस्टेट प्रकरणमा कांग्रेस नेताहरुले दिएको अभिव्यक्तिले एमालेका नेताहरु रुष्ट भएका हुन् । आजको बालुवाटार बैठकमा एमालेले यो विषयमा आपत्ति जनाउँदै लिखित रुपमा माफी माग्नुपर्ने बताएको छ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर गिरिबन्धु टि–इस्टेट प्रकरणमा एमाले अध्यक्ष केपी ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी गरेका थिए । एमालेलाई शर्माले भनेका थिए, ‘रविलाई साथ दिएर गिरीबन्धुमा रविको साथ लिन एमाले लागेको देखिन्छ ।’