सत्य मेव जयते !

रिपोर्ट नेपाल | 2020 May 30 | 09:25 am 3951

  • धर्मराज पाैडेल

जसलाई प्यास लाग्छ उहि खोला धाउँछ, भन्ने नेपाली उखान यहाँ स्मरण गर्नु सान्दर्भिक होला। जबसम्म बच्चा रुँदैन तबसम्म सबै आमाले दूध खुवाउन याद नगर्न पनि सक्छन् । अर्थात जहाँ स्वयं विवेकको आशा कम हुन्छ त्यहाँ सरोकारवालाले कुनै न कुनै रुपमा माग दाबी गर्नै पर्ने हुन्छ।

अहिले पनि भन्न खोजिएको र गर्न खोजिएको त्यही नै हो। हुन त लामो समयसम्म कसैले आफ्नो उपस्थिती वा माग दाबी गरेन भने कसैलाई लाग्न सक्छ यो मेरै भएछ क्यारे भनेर। अर्कोले आश मारिसकेको भनेर अरुको जग्गामा आफ्नो लगानी गरेर थाहा नपाए जस्तो गरि लाज पचाउनु आफैमा लाचारी पन हो।

अब त बिर्सि सक्यो होला भनेर ढुक्क भएको बेला लामो समयको अन्तरालमा आफ्नो हकाधिकार खोज्दा बेमौसमी र असहज लाग्नु स्वाभाविक पनि होला। सिधै स्वीकार गर्दा पनि अन्तर्राष्ट्रिय जगतले के भन्ला भन्ने पिरलो, नगर्नु आफ्नो पक्षमा यथेष्ट प्रमाण नहुनुले दोबिधा सृजना हुनसक्छ।

एकातिर लामो समयसम्म बिना अवरोध भोगचलन हुनु अर्कोतिर हकवाला चुप लागेर बस्नु दुबै कारण यो असहज परिस्थितिको निर्माण भएको हुनसक्छ।अन्यथा यस्को अरु कारण खोजी गर्नुपर्ने हुन्छ।  त्यसको पछाडि लाग्दा पनि परिस्थिति झन् अप्ठ्यारो हुन सक्छ। बिगतका लोभी पापी शासक र प्रशाशकहरुकै अकर्मण्य व्यबहारले गर्दा सदीयौं देखिको मैत्रीपुर्ण सम्बन्धमा चिसोपन आउनु राम्रो संकेत भने अवश्य होईन ।

जेहोस् अब बिगतका कमी कमजोरी कोट्याएर मात्रै समस्याको समाधान हुँदैन । यी सबैकुरा भबिस्यको जिम्मा लगाऔं। हामीले गर्ने भनेको बर्तमान जटिल परिस्थितिलाई दृस्टीगत गरि साँप पनि मरोस् लठ्ठी पनि नभाँच्चियोस् भन्ने रणनीति अवलम्बन गर्नु बेस हुन्छ। छिमेकी भनेको छिमेकी हो, यसलाई चाहेर पनि फेर्न सकिदैन। सबैभन्दा पहिले काम लाग्ने छिमेकी नै हुन्छ। छिमेकी भन्दैमा सबै असल हुन्छन् भन्ने पनि हुँदैन । उ संगको आफ्नो व्यबहारले पनि असल र खराब निर्धारण गर्छ।

हाम्रो तर्फबाट भए गरेका गल्तीहरु सर्बप्रथम स्वीकार गरि आत्मालोचना गर्दै बार्ताको थालनी गर्नु राम्रो हुन्छ। यसो भनी रहँदा आफ्नो कमजोरी किन देखाउने भन्ने पनि हुन सक्छ। तर त्यो भावना लिएर निकास आँउदैन। आफ्नो याचनाले अरुको बिचार सकारात्मक गराउनु पनि बुद्दिमानी हो।

हामीसँग पुर्खाले जे गरे त्यही गर्ने भन्ने खालको बिचार अहिलेको युग सुहाउँदो हुदैन र उस्तो सामर्थ्य पनि छैन।यो खुँडा र खुकुरीको युग हैन। अहिलेको युद्ध भनेको अत्याधुनिक कम्प्युटर द्वारा स्वचालित अस्त्र शस्त्रको जमाना हो। अहिले हामी बिचार र बुद्धिको प्रयोग गरेर लडाइँ लड्नु पर्छ।

सबैभन्दा उत्तम बिधि भनेकै कुटनीतिक पहलनै  हो। दुबै पक्षहरूले आत्म समिक्षा गर्दै वार्ता सुरु गर्नु जरुरी छ। शालीन ढंगबाट प्रस्तुत भएर एउटा टेबलमा बस्नु पर्दछ। बिगतदेखी बर्तमानसम्मका सबै मुद्दाहरुका असमझदारीको बारेमा एकापसमा गम्भीर छलफल हुनुपर्छ ।

आफ्ना आफ्ना माग दाबी अनुसारको प्रमाणहरु अगाडि राख्नुपर्छ। अनिमात्र सत्यको खोजी गर्नु उपयुक्त हुन्छ।अहिले सञ्चार माध्यममा भोक्रो फुलाएर समस्याको समाधान हैन झन् जटिलता उत्पन्न हुन्छ। त्यसकारण दुबौ पक्ष धैर्य र संयम भएर ठण्डा दिमागले निदान खोजेमा मैत्रीपुर्ण हिसाबले नै समाधान निस्कन्छ।

यसको लागि तेस्रो पक्ष पनि जरुरत पर्छ भने सँगै राखेर सत्य र यथार्थ खोजी गरौं । यसमा कसैको हठले केहि हुँदैन । सत्यको अगाडि सबै नझुकी सुखै छैन। त्यसकारण  (सत्य मेव जयते) भन्ने आदर्श वाक्यको मर्यादा र परिपालन सबैले गरौं ।यसैमा सबैको कल्याण छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.