गुल्मी, जेठ २८ः भारतको मुम्बइमा रोजगारीका लागि गएका इस्मा गाउँपालिका वडा नं. २ ताल्तुङका ३५ वर्षीय कान्त बहादुर कुँवर (सुरज) को अहिले मुम्बइको एच आई ओ एन अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको छ ।
१९ वर्षीया छोरी र १५ वर्षीय छोराको उज्जवल भविश्य बनाउनका लागि रोजगार गर्न भारत गएका कुँवर सडकमा अचेत अवस्थामा ढलेको देखेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
घरको आर्थिक स्थिति कमजोर भएका कारण परिवारको लालन पोषण र छोराछोरीको शिक्षाका लागि उनी बिदेशिन बाध्य भएका थिए । कुँवर अहिले मृत्युसँग लड्दै अचेत अवस्थामा छन् ।
उनको स्याहार सुसारमा शेरबहादुर कुँवर, नारायण कुँवर र हरी कुँवर सकृय छन् । आर्थिक समस्याका कारण उनको उपचारमा समस्या आएपछि नेपाली कांग्रेस गुल्मीका सदस्य एवं समाजसेवी कृष्ण पोख्रेलले कान्त कुँवर बचाउ अभियान चलाएका छन् ।

समाजसेवी पोख्रेलकी श्रीमतीको उपचारका लागि दिल्ली पुगेका पोख्रेलले कुँवरको आर्थिक अवस्था बुझेका कारण यो अभियान चलाएका हुन् ।
गुल्मीको सदरमुकाम तमघासमा व्यवसाय गर्दै आएका पोख्रेलले उपचारार्थ श्रीमतीको सँगै कुँवरको चिन्ता लिएर सच्चा समाजसेवी रहेको प्रमाणित गरेका छन् ।
शनिबार बिहान भारतको दिल्लीबाट रिपोर्ट नेपालसँग कुरा गर्दै पोख्रेलले कान्त कुँवरको आर्थिक स्थिति दयनीय भएको र लालाबालालाई यस्तो अवस्था भोग्न नपरोस भनेर उनीहरुको शिक्षा दिक्षाका लागि रोजगारीका लागि भारत गएको बताए ।
मुम्बइको अस्पतालको बेडमा अचेत रहेका कुँवरकी श्रीमती गंगा केसीले आफ्ना श्रीमानको प्राण बचाइदिन सार्वजनिक अपिल गरेकी छन् ।
रिपोर्ट नेपालसँग भक्कानीदै केसीले आर्थिकका कारण मेरो श्रीमानको मृत्यु नहोस बरु बाँचेपछि म मजदुरी गरेर भएपनि पाल्छु भन्दै श्रीमानको प्राणको भिख मागेकी छन् ।
समाजसेवी पोख्रेलले चलाएको अभियानमा थुप्रै दानबीरले सहयोग गरेका छन् र गर्ने क्रम जारी छ । कुँवरलाई गाडीले ठक्कर दिएको अनुमान गरिए पनि वास्तविकता पत्ता लागेको छैन ।
बिदेशी अस्पतालमा अचेत रहेका कुँवरलाई सहयोग गर्न आम नेपालीलाई रिपोर्ट नेपाल डटकम परिवार आग्रह गर्दछ ।
उनलाई सहयोग गर्न चाहने दानबीरले कान्त बचाउ अभियानका कृष्ण पोख्रेलको ९८५७०२०१३६ वा उनकी श्रीमती गंगा केसीको ९८४७२३४७६७ मा सम्पर्क गर्न सकिने छ ।