कास्की, असार २६: औषधि उपचार गर्न भन्दै श्रीमतीलाई जंगलमा लगि हत्या गरेको अभियाेगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर घर भइ हाल पोखरा–१० रामबजार बस्ने ३५ वर्षीय रमेश नेपाली रहेका छन् । उनले २८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरेर जंगलमा फालेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो ।
पोखरास्थित रामबजारमा मोबाइल पसल गर्दै आएका रमेशले श्रीमती लक्ष्मीलाई पोखरा–२२ पुम्दिभुम्दीस्थित ठुल्ढुङ्गाको जंगलमा लगी हत्या गरी फालेको अवस्थामा २५ दिनपछि अस्थिपञ्चर फेला परेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएकाे छ ।
सिद्धार्थ राजमार्गदेखि करिब ५ सय मिटर तल पोखरा–२२ पुम्दिभुम्दीको ठुल्ढुङ्गाको जंगलमा बुधवार अस्थिपन्जर भेटिएको हो ।
कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्की सहितको टोलीले घटनाको थप अनुसन्धान थालेको छ । रमेशले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निवेदन दिएका थिए ।