काठमाडाैं, भदाै १८ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेसियामा आज भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो।
समूह ‘ए’ बाट नेपालले एक खेल बाँकी छदै सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो। आजको खेलमा जितको लागि ७५ रनको लक्ष्य पछ्याएको नेपालले १०. ३ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन्। उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेर बोल्ड आउट भइन्। त्यस्तै इन्दु वर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् भने सीता रानामगर २३ बलमा १७ रन बनाई अविजित रहिन्।
टस हारेर पहिले ब्याटिङ्ग गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो। कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन्। एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन्।
नेपालका लागि इन्दु वर्माले ४ ओभरमा १० रन दिंदै तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए।
नेपालले समूह चरणको अन्तिम खेल बुधवार युएईसँग खेल्नेछ। नेपाल सेमिफाइनलमा पुगिसकेकोले यो खेल भने औपचारिक मात्र हुनेछ ।