असोज २७ काठमाडौँ / प्यालेस्टिनी सशस्त्र समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित चार बन्धकको मृत्यु भएको भन्दै नाम सार्वजनिक गरेको छ।
यसअघि आज बिहान इजरायली अधिकारीहरूले जोशी जीवित नरहेको जानकारी गराएका थिए। इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाले जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई गराएका हुन्।
हमासको सशस्त्र शाखा अल–कसम ब्रिगेड्सले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशी सहित चार जना बन्दीहरूको मृत्यु भएको र उनीहरूको शव आजै इजरायललाई हस्तान्तरण गरिने जानकारी दिएको हो। विज्ञप्तिमा मृतकको नाम विपिन जोशी, गाइ इलुज, योसी शाराबी र ड्यानियल पेरेजको रूपमा उल्लेख गरिएको छ।
शव हस्तान्तरणको यो प्रक्रिया इजरायल र हमासबीच भएको पछिल्लो सम्झौताअनुसार गरिएको बताइएको छ। सम्झौताको अनुसार, इजरायलले केही प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ भने, जवाफमा हमासले कब्जामा रहेका मृतक बन्दीहरूको शव फिर्ता गर्नेछ।
यसअघि हमासले गाजामा रहेका सबै २० जीवित बन्दीहरूलाई रिहा गरिसकेको छ। तर अझै पनि केही मृत इजरायली बन्दीहरूको शव उसकै नियन्त्रणमा रहेको बताइएको छ।
इजरायली अधिकारीहरूले सम्झौताअनुसार हमासले सबै मृतकहरूको शव फिर्ता गर्नु पर्ने बताएका छन्। नेपाली पक्षले पनि विपिनको अवस्थाबारे निरन्तर चासो देखाउँदै आएको थियो।