काठमाडौँ १७ जेठ / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरी विपद्को पूर्वतयारी गर्न र विपद्पछि पनि तत्काल राहत उपलब्ध गराउने प्रवन्ध मिलाउन मातहतका निकायलाई मन्त्रालयमा आज (सोमबार) ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८१’ को मस्यौदा उपर भएको छलफलमा निर्देशन दिएका छन् ।
मन्त्री लामिछानेले जनताको ज्यान जोगाउनु सरकारको मुख्य दायित्व हुने भन्दै भने– ‘आपत्–विपद्मा नागरिकलाई अझ बढी सरकारको साथ चाहिन्छ। यो मनसुनमा हुने विपद्का घटनामा नागरिकले सरकारको पूर्ण अनुभूति गर्न सक्नुपर्छ, त्यहीअनुसार योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।’
मन्त्री लामिछानेले राहत र उद्धारको लागि गृह मन्त्रालयको नेतृत्वमा ‘टास्क फोर्स’ बनाउन, जिल्ला–जिल्लामा ‘हेल्प सेन्टर’ स्थापना गर्न, जोखिमयुक्त पहिचान भएका ठाउँमा पूर्वसावधानीको सचेतनाका लागि समन्वय र उद्दारको पूर्वाभ्यास निरन्तर गर्न पनि आग्रह गरेका छन्
विपद् व्यवस्थापबारे नीतिगत निर्णय गर्नुपर्ने विषय भए तत्काल आफू समक्ष ल्याउन आग्रह गरेका मन्त्री लामिछानेले पूर्व तयारीसहित विपद् व्यवस्थापनमा स्थानीय सरकारसँगको पर्याप्त समन्वयमा पनि जोड दिएका छन् ।