गोरखा, मंसिर २२ । गोरखा जिल्ला अदालतको नवनिर्मित भवन निर्माण भएको तीन बर्षपछि उद्घाटन भएको छ । शुक्रवार एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश बिश्वम्भरप्रसाद श्रेष्ठले भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उनले नयाँ भवन बनेसँगै यसबाट प्रवाह हुने सेवा र कार्यसम्पादन थप गुणस्तरीय हुनेमा बिश्वास लिएको बताए । ‘न्याय नपाए गोरखा जानू भन्ने युक्ति स्मरण गर्दै उनले न्यायको इतिहासमा गोरखा अंग्रपक्तिमा रहेको र यस जिल्लाको भवन उद्घाटन गर्न पाउँदा आफू खुशी भएको जानकारी दिए । नवनिर्मित भवनको समय समयमा आवश्यक मर्मतसम्भार समेत गर्नुपर्ने उनको भनाइ छ ।
सर्वोच्च अदालतमा बक्यौता मुद्दाको लगत कम हुदै गएको उनले बताए । दुई बर्ष नाघेका मुद्दाहरु शून्यमा ल्याउने उदेश्यका साथ अदालतहरु लागी परेका बताउँदै उनले गोरखा अदालतले गत आव गरेको कामको मूल्याकंन समेत गरे ।
कार्यक्रममा बोल्दै गोरखा जिल्ला अदालतका जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले तीन रोपनी क्षेत्रफलमा अदालतको नवनिर्मित भवन बनेको बताए । ६ तले उक्त पक्की भवनमा लिफ्ट समेत रहेको उनले जानकारी दिए । उनका अनुसार उक्त भवनमा चार वटा इलजास कक्ष, ४७ वटा कोठा, एक सभाहल र ३४ वटा शौचालय रहेका छन् ।
२०७४ साल मंसिर ६ गतेबाट भवन निर्माण कार्य शुरु भएको थियो । २०७७ साल माघ २३ गते सम्पन्न भएको र माघ २४ गतेबाटै उक्त भवनबाट अदालतले सेवा प्रवाह गरेको हो । उक्त भवनको उद्घाटन भने आज गरिएको छ । १५ करोड ६४ लाखमा निर्माण भएको उक्त भवनको ठेक्का तुलसीभक्त कन्स्ट्रक्सनले पाएको हो ।
उनका अनुसार २०२१ सालमा गोरखा जिल्ला अदालत स्थापना भएको थियो । हाल गोरखा संग्रहालय रहेको भवनबाट अदालतको सेवा शुरु भएको र २०४५ सालमा हाल नवनिर्मित भवन रहेको ठाउँमा यसअघि रहेको पुरानो संरचनाबाट अदालतको कार्यालय संचालन हुदै आएको थियो । नयाँ भवनबाट सेवा प्रवाहमा सहजता भएको उनले जानकारी दिए ।
कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेल, गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, जिल्ला समन्वय समिति प्रमुख, जिल्लाका स्थानीय तहका प्रमुख एवं उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लगायतको उपस्थिती रहेको थियो ।
( अनलाइनखबरबाट )
