मंसिर २२ काठमाडौँ / गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार ललितपुरमा सुरु भएको १७ औँ राष्ट्रिय मानवअधिकार महाभेलाको उद्घाटन गर्दै मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारको ध्यान केन्द्रित भएको बताएका छन्।
गृहमन्त्री अर्यालले अहिलेको सरकारको निर्वाचन गर्ने मुख्य दायित्व भएपनि मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न समेत ध्यान केन्द्रित भएको बताएका हुन्। जेनजी आन्दोलनको अपेक्षा सुशासन र भ्रष्टाचारमुक्त खुला समाज भएकाले हिंसालाई निरुत्साहित गर्दै युवाहरूको आशालाई पुरा गर्ने प्रयास गरिरहेको बताए।
गृहमन्त्री अर्यालले नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन सबैले सहयोग गर्न उनले आग्रह गरे।
गृहमन्त्री अर्यालले मानवअधिकार आयोग लगायतका संवैधानिक आयोगहरूको सिफारिस कार्यान्वयन नभएको विषयमा सरकारले गम्भीर रूपमा लिएर काम गर्ने प्रतिबद्धता जनाए। संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुराएर सबैको मानवअधिकारलाई सुनिश्चित गरी अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उनले बताए।