राजाले दिएको जनताको नासो अब दलहरुले राजालाई फिर्ता गर

रिपोर्ट नेपाल | 2020 Dec 31 | 05:12 pm 8245

  • बसन्त भुजेल 

मैले केही समय अघि आदित्यमान श्रेष्ठको ‘विलिडिङ अफ् माउन्टेन’ भन्ने किताव पढेको थिएँ । अहिले नेपाल ठिक त्यही हालतमा छ । रगत चुहिएर कहिलेसम्म सकिने हो ? यो कुरा मुलुकको जिम्मेवारी लिएर बसेका नेताहरुलाई थाहा छ त ? के नेपाली जनतालाई थाहा छ त ?

बास्तवमा गणतन्त्र स्थापनापछि नेपालको राजनीति कम्पास हराएको पानीजहाज जस्तो भएको छ । बेरिङ फुस्केको चक्कावाला गाडि कहाँ कतिबेला दुर्घटनमा पर्छ पत्तो हुँदैन । यो कुरा हाम्रा नेता तथा राजनीतिक दलहरुलाई थाहा छ ? तर दल तथा तीनका नेताहरुको अवस्था यस्तो पापराजी (फोटो व्यवसायी) जस्तो भएको छ, जसलाई इनारमा हामफाल्न लागेको बालकलाई उद्धार गर्नु भन्दा फोटो खिच्न हतार हुन्छ । यतिबेला दल तथा तिनका नेताहरु डुब्न लागेको आफ्नो मुलुकको उद्धार गर्नु भन्दा सेल्फी खिच्नका लागि क्यामेरा सोझ्याएर बसेका छन् । हामी जनता देश डुबेको समाचारको पर्खाइमा छौं । नेपाल डुब्दै छ भन्ने चिन्ता हामी नेपालीलाई भन्दा छिमेकी मुलुक चीनलाई बढी देखिएको हो कि जस्तो छ । टुक्रा– टुक्रा भएर डुब्न लागेको नेपाललाई उद्धार गर्न सकिन्छ कि, भन्ने प्रयास चीनले गरेको हो या भारतले जस्तै मौकामा चौका हान्दै हस्तक्षेप गर्न खोजेको हो ? भन्ने टिकाटिप्पणी पनि सुरु भएका छन् ।

यता भारतले आफ्नो गुप्तचर संस्था ‘रअ’लाई आफ्ना मिडियामा परिचालन गरेर नेपालमा आगो बाल्ने र बलेको आगोमा अक्सिजन पोख्ने काम गरिरहेको छ । टाइटानिक छिटो डुबोस र डुवेको भिडियो तथा समाचार आफ्ना मिडियामा यसरी प्रवाह गर्ने भनेर भारतीय मिडियाहरु हेडलाइन बनाउन व्यस्त छन् । सायद उनीहरुले यस्तो शीर्षक छानेका होलान्– ‘यसरी डुब्यो नेपाल ।’ कश्मीर र सिक्किम भारतले निलेजस्तै, तिब्बत चीनले निले जस्तै नेपाल निल्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाइएको छ । कांग्रेस फुटाउने खेल जारी छ । सबै काम भारतीय इसारामा भइरहेको छ ।

संसद विघटन गरिएको छ । सडकमा नारा जुलुस सहित मान्छे उतारिएको छ । जुटनु भन्दा फुटेर विलो लिने फोहरी खेलमा दलका नेताहरु लालयित भएर प्रतिस्पर्धामा छन् । देशै नरहे के को लागि राजनीति ? कहाँ राजनीति ? कसका लागि राजनीति ? राजनीतिक पार्टीहरुको तानातान, गुटहरुको युद्धको असर जनतामा पर्छ । जनता दिग्भ्रमित भई विभाजित हुन्छन् । जनताको मत विभाजित हुनु भनेको राष्ट्रियता विभाजित हुनु हो । विभाजनको घाउमा मलम पट्टी लगाउन कोही तयार छैन, बरु घाउ कोट्याउनका लागि विदेशीहरुको आर्थिक लगानी ओहिरिएको छ ।

हाम्रो देशको आन्तरिक झगडामा भारत र चीनलाई सबै भन्दा बढी चासो छ । एउटा छिमेकीको घरमा आगो लाग्दा अन्य छिमेकीहरुले चासो दिनु स्वभाविकै हो । त्यो आगो आफ्नो घरमा नफैलियोस भन्ने सबैको चासो हुन्छ । तर हामी नेपालीहरुले हाम्रो आफ्नै घरमा आगो लागेको थाहा पाएका छैनौ । मस्त निन्द्रामा छौं, कुम्भ कर्ण जस्तै । उता पर्यावरणमा आएको ह्रास सँगै सिंगो विश्वले नयाँ नयाँ महामारीसँग जुधेको छ । नेपाल अछुतो रहने कुरै भएन । कोरोना भाइरसले पनि आफ्नो स्वरुप परिवर्तन गर्दै अझ शक्तिशाली बनेको समाचार आएको छ । हामीसँग आफ्नो उत्पादन छैन । बैदेशिक रोजगारीमा भर परेका छौं, तर विश्वव्यापी महामारीले बैदेशिक रोजगारी पनि संकटमा पारेको छ । बैदेशिक रोजगारीमा भर पर्ने हाम्रो जस्तो मुलुक अन्तर्राष्ट्रिय उडान रोक्ने अवस्थामा पुगेको छ । देशलाई जोगाउनु पर्छ भन्ने चेतना नेपाली जनतामा नओस् भन्ने भारतीय डिजाइनलाई दलका नेताहरुले साथ दिइरहेका छन् । देश भन्दा पार्टी ठूलो, पार्टी भन्दा गुट ठूलो, गुट भन्दा नेताको परिवार ठूलो भन्ने मानिसकता जनतामा भरिएको छ । नेताहरु त विक्रि भए भए, जनताको घैंटोमा घाम कहिले लाग्ला ? धमिलो पानीमा माछा मार्न सजिलो हुन्छ भन्ने हेक्का जनताले राख्नु पर्छ ।

संसद विघटन गलत थियो भन्नुको अर्थ ओली सरकारले नै निरन्तरता पाउनु पथ्र्यो भन्ने होइन । प्रचण्डको तुलनामा ओली केही राम्रा हुन् । तर उनले समेत मुलुक डुबाए । अब ओलीको बिकल्पमा प्रचण्ड आउनु भनेको मुलुक झन बरबादीको दिशामा जानु हो । जनताले कम्युनिष्टहरुको शासनबाट मात्रै मुक्ति चाहेका होइनन्, गणतन्त्ररुपी बेथितिबाट मुक्ति चाहेका हुन् ।

यो त नयाँ आविष्कारको बेला हो, समय खेर फाल्ने बेला होइन । अरु मुलुकहरुले ड्राइभर विना नै सडकमा गाडी गुडाइसके तर हामीले गाडी गुड्ने सडक समेत बनाउन सकेका छैनौं । भाषणमा त पुर्व पश्चिम, उत्तर दक्षिण रेल गुडिसक्यो, पानी जहाज चलिसक्यो, घरघरमा ग्याँस पाइप जोडिइसक्यो । तर यर्थाथमा भन्ने हो भने मेलम्ची खानेपानी आयोजनाको काम तीन वर्ष अघि नै ९८ प्रतिशत सकिइसकेको थियो, तर अहिलेसम्म पानी आउन सकेको छैन । उखान र आश्वासनको भरमा कतिन्जेल जनताले धैंर्य गर्ने ? अब पुग्यो । कमसेकम झुठको खेती बन्द गरे हुन्थ्यो । अब त नेताहरुले सत्य कुरा गर्दा पनि जनताले विश्वास नगर्ने अवस्था आइसक्यो ।

बस र ट्रक चल्ने सडक समेत बनाउन नसक्नेले रेलको धाक लगाउने ? समुन्द्र नै नभएको देशमा पानी जहाजको धाक लगाउने ? अझ पानी जहाजको टिकट किन्न आओ भन्दै संसदमै विपक्षीलाई ललकार्ने ? नेपाल बायुसेवा निगम संचालन हुँदै गर्दा थाइ एयरलाइन्स र सिंगापुर एयरलाइन्स भरखर संचालनमा आएका थिए । आज नेपाल बायुसेवा निगमको हालत के छ ? थाइ एयरलाइन्स र सिंगापुर एयरलाइन्स कहाँबाट कहाँ पुगिसके ? तर हाम्रा नेताहरुलाई कत्ति पनि लाज छैन । बयल गाडाकै युगमा हामी छौं । बयल गाडामा चडेर विश्व घुम्न त परै जाओस नेपालको एक कुनाबाट अर्को कुनामा पुग्न समेत सकिँदैन । चिल्लो र फराकिलो बाटोमा दुई तले बस गुडाउनु पर्छ । अनि मात्रै गन्तव्यमा पुगिन्छ ।

बहुदलीय शासन व्यवस्था विश्वको समुन्नत प्रजातन्त्र हो भन्ने कुरामा यस पंक्तिकारको आपत्ति होइन । तर नेपालको भौगोलिक अवस्थिति कस्तो छ ? सामाजिक संरचना कस्तो छ ? बुहुदलीय गणतन्त्र सुहउँदो छ कि छैन ? भन्ने हेक्का राख्नु पर्छ । पहिलो कुरा त नेपाल विश्वका धेरै ठूला देश भारत र चीनको बीचमा छ । यी दुवै मुलुक महाशक्ति बन्ने होडमा रहेको अमेरिकालाई चित्त बुझेको छैन । त्यसैले अमेरिका कुनै पनि हालतमा नेपालमा आफ्नो जरा गाड्न चाहन्छ । दोस्रो कुरा नेपाल भूगोलमा मात्रै होइन जनसंख्या र अर्थतन्त्रमा पनि सानो छ । यस्तो देशमा विदेशीको चाहना अनुसार दलहरुको निर्माण हुन्छ । दलका नेताहरु विदेशीका कठपुतली बन्ने सम्भावना रहन्छ । नेपालमा अहिले यही भइरहेको छ । त्यसैले नेपाल जस्तो मुलुकका लागि राजतन्त्र नै सर्वोत्तम विकल्प हो । केही अपवाद बाहेक नेपालको राजतन्त्रले अर्घेल्याँइ गरेको छैन । जनताको भावना कदर गरिआएकै छ । आफ्नो श्रीपेच भनेको जनताको नासो हो भन्ने कुरामा हाम्रो राजसंस्था प्रतिवद्ध छ । जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणाका साथ राजा ज्ञानेन्द्रले गद्धी त्याग गरेका थिए । त्यो नासो जनताले राजनीतिक दलहरुलाई सुम्पे । तर दलका नेताहरुले त्यो नासोलाई सम्हाल्न सकेनन् , उल्टै दुरुपयोग गरे । मुलुक नै डुब्न लाग्यो । मुलुक जोगाउनकै लागि अब त्यो नासो फेरी राजाले नै फिर्ता लिनु पर्छ । दलहरुले फिर्ता दिन तयार भएनन् भने जनताले हस्तक्षेप गर्नु पर्छ । दलहरुबाट खोसेरै राजालाई दिनु पर्छ । नेपालको इतिहासमा यस्ता घटना धेरै पटक दोहोरिएका छन् । देशको मायाँ राजालाई जति हुन्छ त्यति अरु कसैलाई पनि हुँदैन । नेताहरुलाई त देश नरहँदा पनि केही फरक नपर्ला तर राजाका लागि भने कुनै हालतमा देश रहनै पर्छ । राजाका लागि आफ्नो ज्यान भन्दा देश महत्वपूर्ण हुन्छ । त्यसैले अब फेरी रगतको खोलो बगाउने दिन पर्खनु भन्दा राजालाई गुहार्नु वुद्धिमानी हुनेछ ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.