असोज २७ काठमाडौँ / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजा युद्ध’ अन्त्य भएको घोषणा गरेका छन्। उनले युद्ध अन्त भएको घोषणा गर्दै बन्धकहरु रिहाइ हुन लाग्दा उनी इजरायल तर्फ प्रस्थान गरेका छन्। उनले ‘एयरफोर्स वान’ मा प्रवेश गर्नु अघि भने ‘अब युद्धविराम निरन्तर हुने छ। गाजामा चाँडै ‘शान्ति बोर्ड’ स्थापना गरिने छ।’
हमासले इजरायली बन्धकहरूलाई रिहा गर्न स्थानीय समयअनुसार सोमबार दिउँसो १२ बजेसम्मको समय सीमा छ। इजरायल आइपुगेपछि राष्ट्रपति ट्रम्पले इजिप्टको यात्रा गर्नेछन्, जहाँ उनले विभिन्न देशका नेताहरूसँग गाजाको अवस्थाबारे छलफल गर्नेछन्।
यस बैठकबारे ट्रम्पले भने, ‘हामी सबैलाई खुसी राख्नेछौँ चाहे तिनीहरू यहुदी, मुस्लिम, वा अरब देश हुन् इजरायलपछि हामी इजिप्ट जाँदै छौँ। त्यहाँ हामी धेरै शक्तिशाली, ठूला र धनी देशहरूका नेताहरूसँग भेट्नेछौँ।’
बेलायतका प्रधानमन्त्री कियर स्टारमर पनि इजिप्ट पुगेका छन्। उनी पनि बैठकमा भाग लिनेछन्। गाजाका बन्धक रिहा गर्ने विषय नेपालका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। किनभने नेपाली नागरिक विपिन जोशी पनि २ वर्षदेखि हमासको बन्धनमा छन्।
उनको वर्तमान अवस्थाबारे भने दुईथरी कुरा आइरहेका छन्। कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनको अवस्था अज्ञात भनेका छन् भने कतिले उनलाई जीवित बन्धकको सूचीमा राखेका छन्।