वरिष्ठ तान्त्रिक बिहङ्गमराज तिमिल्सिनाको नाम सुन्नेहरुको संख्या देशमा निकै ठूलो भइसकेको छ। उनी ज्योतिष तान्त्रिक मूल पण्डितका रुपमा नेपाली सेनामा समेत कार्यरत थिए। नेपाली कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टरार्इ निकट तिमिल्सिनालार्इ भट्टरार्इले निकै सम्मान गर्दथे। बनारसबाट ज्योतिषशास्त्र र तन्त्रशास्त्रमा उच्च शिक्षा हासिल गरेका पण्डित तिमिल्सिनाको मोहनचन्द्र अधिकारी, रामचन्द्र पौडेल र शेरबहादुर देउवालगायतका नेतासँग राम्रो सम्बन्ध छ। ०२६ साल साउनमा जन्मिएका पण्डित तिमिल्सिनाले तन्त्र साधनामार्फत भविष्यवाणी गर्ने र आधुनिक चिकित्सा क्षेत्रलार्इ समेत चुनौती दिने गरेका छन्। नेपालकै विभिन्न अस्पतालमा विज्ञ चिकित्सकका रुपमा कार्यरत चिकित्सकले समेत उनीबाट उपचार गराउने गरेका छन्। तिनै तिमिल्सिनासँग रिपोर्ट नेपालका लागि कार्यकारी सम्पादक महेन्द्र पाण्डेय र निर्देशक कृष्ण सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :
तन्त्र, मन्त्र र यन्त्रमा के फरक छ ?
अहिलेको विश्व जनमानसले जान्नपर्ने कुरा नै यही हो। जसरी एउटा कलाका दुर्इवटा पाटा हुन्छन्, त्यसरी नै चिकित्साशास्त्र र तन्त्रशास्त्रविना मानव जीवन अपाङ्ग हुन्छ। तन्त्र भनेको तनमा भएका नकारात्मक कुराहरुलार्इ हटाउने हो। अहिले मानिसहरुले तन्त्रको विषयमा बुझेकै छैनन्। तन्त्र भनेको कालो कुखुरो वा बोका काट्ने अनि ढ्याङ्ग्रो ठटाएर उफ्रीने बुझेका छन्। त्यो तन्त्र नै होइन्। म्यक्सवेल सोभनायर, सर आइज्याक न्यूटन, अल्बर्ट आइन्सटाइन यिनिहरुले समेत साधना गर्दथे। पछिल्लो समय पृथ्वी नारायण शाहलेसमेत देविको साधना गर्दथे। यो बिल्कुल एलोपेथिक हो। यसले तनमा भएको बिकार कुराहरुलार्इ हटाइदिन्छ। यसले जस्तोसुकै पिडा भएको व्यक्तिलार्इ समेत मुक्ति दिलाउँछ।
मन्त्रले भगवानलार्इ पुकार गराउँछ। मन्त्रको सही उच्चारण गरिएको छ भने भगवानको गद्दीसमेत हल्लाइदिन्छ। वैदिक कालमा रावणले एउटा खुट्टामा मात्र उभिएर भगवान शिव पार्वतीको आरधना गरेपछि रावणलार्इ कुनै पनि देवीदेवताले मार्न नसक्ने वरदान पाएका थिए। यसकारण सही रुपमा मन्त्रको उच्चारण र पुकारा गर्ने हो भने भगवानको वरदान पाउँछ।
यन्त्र भनेको लगाउने चिज हो। कुनै पनि चिजले मांसपेशीमा ट्रचर तथा स्पर्श होस् भन्नका लागि त्यसको राशी, ग्रह, होरा, लग्न, नक्षत्र आदी जगाएर विशेष रुपमा हेराएर केही दोष भए निवारण गरिन्छ। जस्तो तपार्इँलार्इ काउलीको तरकारी मनपर्छ भने गुन्द्रुकको दिँदा तपार्इँ खानुहुन्न । मानिसको शरिरमा कुन कुराको कमी छ वा कुन समस्या छ । जस्तो राता रक्तकोषमा केही समस्या वा सेता रक्तकोषको कमी छ भने कुन ग्रहको किरणले उक्त कुरा ठिक पार्न सकिन्छ। कोही व्यक्तिलार्इ रातो लुगा राम्रो मानिन्छ र उसले कालो लगायो भने त्यसले उसको दिमागमा पनि कालो छायाँ बनाइदिन्छ।
त्रेता युगमा तन्त्रबाट चलाइयो, द्वापर युगमा मन्त्रबाट चलाइयो र कलियुगमा यन्त्रबाट चल्छ भनिन्छ, यन्त्रको युगमा तन्त्र र मन्त्रबाट चल्न सक्छ?
कलियुगमा तन्त्र, मन्त्र र यन्त्र तीनवटै चिजको प्रयोग गर्नुपर्छ। यी तीनवटै चिजबाट नै कलियुगमा मानिस गतिवान हुन सक्छ। तन्त्रले तनमा भएका बिकारलार्इ हटाउन मद्दत गर्छ, मन्त्रले भगवानको आर्शिवाद पाउन सहयोग गर्छ भने यन्त्रले मानसलार्इ चलायमान बनाउँछ। यन्त्रबिना हामी कहीँ पनि जान सक्दैनौं। यन्त्रले गर्ने काम तन्त्र र मन्त्रले गर्न सक्दैनन् भने तन्त्र र मन्त्रले गर्नसक्ने काम यन्त्रले गर्न सक्दैन। त्यसकारण यी तीनवटै चिजको उत्तिकै महत्व छ।
तान्त्रिक शक्तिले अहिलेको समस्या समाधान गर्न सक्छ ?
तन्त्र भनेको धेरै ठूलो विज्ञान हो। यसका विषयमा मानिसले बुझेकै छैनन्। तन्त्रद्वारा त्रेता युगमा पानीमा ढुंगा तैराइन्थ्यो। तन्त्रद्वारा मानव शरिरको स्तुल शरिर छोडेर सुक्ष्म शरिरले हिड्न सकिन्थ्यो। तन्त्रद्वारा तनमा भएका नकारात्मक कुराहरुलार्इ हटाएर अकल्पनीय कामहरु गर्न सकिन्छ। तन्त्रले कुनै मानिसको टाउको ९/१० महिनादेखि दुखिरहेको छ तर चिकित्साशास्त्रका कुनै पनि प्रविधिले त्यो पत्ता लगाउन र ठिक पार्न सकेन। तर, तन्त्रले त्यसको टाउकोमा भएको नकारात्मक कुराहरुलार्इ नियन्त्रणमा लिएर निको पार्न सक्छ।
केही पण्डितहरुले तन्त्रको शक्ति क्षय भइरहेको छ भन्छन् नी ?
त्यो उनीहरुले नबुझेर हो। केही तान्त्रिकहरुले परामात्माका सन्तानहरुलार्इ बली दिन लगाएर मन्दिरमा रगत चढाउन लगाएका छन्। कुनै पनि परमात्माले मेरा सन्तानलार्इ काटमार गरेर बलि दे म खुशी हुन्छु भन्दैन। तन्त्रको महत्व थाहा नपाएका मानिसहरुले त्यसो भनेका हुन्। यसका माध्यमबाट मानिसको व्यवहार, उसको दृष्टिकोण र आगामी कृयाकलापको फलाधेस समेत गर्न सकिन्छ। तन्त्रका ज्ञाता धनशमशेरकी पत्नीले ओदानमा खुट्टा राखेर चिया पकाउँदा बेलायतीहरु अचम्ममा परेका थिए। त्यसकारण तन्त्रको शक्ति कहिल्यै क्षय हुन सक्दैन।
नेपालमा यसरी तन्त्र विद्या भएका कति जति हुनुहुन्छ ?
ठ्याक्कै कति छन् भनेर संख्या त भन्न सक्दिन । पहिले धनशमशेर हुनुहुन्थ्यो, नरहरी नाथ हुनुहुन्थ्यो, त्यसपछि अहिले एक जना म नै भइहाँले। मैले कतिपय चिकित्सकहरुकै रोग निवारण गरेको छु। धेरै चिकित्सकको स्वास्थ्य समस्या तन्त्रका माध्यमबाट निको पारेको छु । उहाँहरु पनि तान्त्रिक विद्यादेखि विश्वस्त हुनुहुन्छ। कसलार्इ के समस्या छ भनेर उहाँहरुको अनुहारबाट थाहा पाउन सक्छु। पौराणिक उपनिषद्, वेद, पुराणहरुका मन्त्रहरुको माध्यमबाट उहाँहरुको रोग पत्ता लगाएर निवारण गर्न सकिन्छ।
तन्त्र विद्याको दृष्टिबाट नेपालको राजनीति अहिले कस्तो अवस्थामा रहेको देख्नुहुन्छ ?
नेपाली राजनीति अहिले मध्यान्तरमा छ। नेपाली कांग्रेसको अदूरदर्शी रणनीति, पार्टीको निर्णयहरुमा विवाद, एकताबद्ध हुन नसक्नु, धर्मभावको विचार नहुनुलगायतका कारणले कांग्रेस कमजोर भएको छ। अन्य दलहरु अहिले जुन एकताबद्ध भएका छन्, उनीहरुको स्वार्थका कारण अहिले राजनीति अस्थिर छ। यदी सबै दलका नेताहरु मिलेर तन्त्र र मन्त्रलार्इ शुद्ध मनले मन्थन गरेर एकताबद्ध भइ अघि बढ्ने हो भने नेपालको भविष्य सुन्दर छ। यी नेताबाटै नेपालको प्रगती सम्भव छ। त्यसका लागि यी नेतामा भएको नकारात्मक सोंच हटाएर पोजेटिभ इनर्जी भर्न सक्नुपर्छ। नेपालमा सबै दलका नेताहरु र विद्रोही शक्तिहरु एक मुठ्ठीमा भएर घोडाको टाँप जसरी, एक मुठी पशुपतिको माटो लिएर नेपालको उन्नतीको जप गर्ने हो भने न त यसलार्इ चीनले केही गर्न सक्छ न त भारतको केही जोडबल लाग्छ। नेपालको भविष्य सुन्दर छ।
उहाँलार्इ सम्पर्कका लागि ९८४१३१४१२० मा पनि सम्पर्क गर्न सकिन्छ।
उनीसँग उपचार गराउने चिकित्सक को-को हुन् ? (भिडियो)