- वसन्त भुजेल
अमेरिकी राष्ट्रपति जो वाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कुम जोडेर जी –सेभेन सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनको उद्घाटनका क्रममा उनीहरुले अबको दुई वर्षमा कोरोना भाइरस उन्मुलन गर्ने घोषणा गरे । यसैगरी बेलायती प्रधानमन्त्री जोन्सनले अब बैकल्पिक उर्जाका रुपमा सौर्य उर्जालाई प्रवर्धन गरी विश्वलाई हरित मैत्री बनाउने प्रतिवद्धता प्रकट गरेका छन् । हरित मैत्री अभियानमा संयुक्त राष्ट्र संघ र विश्व बैकले पनि लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । चीन, भारत जस्ता धेरै जनसंख्या भएका र ठूला उद्योगबाट धेरै प्रदुषण गर्ने, धेरै कार्वन उत्पादन गर्ने देशहरु समेत अब हरित मैत्री अभियानमा जान वाध्य हुनेछन् । बेलायत विद्युतीय गाडी प्रयोगमा ल्याएर हरित अभियानलाई प्रोत्साहन दिने विश्वको पहिलो देश हुँदैछ । विश्वका सबै देशहरुलाई पेट्रोलियम उर्जाको विकल्पमा विद्युतीय उर्जामा जानका लागि संयुक्त राष्ट्र संघ र विश्वबैंकले अब प्रोत्साहन गर्नेछन् । अबको केही वर्षमै पेट्रोलियमबाट चल्ने गाडी विस्थापित भई त्यसको ठाउँ विद्युतीय गाडीहरुले लिनेछन् । अब नयाँ उत्पादन हुने सबै गाडीहरु विद्युतीय हुनेछन् ।
वातावरण जोगाउनका लागि गरिएको यो कार्य निकै प्रसंसनीय छ । वातावरण प्रदुषणका कारण विश्वमा मरुभूमिकरणको खतरा बढेर गएको छ कतै अनावृष्टि र कतै अतिवृष्टिको जोखिम बढेको छ । इकोसिष्टममा प्रतिकुल असर परेको छ । तापक्रमको वृद्धि भएका कारण खोला तथा नदी सुक्न थालेका छन् । हिमालमा हिउँ देखिन छाडेको छ । समुन्द्रको सतह माथि उठेका कारण आसपासका होचा जमिनहरु पानी मुनी पुग्न थालेका छन् ।
दुई सय वर्ष अघि नै भौतिक पुर्वाधार निर्माणको काम सम्पन्न गरी सकिसकेका बेलायत र अमेरिकाको यो प्रतिवद्धता चीन र भारत जस्ता मुलुकका लागि थप चुनौति भएको छ । चीन आफैमा सक्षम र उच्च प्रविधि अंगाल्न सक्ने मुलुक हो । तर दक्षिण एशिया खास गरी सार्कमा आवद्ध मुलुकहरुमा भौतिक पुर्वाधार निर्माणको काम निकै धेरै बाँकी छ । भौतिक पूर्वाधार निर्माणका लागि प्राकृतिक स्रोत साधनको विकल्प दक्षिण एशियाली मुलुकहरुमा अझै छैन । विश्वकै करिव २० प्रतिशत जनसंख्या ओगटेको भारत यतिबेला विकासका पूर्वाधार निर्माणको तिब्र चरणमा छ । अब भारतले निकै ठूलो परिणाममा प्राकृतिक स्रोतको दोहन गरेर निर्माण समाग्री उत्पादन तथा प्रयोग गर्नेछ । यसका लागि भारतले नेपालका पहाडमा आँखा लगाएको छ । पैसाको लोभमा नेपालका नीति निर्माताहरु फँसेका छन् ।
यसै पनि खोला तथा नदीहरुमा पानीको मात्रा घटेको छ, ढुंगा, गिटी, वालुवा उत्खनन गरिएका कारण खोला तथा नदीहरुमा जलचर समाप्त भएका छन् । भएका जलचर पनि करेन्ट लगाएर मार्न थालिएको छ । पहाडको फेद खोतिलिएका कारण माथिबाट पहिरो जानु स्वभाविक भएको छ । वर्षेनी हजारौ नेपालीहरुको ज्यान बाढी तथा पहिरोका कारण जाने गरेको छ । वास्तवमा ज्यान जाने हिसावले भन्ने हो भने नेपालका लागि कोरोना भन्दा बाढी पहिरोको जोखिम बढी छ । सडक निर्माणका नाममा ४० डिग्री भन्दा भिराला तथा कमजोर पहाडहरु विना भौगर्भिक अध्ययन डोजर लगाएर खोतलिएको छ । ४० डिग्री भन्दा भिराला पहाड विना भौगोलिक अध्ययन बिना डोजर लगाएर खोतल्नु भनेको रुखमा चढेर फेद काट्नु जस्तै हो । पहिरोको जोखिम अवश्यभावी हुन्छ । पहाडमा सडक निर्माण गर्नै हुन्न भन्ने होइन । सडक निर्माण विना भौतिक विकास संभव छैन । तर सडक निर्माणका लागि मापदण्ड बनाउनु पर्छ । ४० डिग्री भन्दा बडी भिराला पहाडमा सडक निर्माण गर्नै मिल्दैन, गर्नै परे जमिन कत्तिको बलियो छ भनेर भौगर्भिक अध्यायन गर्नु पर्छ । डोजरको सट्टा मानवीय श्रम शक्ति प्रयोग गर्नु पर्छ । जमिन कम खोतल्ने र तलबाट ग्याभिन वाल लगाउनु पर्छ ।
उदाहरणका लागि गुल्मीको रिडी–तम्घास सडक जनशक्ति प्रयोग गरी सकेसम्म पहाडको माथिल्लो सतहमा निर्माण गरिएका कारण पहिरोको जोखिम त्यति देखिँदैन । विश्व खाद्य संगठनको सहयोगमा जनशक्तिद्धारा निर्माण गरिएको वाग्लुङ–वुर्तीवाङ सडकमा पनि पहिरोको जोखिम काम छ । त्यो सडक निर्माण गर्दा डोजर र बम प्रयोग गर्न दिइएको थिएन । डोजरको सट्टा जनशक्ति प्रयोग गर्ने हो भने रोजगारीको पनि वृद्धि हुन्छ । हुँदा हुँदा कृषिमा पनि जनशक्ति घटाउँदै आधुनिक उपकरण प्रयोग गर्न थालिएको छ । पहाडका भिराला जमिनहरुमा समेत गोरुको सट्टा हाते ट्याक्टर प्रयोग गर्न थालिएको छ । गाई गोरु लोप हुँदै छन् । गाई गोरु पाल्न छाडिनु भनेको रासायनिक मलको प्रयोग बढ्नु हो । पशुजन्यमल प्रयोग गर्न छाड्ना साथ रोग किराको प्रकोप बढ्छ । रोग किरा नियन्त्रणका लागि विषदी प्रयोग समेत बढ्छ । रासायनिक मल तथा विषादी प्रयोग गरिएको कृषि उपज उपभोग गर्दा शरीरमा नानाथरी रोग लाग्छ । हामीले विगतमा नामै नसुनेका रोगहरु यतिबेला हाम्रै गाउँघरमा देखा पर्नुको कारण परम्परागत कृषि पद्धति लोप हुँदै जानु हो ।
हिँजो प्रसस्त भैँसी पािलन्थ्यो । राँगालाई सुरुमा जोत्नका लागि र पछि मासुका लागि प्रयोग गरिन्थ्यो । भैंसी व्याउन छाडेपछि मासुका रुपमा प्रयोग हुन्थ्यो । त्यसको छालाबाट विभिन्न उपभोग्य सामाग्री निर्माण गरिन्थ्यो । जो स्वास्थ्यकर हुन्थे । तर आज भैंसी पाल्न छाडिएको छ । मासुका लागि बोइलर कुखुरा भित्रिएको छ । बोइलर कुखराका कारण विगतको तुलनामा मासुको मुल्य सस्तिएको छ । चाडबाडमा मात्रै मासु खाने अवसर पाउने अवस्थाको अन्त्य भएको छ । तर एण्टि बायोटिक लगायत अनेक रसायन प्रयोग गरेर ३० दिनमै मासुका लागि तयार गरिने बोइलर कुखुरा स्वास्थ्यका लागि धेरै प्रतिकुल देखिएको छ । बोइलरका कारण स्थानीय कुखुरा लोप हुने अवस्था सिर्जना भएको छ । त्यसैले स्थानीय जातका कुखुरा पालनलाई प्रोत्साहन गर्ने नीति ल्याउनु पर्छ ।
बेलायतमा फ्रिरेन्ज नामक स्थानीय जातका कुखुरा पाल्ने चलन छ । ठूला ठूला खाली जग्गामा अग्र्यानिक खानेकुरा दिएर ती कुखुरा पालिन्छ । घाँसमा पनि चराइन्छ । यस्ता कुखराको मासु मीठो मात्रै होइन पौष्टिक पनि हुन्छ । यस्ता कुखराको अण्डा र मासु उच्च मुल्यमा विक्रि हुन्छ ।
नेपालको चुरे क्षेत्रमा धेरै जग्गा खाली छ । वर्षा सिजनको चार महीना बाहेक तराईका खोला तथा नदी किनारमा निकै ठूलो जमिन खाली हुन्छ । यी खाली जग्गामा चरुवा बँदेल पालेमा धेरै आम्दानी लिन सकिन्छ । बँदेल झारपात खाएरै बढ्छ, अन्नको चारा खासै धेरै चाहिँदैन । प्रजनन् पनि छिटो छिटो हुन्छ । बँदेल, गाइ र बाख्रा सँगै चर्ने जात हो । आर्थिक रुपमा हेर्ने हो भने अहिले बँदेलको मासु प्रतिकिलो १५ सय रुपैंयामा विक्रि भइरहेको छ । बंदेलको मासु विदेश निर्यात गर्ने सम्भावना धेरै छ । चीनबाट उच्च माग भइरहेको छ ।
हाइव्रिड जातका पशुपंक्षी पालेमा धेरै आर्थिक फाइदा हुन्छ । ढुंगा माटो बेच्नु भन्दा उक्त ठाउँलाई व्यवसायिक रुपमा प्रयोग गरेर ठूलो आम्दानी लिन सकिन्छ, वातावरण पनि बचाउन सकिन्छ । नेपाललाई पुग्ने मात्रै कृषि उपज उत्पादन गर्ने हो भने पनि वार्षिक ३ खर्ब रुपैया विदेश जानबाट बच्छ । व्यापार घाटा यसै पनि न्युनिकरण हुन्छ ।
छिमेकी मुलुक चीनले एक सिजनमा प्रति हेक्टर २० मेट्रिटन फल्ने धानको विकास गरेको छ । जुन धान वर्षमा तीनबाली लाग्छ । यस हिसावले एक हेक्टरबाट चीनले वर्षको ६० मेट्रिकटन धान उत्पादन गर्छ । तर हामीले एक हेक्टरबाट वर्षको मुस्किलले ३ मेट्रिकटन धान उत्पादन गर्दै आएका छौं । चीनको त्यो विउ र प्रविधि भित्र्याउने हो भने भित्री मधेसका चार वटा जिल्लाको धान उत्पादनले नेपाललाई वर्षभरी खान पुग्छ । नेपालका स्थानीय जातका धानबाट उत्पादित चामलको माग विश्वमा धेरै छ । जसको मुल्य निकै उच्च छ । नेपालमा ३ हजार मिटर उचाइमा समेत धान फल्छ, तर विश्वका अन्य मुलुकमा यति उचाइमा धान फल्दैन ।
विश्व वजारमा नेपालको अग्र्यानिक चिया, कफी, अलैची, अदुवा लगायतको ठूलो माग छ । नेपालको अग्र्यानिक चिनि तथा सख्खरको पनि त्यति नै माग छ । तर किसान आफ्नो उपजको मुल्य नपाएर पलायन भएका छन् ।
प्राकृतिक सौन्दर्य हेर्न चाहने पर्यटकका लागि नेपाल विश्वकै नम्बर एक गन्तव्य हो । प्राकृतिक सन्दर्य मात्रै होइन हिमाल आरोहण, बन्यजन्तु अवलोकन, ट्रेकिङ, धार्मिक तथा पुरातात्विक धरोहर लगायतमा पनि नेपाल विश्वको नम्वर एक मै पर्छ । आरोहीहरुका लागि सगरमाथा, पदयात्रीहरुका लागि अन्नपुर्ण क्षेत्र, सौन्दर्य पारखीहरुका लागि पोखरा र रारा, वन्यजन्तु प्रेमीहरुका लागि चितवन, धर्मप्रति आस्थाबानहरुका लागि लुम्विनी, पशुपतिनाथ, प्राचिन कलाप्रेमीका लागि काठमाडौं उपत्याका लगायतका गन्तव्यहरु विश्वमै नम्वर एकमा पर्छन् । तिब्बतमा पर्ने मानसरोवर समेत नेपालको सीमाबाट नजीक छ । भारतीय पर्यटकहरु नेपालको बाटो भएरै मानसरोवार जन्छन् । नेपालबाटै सडक निर्माण गर्ने र सीमा क्षेत्रमा सुविधा सम्पन्न होटलहरु स्थापना गर्ने हो भने मनाङ, सोलुखुम्वु र मुस्ताङका जनता जस्तै हुम्लाका जनता पनि आर्थिक रुपले सम्पन्न हुन्छन् । यी क्षेत्रहरुको समुचित प्रचार प्रसार तथा प्रर्वधन गर्ने हो भने नेपालका हरेक घरमा होम स्टे संचालन गर्न सकिन्छ । पर्यटनबाट हुने आम्दानीले नै नेपालको व्यापार घाटा समाप्त हुने मात्रै होइन त्यो आम्दानीले १० वर्ष भित्रै भौतिक विकासका सम्पूर्ण पुर्वाधार निर्माण सम्पन्न गर्न सकिन्छ ।