देशका मुख्य सहरी क्षेत्रमा राणा र मुक्तिसेनाबीच भीषण युद्ध जारी रहँदा दिल्ली मेन्डिज होटललाई मुख्यालय बनाएर कांग्रेसका शीर्ष नेताहरुले क्रान्ति सञ्चालन गरिरहेका थिए ।
कांग्रेसले त्यति ठूलो तयारीका साथ हमला एकसाथ गर्न सक्छ भन्ने अनुमान राणाहरुले गरेका थिएनन् । त्यसैले शसस्त्र क्रान्ति निस्तेज पार्न सरकारका तर्फबाट पर्याप्त तयारीसमेत भएका थिएन । सुरुका केही दिनको आक्रमणबाट सरकार हतास बनिसकेको थियो । नेपालमा जारी क्रान्तिसँग सम्बन्धित समाचारले भारतीय सञ्चारमाध्यममा उच्च प्राथमिकता पाएका थिए ।
राजा त्रिभुवनका निजी सचिव दयारामभक्त माथेमा लेख्छन्, राणाफैजले ठाउँठाउँमा हार खाँदै गएका खबरहरु पत्रपत्रिकामा आउन थाले । पाल्पाका बडाहाकिम भूतपूर्व कमाण्डर इनचिफ रुद्र शमशेर र उहाँको परिवार पनि नेपाली कांग्रेससँग मिली राणा सरकारविरुद्धको आन्दोलनमा सामेल हुनुभएको खबर छापियो ।
नेपालगञ्ग, विराटनगर र जनकपुरका बडाहाकिमले पनि हार खाइसकेका थिए । मुक्तिसेना विभिन्न स्थान कब्जा गर्दै धमाधम अगाडि बढिरहेको थियो । राणाविरुद्ध चौतर्फी आवाज उठिरहेका बेला प्रधानमन्त्रीकै हैसियतमा भारत भ्रमणमा गएकै अवस्थामा राजीनामा गरेका पध्म शमशेरले समेत सरकारको विरोधमा वक्तव्य दिए ।
त्यसबाट राणा सरकार झनै अप्ठ्यारोमा परेको थियो । भारतको सहयोगमा प्रायोजित रुपमा राणाविरोधी अभियान चलाइएको हो भन्ने बुझाई राणाहरुको थियो । त्यसैले श्री ३ मोहन शमशेरले बेलायत सरकारलाई पत्रचार गरी भनेका थिए, नेपाली जनताले प्रजातन्त्र चाहेको होइन, यो सिर्फ भारतको चाल मात्र हो ।
विगतमा राणाहरुले लगाएका गुणका आधारमा बेलायत सरकारले नेपालको वस्तुस्थिति बुझ्न इस्टर डेनिङलाई विषेश दूतका रुपमा काठमाडौं पठाउने निर्णय गर्यो । प्रधानमन्त्रीका छोरा विजय शमशेर भन्ने गर्थे, भारतीय प्रेसमा कांग्रेसी बन्दुकभन्दा बढी आवाज निस्कन्छ ।
२००७ सालको मध्य मंसिरमा बेलायती विशेषदूत विशेष निगमबाट अवतरण गर्ने बेला काठमाडौंमा ठूलो प्रदर्शन भयो । राणाहरु जताततैबाट चेपुवामा पर्दै गए । बीपीको विद्रोह जगत नेपालद्वारा लिखित