काठमाडौं, फागुन १३ः मिस ग्ल्याम वल्र्ड २०२२ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ । गत बुधबार विशालबजार स्थित बेन्टो लाउन्ज एण्ड बारमा फेशन ईराद्वारा आयोजित पत्रकार सम्मेलन मार्फत् नेपालको प्रतिनिधित्व गर्दै २१ वर्षीया मोडल इरिना श्रेष्ठले प्रतिष्पर्धा गर्ने जानकारी दिईएको हो ।
सोही कार्यक्रममा श्रेष्ठलाई आमा ईन्दिरा श्रेष्ठ र बुवा जयन्द्र श्रेष्ठले ताज पहिराई दिएका थिए । विश्वका सय भन्दा बढी राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगिताका लागि श्रेष्ठ योग्य एवं सक्षम भएको आयोजकको दाबी छ ।
हाल स्नातक तहमा अध्ययनरत तथा विगत केहि वर्षदेखि मोडलिङ गर्दै आएकी श्रेष्ठले थुप्रै चर्चित फेशन सोहरुमा सहभागिता जनाईसकेकी छिन् भने विभिन्न ब्राण्डका लागि काम पनि गरिसकेकी छिन् । मिडियामा समेत काम गरिसकेकी श्रेष्ठ यस मिस ग्ल्याम वल्र्ड २०२२ लाई लिएर निकै उत्साहित छिन् । मिस ग्ल्याम वल्र्ड २०२२ को ताज नेपाल भित्र्याउन सक्दो प्रयास गर्ने बाचा गरिन् ।
मिस ग्ल्याम वल्र्ड २०२२ एक अन्र्तराष्ट्रिय प्रतियोगिता मात्र नभै नेपाललाई विश्वमा चिनाउने एक अवसर भएको आयोजक फेशन ईराका कार्यकारी अध्यक्ष आनन्द सिंहले बताए । मिस ग्ल्याम वल्र्ड २०२२ यही आउँदो अगष्ट १९ देखि अगष्ट २८ सम्म भारतको कोचिन, केरलामा हुनेछ ।