मान्छे, समाज र सद्भाव

रिपोर्ट नेपाल | 2023 Aug 25 | 02:25 pm 1497

– दीन पन्थी

मान्छे भई जन्मनु नियति हो, पुरुषार्थ होइन हामी हाम्रा इच्छाले मान्छे भएका होइनौ । मान्छे हामी भाग्यले भयौँ । खास कर्मले हामी मान्छे बन्छौं । अरू प्राणीहरू सहजात वासनाले चल्छन्, मान्छे नैतिक सिद्धान्तले चल्छ, भावनाले चल्छ, विचारले चल्छ, बुद्धि-विवेकले चल्छ । शिश्नोदरपूर्ति मात्र मान्छेको काम्य होइन, यिनैमा सीमित बन्नु मान्छे बन्नु होइन । मान्छे भन्नु र मान्छे बन्नु फरक छ । मान्छेको आकारका धेरै मान्छे छन् संसारमा । सत् र चित्‌को अन्तःप्रेरणाले मात्र मान्छे बन्छ । सत् भनेको सर्वोत्तम शुभ हो, उचित हो, सुन्दर हो र वास्तविक हो सतकै भाव हुन् सत्ता र सत्य पनि । चित् भनेको चैतन्य हो, संवेदनाहरूको स्रोत हो । चैतन्य र संवेदनाविना मानवसत्ता असम्भव छ । सत् र चितका केन्द्र हाम्रा मन र मस्तिष्क हुन् । अरू प्राणीमा भोगाशा मात्र छन् मान्छेमा त्यागेच्छा पनि हुन्छन् । सबै प्राणीमा प्रवृत्ति छन्, मान्छेमा निवृत्ति पनि हुन्छ । मान्छेसँग ज्योतिर्मय अक्षरहरू छन्, शब्दहरू छन्, बोली छ, इतिहास छ, संस्कृति छ, ज्ञान छ, विज्ञान छ, प्रविधि छ र कला छ ।

मान्छेसँग समाज छ । समाजविना मान्छे बन्नुको अर्थ छैन । सृष्टिको प्रारम्भदेखि मान्छे सामाजिक बनेको छ । मानवसमाजबाट मानवसभ्यता बनेको छ | आखेटका, कृषिका, उद्योगका सफलताहरू समाजमै सार्थक बनेका छन् । परिवारदेखि संसारसम्म समाजका अनेक सोपान छन् । कुटुम्बदेखि ‘वसुधैव कुटुम्बकम्’ सम्म हाम्रा सामाजिक भावनाहरू फराकिला बन्दै गएका छन् । सामाजिक भावनाबाट सेवा, परोपकार, दया, क्षमा, अहिंसाजस्ता भावहरू विकसित भएका छन् । समाजमा विविधता छ, विविधतामा सहिष्णुताका भावहरू उठेका छन् । मान्छेका भिन्न अनुहार छन्, भिन्न वर्ण छन्, भिन्न आकृति छन्, भिन्न रुचि छन्, भिन्न क्षेत्र छन् र भिन्न विचार छन् । यी अनेकताहरूबीचको एकता र साम्यता नै मानवसमाज हो । संकीर्णताले हाम्रो समाज टुक्रिन्छ, उदारताले हाम्रो समाज जोडिन्छ । मान्छे मान्छेबीचका भेदभावहरू मेट्दै-मेट्दै जानु छ । मान्छे मान्छेबीचका समताहरू खोज्दै-खोज्दै जानु छ । सामाजिक सद्भावको बारेमा म अहिले के लेख्न सक्छु र ! हाम्रो समाजबाट अहिले समाज च्यातिदै छ, टुक्राइँदैछ जातमा, जातिमा, थातमा, नस्लमा । हामी लकीरको फकीर बनेर बरालिइरहेछौं । सद्भावहरू राजनीतिस्वार्थको सागरमा डुब्दैछन् । मानवीय मूल्यको ह्रास हुँदैछ ।

मान्छेका उन्नतिका सूचक घर, खाद्यान्न, मोटर र यन्त्रहरू मात्र होइनन् । सद्भावविनाको भौतिक उन्नति भस्मासुरको वरदान बन्न सक्छ । मानवसमाज सभ्यता, संस्कृति, उद्योग र सद्भावनाको मियोमा घुम्छ । विकृति, बेथिति र रूढीले ग्रस्त समाजमा न स्वतन्त्रता हुन्छ न सद्भाव हुन्छ । त्यसैले हामीले मान्छेहरूलाई अविद्याको मोहनिद्राबाट ब्यूँझाउनु छ । विभेदको व्यामोहबाट जगाउनु छ । भ्रष्ट समाजलाई एउटा आदर्श र सदाचारको बाटोमा हिडाउनु छ । एउटा आदर्श सभ्यता, संस्कृति, सदाचार र सद्भावको विकासविना हामी समुन्नत बन्न सक्दैनौं ।

समाजमा सत् असत् दुबै छन्, विद्या अविद्या दुबै छन्, शुभ अशुभ दुबै छन् । अविद्या र अशुभ त्याग्दै सत्‌को, विद्याको र शुभको सत्पथमा लाग्नुपर्छ हामी । गुणसितै दुर्गुण हुन्छन्, फूलसित काँढा भए  झैं। सद्भावसितै दुर्भाव छन् । आकर्षक हुन्छन्-दुर्भाव र दुर्व्यसनहरू । उकालो छ सद्गुणहरूको बाटो । साधना र तपस्याबाट प्राप्त हुन्छन् सद्गुण र सद्भावहरू । हामीले सद्भाव, सदाचार, सद्गुण र सद् व्यवहारलाई जीवनशैली बनाउन सकेनौं । फलतः समाजमा विभेद, विद्वेष, विग्रह र वैमनस्य बढे ।

मान्छेसँग काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता दुर्भावहरू नैसर्गिक रूपमा हुन्छन् । यी निमिट्यान्न हुन्नन् मान्छेको मनबाट । नीतिले, साधनाले, शुभसंस्कारले, सुशिक्षाले, ज्ञानले यिनलाई दमन गर्नुपर्छ । आफ्नै स्वार्थको मात्र पछि लागेर सामाजिक बन्न सकिन्न । आफूलाई अरूले मद्दत गर्छ भने आफूले पनि अरूको मद्दत गर्नुपर्छ । व्यभिचारले, मदले, चुक्लीले, ईर्ष्याले, द्रोहले, कृतघ्नताले, कठोर वचनले र अर्थदूषण (भ्रष्टाचार) ले समाजमा दुर्भाव बढ्छ । अशान्तिका, दुर्भावका, विद्वेषका बीजहरू मान्छेका मस्तिष्कमा हुन्छन् ।

कारणहरूको निदान नभई कार्यको निदान हुँदैन । समाजमा विभेद र असमानता रहँदासम्म ती मान्छेको मस्तिष्कमा रहिरहन्छन् र मौकामा निस्कन्छन् । समाजलाई सद्भावमय बनाउने हो भने समाजबाट कुरीति, दम्भ, भ्रष्टाचार, अविद्या, पाखण्ड, आडम्बर, अस्पृश्यता र भेदभाव हटाउनुपर्छ । समाजका हरेक सदस्यले सुनृता (साँचो र मिठो बोली) अहिंसा (रागद्वेषविहीनता) अस्तेय (चोरी नगर्नु) ब्रह्मचर्य र अपरिग्रह (अनावश्यक सम्पत्तिसंग्रह नगर्नु) यी पाँच महाव्रत पालन गर्नुपर्छ । पञ्च महाव्रतको पालनले समाजमा सद्भावको उदय हुन्छ । सबै साँचो र मिठो वचन बोल्दा वैमनस्य हुँदैन वैमनस्य नहुँदा समाजमा मेलमिलाप हुन्छ । राग र द्वेष हिंसाका कारण हुन् । हिंसाले हिंसा जन्माउँछ । क्रोधले क्रोधलाई जित्न सक्दैन । ‘अक्रोधेन जित क्रोधम्’ अर्थात् अक्रोधले क्रोधलाई जित्छ भन्छन् । अहिंसाव्रत पालन गर्दा समाजमा विश्वास र समझदारी बढ्छ । अस्तेय भनेको चोरी नगर्नु हो । कसैको सामान, श्रम, बुद्धिको शोषण गर्नु चोरी हो । चोरीले समाजमा बेथिति बढ्छ, अविश्वास बढ्छ, कलह बढ्छ । व्यभिचार पनि समाजमा विद्वेष बढ्ने कारण हो । सम्यक् ब्रह्मचर्यको पालनले समाजमा सद्भावको विकास हुन्छ । हिन्दु संस्कृतिमा अनावश्यक धनसंग्रह गर्नुलाई पाप भनिएको छ । अनावश्यक धनसंग्रहले भ्रष्टाचार र वर्गभेद बढ्छ । वर्गभेदले वर्गसंघर्षको स्थिति उत्पन्न भई युद्ध हुन्छ । श्रीमद्भागवतमा जतिले पेट भरिन्छ त्यतिमात्र मान्छेको आफ्नो सम्पत्ति हो र बढी थुपार्ने चोर हो भनिएको छ । अपरिग्रह व्रतको पालनले समाजमा समानताको स्थिति हुन्छ । समानताले शान्तिस्थापना र सद्भावको विकास हुन्छ ।

हाम्रो मनमा भावहरू स्थिर छन् । इन्द्रियहरूका घोडा चढेर ती बाहिर प्रकट हुन्छन् । तिनलाई मनको लगाम र बुद्धिको सारथी बनाई हाँकेमा ती सद्भाव बन्छन् । हामीले रागलाई प्रेममा बदल्न सक्छौं, ईर्ष्यालाई उद्यममा बदल्न सक्छौं, मोहलाई निष्ठामा बदल्न सक्छौं । जसरी खेतबारीमा दुर्गन्धित मल राखेर सुस्वादु फल फलाउन फुलाउन त्यसरी नै हामीले समाजमा दुर्भावको ध्वंसमा सद्भाव उमार्न सक्छौं ।

वेदमा एउटा मन्त्र छ – ‘सहनाववतु सह नौ भुनक्तु सह वीर्यं करवावहै, तेजस्विनावधितमस्तु मा विद्विषामहै’   अर्थात् सँगै हिडौं, बाँडीचुडी खाऊँ, सँगसँगै काम गरौं, तेजस्वी बनौं, आपसमा द्वेष नगरौं । यस मन्त्रले सामाजिक समताको सन्देश दिन्छ । सामाजिक समताले सद्भावको विकास गराउँछ । सामाजिक सद्भावले नै मानवसमाज समुन्नत हुन्छ । समुन्नत समाजबाट नै मानवता र शान्तिको अभ्युदय हुन्छ । मानवता र अभ्युदय हाम्रो कामना हो । तसर्थ यस वैदिक मूलमन्त्रलाई मनन गरौं र तदनुसार आचरण गरौं ।

(किरण पुस्तकालय, तम्घास, गुल्मीबाट प्रकाशित हुटिट्याउँको मन निबन्ध स‌ंग्रहका कृतिकार दीन पन्थी हाल रेसुङ्गा क्याम्पस तम्घासमा अध्यापनरत हुनुहुन्छ)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.