-
महेन्द्र पाण्डेय
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल यतिबेला राजनीतिको ज्यादै कठिन मोडमा छन् । आफ्नो राजनीति जोगाउन उनीसँग दुई वटा विकल्प छन्, तर यी दुबै वटा विकल्प यति धरापमा छन्की पाइला चाल्दा थोरै धुरमुर हुनासाथ उनको राजनीतिक जीवन अन्त्य हुन्छ । पहिलो विकल्प हो प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सँग न्युनतम सहमति गरेर एमाले भित्रै रहने । दोस्रो विकल्प हो पार्टी विभाजन ।
अब पहिलो बिकल्पको चर्चा गरौं । पार्टी अध्यक्ष ओलीसँग नेपालको सम्वन्ध ज्यादै चिसिएको छ । ओली पार्टी सभापति निर्वाचित भएको बेला देखि नै यी नेताबीच कसले कसलाई सिध्याउने ? भन्ने खेल सुरु भएको हो । गत पुस पाँच गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि यो खेल चरमोत्कर्षमा पुगेको हो । जुन बेला नेकपा सिंगो थियो त्यतिबेला नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) मिल्दा ओली पार्टी भित्र अल्पमतमा परेका थिए । अल्पमतमा परेको फाइदा उठाउँदै ओलीलाई नेपाल र प्रचण्ड मिलेर साधारण सदस्यबााट समेत निस्काशन गरे ।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा पुर्याएपछि राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल आयो । एमाले भित्र नेपाल अल्पमतमा परे । पार्टीका निकायमा उनको ४० प्रतिशत हाराहारीमा शक्ति रहे पनि संसदीयदलमा भने नेपालको अवस्था ज्यादै कमजोर देखियो । यही कमजोरीको मौका पारेर ओलीले नेपाललाई पेल्न थाले । पार्टी विभाजन गर्ने बैधानिक ताकत नेपालको नरहनासाथ ओली माथि परे ।
नेपाल समुहलाई बहिर्गमन गर्ने मामिलामा ओली स्पष्ट छन् । तर राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही हुँदैन । त्यसमा पनि ओली र नेपाल त एउटै पार्टीका हुन् । राजनीतिक समिकरण बन्ने र भत्कने भनेको आवश्यकता तथा स्वार्थको सिद्धान्त अनुसार हो । यदी ओलीलाई नेपाल समुहको सहयोग अपरिहार्य देखियो भने ओली लचक हुन सक्छन् । नेपाल समुह पुन पार्टीमा क्रियाशील हुने सम्भावना बढेर जान्छ । अब ओलीलाई माधव समुहको आवश्यकता कुन बेला पर्छ त ? भन्ने प्रश्न महत्वपूर्ण छ । ओलीले यही बैशाख २७ गते विश्वासको मत लिँदैछन् । यदी मधेसीदल सिंगै वा टुक्रिएर विश्वासको मत दिने भयो भने त्यतिबेला ओलीलाई नेपाल समुहको सहयोग प्राणवायु जस्तै हुनेछ । किनकी ओलीले विश्वासको मत प्राप्त गर्नेछन् । यदी मधेसीदलको सहयोग नपाउने अवस्था आयो भने नेपाल समुहले गर्ने सहयोगको कुनै अर्थ हुँदैन । यस्तो अवस्थामा ओलीले तिमीहरुको मत चाहिँदैन भन्न पनि सक्छन् । फ्लोर क्रस गर्दा सांसद पद जाने निश्चित छ ।
नेपाल पक्षका संसदहरुको पद गयो भने पनि सत्ता समिकरणमा असर पर्छ । नेपाल पक्षका प्रत्यक्ष निर्वाचित २० सांसदको पद जानासाथ प्रतिनिधिसभाको साविकको सिट संख्या २ सय ७१ बाट घटेर २ सय ५१ मा झर्छ । यस्तो अवस्थामा प्रतिनिधिसभाले सजिलै ओलीको विकल्पमा अर्को सरकार दिनसक्छ ।
प्रतिनिधिसभाबाट अर्को सरकार गठनका लागि नेपाल पक्षकै भूमिका निर्णायक हुने अवस्था आयो भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली गल्छन्, यस्तो अवस्थामा उनी लचिलो हुन सक्छन् । नेपाल पक्षले पार्टी भित्र खुट्टा टेक्ने ठाउँ पाउँछ । होइन भने जसरी पाण्डवहरुको नियती नेपाल पक्षले भोग्नु पर्छ । पाण्डवहरुले पाँच वटा गाउँ माग्दा दुर्योधले भनेका थिए–‘ पाँच वटा गाउँको त के कुरा एउटा सियोको टुप्पामा अट्ने जमिन पनि दिन्न ।’
माधव नेपालसँग रहेको अर्को विकल्प हो–‘महाभारतमा पाण्डवहरुले जस्तै निर्णायक युद्ध सुरु गर्नु । यसका लागि माधव पक्ष जस्तो सुकै जोखिम लिन पनि तयार हुनु पर्छ । ओलीको चुरीफुरी भनेको सत्ता नै हो । संघीय सत्ता मात्रै होइन चार वटा प्रदेशमा ओलीको सत्ता छ । पुरा राज्य संयन्त्र हातमा लिएर बसेका ओलीसँग भिड्नका लागि नेपाल पक्षलाई चानचुने ताकतले पुग्दैन । पहिलो कुरा त नेपाल पक्षले ओलीलाई सत्ता विहिन बनाउनका लागि आवश्यक सबै उपाय अवलम्वन गर्नु पर्ने हुन्छ ।
ओली प्रधानमन्त्री रहेकै अवस्थामा नेपाल पक्षले अर्को पार्टी गठन गर्ने ताकत राख्दैन, राखिहालेछ भने पनि त्यो पार्टी नाम मात्रैको हुन्छ । अझ ओलीकै नेतृत्वमा निर्वाचन हुने हो भने त नेपाल पक्षले गठन गर्ने पार्टीले चुनावमा हासिल गर्ने भनेको बढीमा शुन्य सिट हो । माधव पक्षको राजनीतिक पतन निश्चित छ । राजनीतिक पतन रोज्नु नेता नेपालका लागि वाध्यता होला, तर सम्भावना बोकेका युवा नेताहरु योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट लगायतले यो बाटो नरोज्न सक्छन् यस्तो अवस्थामा माधव नेपाललाई सिपी मैनालीको हैसियतमा पुग्नबाट कसैले रोक्दैन ।
यसैगरी प्रचण्ड सँग मिलेर नयाँ पार्टी गठन गर्ने सुविधा नेपाललाई छ । यस्तो अवस्थामा ओली विरुद्धको अर्को सशक्त कम्युनिष्ट पार्टी बन्न सक्छ । केही सिट हासिल हुन पनि सक्छ । कसैको पनि बहुमत नआउने अवस्थामा उक्त पार्टीको हातमा सत्ताको साँचो पुग्न सक्छ । तर त्यो पार्टी भित्र पनि माधव नेपालको हैसियत सेकेण्ड म्यान नै हो । फष्ट म्यान त प्रचण्ड नै हुनेछन् । प्रचण्डको कार्यशैली ओलीको भन्दा भिन्न छैन । प्रचण्डको सेकेण्डम्यान भएर न मोहन बैद्य टिक्न सके, न डा. बाबुराम भट्टराई टिक्न सके, न रामबहादुर थापा बादल टिक्न सके । माधव टिक्न सक्ने सम्भावना कसरी रहला ?
कहाँ चुके नेपाल ?
कम्युनिष्ट पार्टी भित्र नेतृत्वबाट एक पटक चिप्लिए पछि पुनोरदय धेरै कठिन हुन्छ । कि पार्टी विभाजन गर्ने की आत्मसर्मपण गरेरै बस्नु पर्ने अवस्था कम्युनिष्ट पार्टी भित्रको नियती हो । अहिलेको जल्दो वल्दो पार्टी एमालेकै सन्दर्भमा भन्ने हो भने मालेका संस्थापक महासचिव सिपि मैनाली २०३९ सालमा चिप्लेपछि फेरी कहिल्यै माथि उठ्न सकेनन् । २०४४ सालमा महासचिव पदबाट चिप्लेका झलनाथ खनाल लामो समय पार्टीभित्र निरिह भएर बस्न वाध्य भए । २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टीको लज्जास्पद हारपछि माधव नेपालले नैतिकताका आधारमा महासचिव पदबाट राजीनामा नदिएको भए खनालको पुनोरदय सम्भव थिएन ।
माधव नेपाल मुलुकको राजनीतिमा लामो समयसम्म शक्तिमा रहेका नेता हुन् । २०५० सालमा मदन भण्डारीको रहस्यमय मृत्यु पछि २०६४ सालसम्म १४ वर्ष लगातार उनी एमालेको महासचिव बने । सत्तारुढ तथा प्रमुख प्रतिपक्षको हैसियतमा रहेको पार्टीको नेतृत्व यति लामो समयसम्म गर्ने सौभाग्य नेपालका अरु कुनै पनि नेताले पाएका छैनन् । तर यति लामो अवसर पाउँदा पनि माधव नेपालले पार्टी भित्र आफ्नो संजाल बनाउन सकेका रहेनछन् ।
कम्युनिष्ट नेताहरुमा नैतिकता भन्ने कुरा शब्द कोशमा समेत हुँदैन, तर २०६४ सालमा आफू र आफ्नो पार्टीको करारी हार हुनासाथ नेता नेपालले नैतिकताका आधारमा राजीनामा दिए । तर उनले देखाएको यो नैतिकताको उच्च मुुल्यांकन पार्टीमा हुन सकेन । किन सकेन ? भन्ने प्रश्न जटिल छैन । किनकी उनी १४ वर्ष महासचिव हुँदा सँधै ओलीको साथ पाइ रहे । यता ओलीले त्यही आडमा आफ्नो गुट बलियो बनाउँदै गए । अन्तिम अवस्थामा ओलीसँगै प्रतिस्पर्धा गर्नु पर्ने दिन आयो । ओलीले कतिसम्म बलियो गुट बनाएका छन् ? भन्ने हेक्का नराखी नेता नेपाल ओलीसँग भिडे ।
यता ओलीलाई के लाग्यो भने –‘मदन भण्डारीको निधनपछि मैले नै महासचिव बनाए, १४ –१४ वर्षसम्म हर तरहले सहयोग गरे, जिवनको अन्तिम कालमा एक पटक अध्यक्ष बन्न खोज्दा अवरोध उत्पन्न गर्ने ?’ पहिलो कुरा त चुनाव हार्ने गरी ओलीसँग प्रतिस्पर्धामै उत्रिन हुँदैनथ्यो । दोस्रो कुुरा चुनाव हारिसके पछि अर्को महाधिबशेनसम्म चुप चाप लागेर शक्ति संचय तिर लाग्नु पथ्र्यो । तर माधव नेपाल प्रचण्डसँग मिलेर ओली हुत्याउन लागे । जुन कुरा ओलीलाई सैह्य भएन । ओली पनि के कम, कि म छैन कि तँ छैन भन्ने तिर लागि हाले ।
यतिबेला ओलीमा दुर्योधनको भूत सवार भएको छ । मुलुकको सारा राजनीतिक शक्ति ओली विरुद्ध एक जुट भएको अवस्था छ । यो मौका नेपालले चुकाए भने उनी सकिए । राजनीतिबाट सन्यास लिनु बाहेक उनका सामु अर्को विबल्प रहँदैन । पछिल्लो समय माधव नेपाल लडाइको मैदानमा कस्सिएर लागेका छन् । उनको विगतको ढुलमुले निर्णय देखेका र भोगेका उनका समर्थकहरुले यस पटक पनि कतै नेपाल स्वाभिमानको लडाइलाई तिलाञ्जली दिएर ओलीको सत्ता मोहमा लाग्ने त होइनन् ? भनेर आशंका गरिरहेका छन् । ओली समुहका अत्यन्तै तल्लो तहका कार्यकर्ताले समेत नेपाल समुहका नेता कार्यकर्तालाई गरेको अपमानलाई नेपालले कसरी लिने हुन् त्यो हेर्न धेरै दिन पर्खनु पर्दैन । हुन त नेपाल समुहले संसद पदबाट राजिनामा दिएर ओलीको घमण्डलाई चकनाचुर बनाउने बताउँदै आएको छ । तर, राजनीतिमा असम्भव भन्ने कुरा केही नहुने भएकोले कतै नेपाल पदको लोभमा केपी ओलीसँग आत्मसमर्पण गर्नेत होइनन् भन्ने प्रश्न पनि उब्जिएको छ ।
यतिखेर माधव नेपालप्रति उनलाई सहयोग गर्ने सारथिहरुले नेपालले प्रतिष्ठा रोज्लान कि पद भन्ने शंका गरेका छन् । नेता भिम रावलले घुमाउरो पारामा नामर्दकी श्रीमती बन्नु भन्दा मर्दको नोकर बन्नु बेस जस्तो कुरा उठाएका छन् । नेपालको कम्युनिष्ट इतिहासमा यस्तो निर्लज्ज एक आपसमा आरोप प्रत्यारोप चलेको थिएन । माधव नेपालले चौध वर्ष महासचिव चलाउँदा कहिल्यै ठोस निर्णय गर्न नसकेका कारण अन्य दलले एमालेलाई न भाले न पोथी भन्ने आरोप लगाउँदै आएका थिए । यतिबेला माधव नेपालको निर्णय कस्तो होला भनेर हेरेका राजनीतिक विश्लेषकले पुरानो उनको चरित्र झल्झली सम्झी रहेका छन् । त्यसैले यो पछिल्लो निर्णयमा माधव नेपालको निर्णय गर्ने क्षमतामा अग्नि परीक्षा भएको छ ।