भारतको नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्रीलाई राज्य व्यवस्था समितिले बाेलायाे

रिपोर्ट नेपाल | 2019 Nov 10 | 02:47 pm 707

काठमाडौं, कार्तिक २४ : भारतद्वारा जारी विवादित नक्साका विषयमा छलफल गर्न प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । समितिले सोमबार बिहान प्रधानमन्त्री ओलीलाई छलफलका लागि डाकेको हो ।

समिति सभापति शशी श्रेष्ठले कालपानी, लिपुलेक र लिम्पियाधुरा जस्ता भू–भाग भारतले आफ्नो नक्सामा समेटेको विषयमा छलफल गर्न लागेको बताएकी ।

‘हामीले छलफलका लागि प्रधानमन्त्रीलाई डाक्दा यसरी राष्ट्रिय धारणा बनेको थिएन,’ श्रेष्ठले भनिन्, ‘नक्सा जारी भएलगत्तै डाके पनि उहाँको समय मिलेको थिएन ।’

प्रधानमन्त्री निर्वाचित भएयता प्रधानमन्त्री ओलीलाई कुनै पनि संसदीय समितिले डाकेका थिएनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बन्धी विषय राज्य व्यवस्था समितिको क्षेत्राधिकारभित्र पर्छ । अन्य समितिले पनि प्रधानमन्त्रीलाई छलफलका लागि बोलाउन सक्छन् । यद्यपी समितिले अहिलेसम्म प्रधानमन्त्रीलाई डाकेका थिएनन् ।

सत्तारूढ नेकपाले अधिकांश संसदीय समितिको नेतृत्व आफैं राखेका कारण प्रधानमन्त्रीलाई डाक्ने हिम्मत जुटाएका थिएनन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा समेत नियमावली अनुरूप हुनु पर्ने प्रश्नोत्तर छल्दै आएका छन् । ‘प्रधानमन्त्रीले हामीलाई समय दिनु भएको छ,’ सभापति श्रेष्ठले भनिन्, ‘हामी उहाँसँग भारतको नयाँ नक्साका विषमया छलफल गर्छौ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.