काठमाडौँ २० जेठ / पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउनेक्रममा सत्तारुढ दलसँग छलफल नगरेको आरोप लगाएका छन् ।
पौडेलले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने उल्लेख भएकामा सो अवधारणालाई सरकारले थप स्पष्ट पार्नुपर्ने पौडेलले बताए ।
बजेटमा कृषिमा लगानी दशक घोषणा गरिएको भए पनि चालु आवको तुलनामा आगामी आवको भन्दा बजेट घटेको उनले बताए ।
पौडेलले धेरै अघि बढिसकेका आयोजना बजेटमा छुटेको उल्लेख गर्दै दमक औद्योगिक क्षेत्रबारे बजेट नबोलेको तर एक पालिका, एक डाउनटाउन तथा वडावडामा उद्यान बनाउनेजस्ता विषयबारे सङ्घीय बजेटले नबोलेको भए पनि हुन्थ्यो भन्ने विचार राखे ।
हरेक प्रदेशलाई कुनै निश्चित वस्तुको उत्पादन हबका रूपमा अघि बढाउने योजना बजेटमा राखिए पनि त्यसमा दोहोरोपना हटाउनुपर्ने सुझाव दिँदै पौडेलले एउटा प्रदेशमा एउटा केन्द्र स्थापना गर्ने विषयमा थप अध्ययन गरिनुपर्ने सुझाव दिए ।