फोहोर उठाउनका लागि आफै ट्याक्टर चलाएर विहानै टाेलटाेलमा पुग्छन् वार्ड अध्यक्ष

| 2018 Dec 29 | 06:39 am 1566

पाँचथर, पुस १४  :  फिदिम बजारमा विहानै फोहोर उठाउने गाडीको साईरन बज्छ। जाडोले विहान अबेर उठ्नेहरु हतार हतार फोहोरका बोरा, कार्टुन बोकेर दौडन्छन् फोहोर गाडीमा राख्न। कतिपयको त यो साईरनले बल्ल निन्द्रा खुल्छ। त्यतिवेला फोहोर उठाउने ट्याक्टर चलाईरहेका भेटिन्छन् फिदिम नगरपालिका–४ का वार्ड अध्यक्ष प्रकाश गुरुङ। उनले आफै ट्याक्टर चलाएर फोहोर उठाउन थालेको एक महिना पुग्न लागेको छ।

पुसको चिसोमा समेत विहानै फाेहोर उठाउने ट्याक्टर चलाउदै वार्ड अध्यक्ष टोल टोल पुगेको फोटो यतिवेला समाजिक सञ्चालमा चर्चित बन्दै गएको छ। फोहोर उठाउनका लागि फिदिम नगरपालिकाका ट्रिपर र ट्याक्टर रहेका छन्। पछिल्ला दिनमा ट्याक्टर चलाउने ड्राइभर कुमार खवास विरामी भएकाले ४ नम्बर वार्डको अध्यक्ष भएपनि फिदिम–१ काे मुख्य बजार लगायतका ठाँउमा फोहोर उठाउन उनी सक्रिय छन्।

उनी गाडीमात्र दाैडाइ रहेका छैनन्, बजारलाई फोहोर हुन नदिन स्थानियलाई सचेत समेत गराउँदै छन्। फिदिम नगरपालिकाले बनाएको बजार व्यवस्थापन गर्ने समितिको संयोजक रहेका गुरुङले बजारलाई व्यवस्थित र सफा राख्न प्रयास गरीरहेको बताए। ‘बजारलाई सफा राख्न स्थानीयको सहयोग आवश्यक छ। म आफै लागेर सचेत गराउँदै छु। हाम्रो बजार हामिले नै नबनाए कस्ले बनाउछ।’, गुरुङले नागरिकसँग भने। केही समय अगाडी इलाम र पाँचथरको सिमानामा रहेको राँके बजारमा भएको भिषण आगलागी निभाउनकालागि उनैले दमकल कुदाएर लगेका थिए। गुरुङको सरसफाईको सक्रियताले फिदिम लगायतमा उनकाे चर्चा बढेकाे छ। आजको नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.