काठमाडौँ २२ चैत / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई पुनःसंरचना गरेर ल्याइएको व्यवस्थाले देशलाई आर्थिक नोक्सान भएको भन्दै प्रदेश सभा खारेज गर्नु पर्ने बताए ।
जनताले तिरेको करले वडा सदस्यदेखि पूर्व राष्ट्रपति, पूर्व उप-राष्ट्रपति सम्मलाई खाने मेलो भएकोले अहिले हरेक नेपालीको टाउकोमा ऋणको भारी भएको भनाई राखेका थिए ।
अध्यक्ष लिङ्देनले प्रदेश सभाको भने कुनै काम नै नभएकाले केन्द्रीय सरकार, सरकार मातहतका आयोग बलियो बनाउनुपर्ने बताए । संवैधानिक निकाय राजनीतिक दलको भर्ती केन्द्र नबनाई स्वस्थ प्रतिस्पर्धाबाट प्रमुख ल्याउँदा ती निकाय पनि बलियो र काम गर्नसक्ने क्षमताको हुने इलाम सदरमुकाममा आयोजित चुनावी घोषणा सभालाई सम्बोधन गर्दै आफ्नो भनाईइ राखेका थिए ।
नेपालमा बन्ने सरकार भारत र चीनको इच्छा अनुसार चल्नुपर्ने बाध्यताले गर्दा देशमा कुनै पनि सरकार र सरकारले गरेका काम दिगो नभएको भन्दै अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने आफूहरुको धारणा रहेको बताए ।
इलाम-२ मा वैशाख १५ मा हुन लागेको उप-निर्वाचनका सन्दर्भमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले जित्नै पर्छ भन्ने नभएपछि अन्य ठूला दलहरुलाई भोट नहालेर ती दलहरुलाई सुध्रिन जनताले चेतावनी दिनुपर्ने बताए ।