पोखरा, मंसिर २५ । पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५, हेमजाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५, जिरो किमी बस्ने २४ वर्षीया भावना बराल हुन् । दुवै जना गण्डकी मेडिकल कलेजका विद्यार्थी थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार पोखराबाट तालचोकतर्फ जाँदै गरेको बिएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ४ बजेर १५ मिनेटमा ठक्कर दिएको थियो ।
घाइतेलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । चिकित्सकले अनिशालाई ४ बजेर ३९ मिनेटमा मृत घोषणा गरेका हुन् । भावनालाई पोखराकै चरक मेमोरियल अस्पताल रेफर गरिएकोमा उनको साँझ ७ बजेर १५ मिनेटमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कार चालक अर्घौ निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
( राजधानीबाट )