पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 21 | 06:51 am 2680

लहान, कार्तिक ४: प्रहरीले नलकटुवा पेस्तोलसहित आज सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २० वर्षीय मुकेशकुमार महतो रहेको छ । जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेका अवस्थामा एक थान नलकटुवा पेस्तोल फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी सिरहाको धनगढीमाई नगरपालिका– ९ जिरोमाइलबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ।

आफ्नो घरमा तीन वटा बोरामा लागुऔषध प्याक गरी राखेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित धनगढीमाई नगरपालिका–९ का दलुवा भन्ने गङ्गाप्रसाद यादवलाई पक्राउ गरेको हो।

यादवको घरभित्र बोरामा प्याक गरिएका अवस्थामा डाइलेक्स डिसी १०० एमएलको ४४८ बोतल, नाइट्रोक्याट छ डब्बा (एक हजार ८०० थान), स्पासमोल छ डब्बा (८६४ थान) र पलोडविन १८० थान बरामद् भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.