कृष्ण प्रसाद सापकोटा
कुनै पनि राष्ट्रको समृद्धि, स्थायित्व र सुशासनको मूल आधार त्यहाँका नागरिकहरूको पेशागत इमान्दारिता हो। हरेक व्यक्ति समाजमा कुनै न कुनै पेशासँग आबद्ध हुन्छ, र त्यही पेशाबाट उसले राष्ट्रप्रति आफ्नो कर्तव्य पूरा गरिरहेको हुन्छ। जब व्यक्तिले आफ्नो पेशागत सीमाभित्र रहेर इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्छ, तब मात्र समाज व्यवस्थित बन्छ र देश सही दिशामा अघि बढ्छ। तर दुर्भाग्यवश, आजको नेपालमा पेशागत मर्यादा र इमान्दारिता कमजोर बन्दै गएको यथार्थलाई नकार्न सकिँदैन।
हरेक पेशाको आ–आफ्नै धर्म र दायित्व हुन्छ। पत्रकारको मूल कर्तव्य सत्यको खोज, तथ्यको उजागर र जनतालाई सूचित गर्नु हो। खोजमूलक र जिम्मेवार पत्रकारिता लोकतन्त्रको मेरुदण्ड मानिन्छ। तर पछिल्ला दिनहरूमा केही पत्रकारहरू समाचारभन्दा बढी व्यक्तिगत आक्षेप, गालीगलौज र राजनीतिक पक्षधरतातर्फ उन्मुख भएको देखिन्छ। यसले न पत्रकारिताको गरिमा जोगाउन सकेको छ, न त जनताको विश्वास नै कायम राख्न सकेको छ। पत्रकार जब आफैं समाचारको विषय बन्छ, तब पत्रकारिता कमजोर हुन्छ र लोकतन्त्र पनि संकटमा पर्छ।
त्यसैगरी, प्रहरी र सुरक्षाकर्मीहरूको मुख्य जिम्मेवारी नागरिकको जीवन, सम्पत्ति र स्वतन्त्रताको सुरक्षा गर्नु हो। उनीहरू राज्यका अनुशासित अंग हुन्, जसले निष्पक्ष र तटस्थ रूपमा काम गर्नुपर्छ। तर सेवा अवधिसकिना साथ राजनीतिमा प्रवेश गर्ने आकांक्षा राख्नु वा राजनीतिक गतिविधिमा संलग्न हुनुले उनीहरूको पेशागत इमान्दारितामाथि गम्भीर प्रश्न उठाउँछ। यदि सेवाकाल सकिदा बितिकै राजनीतिक स्वार्थ हाबी हुने हो भने, उनीहरूले हिजो कर्तव्य निर्वाह गर्दा कति निष्पक्षता अपनाए भन्ने शंका स्वाभाविक रूपमा पैदा हुन्छ।
कर्मचारी प्रशासन राज्य सञ्चालनको मेरुदण्ड हो। कर्मचारीको धर्म भनेको जनतालाई सेवा दिनु, कानुन कार्यान्वयन गर्नु र सरकारका नीति–निर्णय निष्पक्ष रूपमा लागू गर्नु हो। तर कर्मचारी स्वयं राजनीतिक गतिविधिमा संलग्न हुँदा प्रशासन निष्पक्ष रहन सक्दैन। यसले भ्रष्टाचार, ढिलासुस्ती र जनताप्रतिको उत्तरदायित्वमा कमी ल्याउँछ।
त्यसैगरी, व्यापारीको धर्म व्यापार गर्नु, उत्पादन र सेवा विस्तार गर्नु तथा अर्थतन्त्रलाई चलायमान बनाउनु हो। व्यापारी जब राजनीतिक चलखेल र अनुचित लाभ खोज्न थाल्छ, तब बजार अस्वस्थ बन्छ र उपभोक्ता ठगिन्छ।
वकिलको पेशा न्यायसँग जोडिएको अत्यन्त संवेदनशील पेशा हो। वकिलको मुख्य दायित्व न्याय सम्पादनमा सहयोग गर्नु हो, न कि शक्ति र पैसाको आधारमा सत्यलाई तोडमोड गर्नु। शिक्षकको भूमिका अझै महत्वपूर्ण छ, किनकि शिक्षकले भविष्यका नागरिक निर्माण गर्छन्। शिक्षक जब आफ्नो मूल धर्म छोडेर अन्य स्वार्थमा अल्झिन्छ, तब समाजको बौद्धिक आधार कमजोर हुन्छ।
त्यसैगरी, राजनीतिज्ञको काम नीति निर्माण, शासन सञ्चालन र जनताको हितमा काम गर्नु हो। तर राजनीतिज्ञले अन्य पेशामा अनावश्यक हस्तक्षेप गर्दा पेशागत स्वतन्त्रता र मर्यादा दुवै खल्बलिन्छ। राजनीति सेवा हो, पेशा मात्र होइन भन्ने भावना राजनीतिज्ञहरूमा विकसित हुन जरुरी छ।
यदि पत्रकार पत्रकारितामै इमान्दारिताका साथ लाग्ने हो भने सत्य बाहिर आउँछ। प्रहरी सुरक्षामै केन्द्रित हुने हो भने नागरिक सुरक्षित महसुस गर्छन्। कर्मचारी सेवामै समर्पित हुने हो भने प्रशासन प्रभावकारी बन्छ। व्यापारी व्यापारमै सीमित रहने हो भने अर्थतन्त्र सबल हुन्छ।
वकिल न्याय सम्पादनमै, शिक्षक शिक्षण पेशामै र राजनीतिज्ञ राजनीतिमै उत्तरदायित्वका साथ लाग्ने हो भने मात्र समृद्ध र सुशासित राष्ट्र निर्माण सम्भव हुन्छ।देश निर्माण ठूला भाषण वा नाराले होइन, हरेक व्यक्तिको दैनिक कर्म र पेशागत इमान्दारिताले हुन्छ। आफ्नो जिम्मेवारीबाट नभागी, आफ्नो पेशाको मर्यादा जोगाउँदै काम गर्नु नै साँचो देशभक्ति हो। पेशा अनुसारको कर्तव्यबोध र इमान्दारिता नै समृद्ध नेपाल निर्माणको सबैभन्दा बलियो आधार हो।