पाहुनाका अघि लाज छोप्न करोडौं खर्च

रिपोर्ट नेपाल | 2019 Oct 12 | 09:05 am 643

काठमाडौं , २५ आसोज : छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंलाई सजाएर चिटिक्क पारिएको छ। राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना रंगाइएको छ।

भत्किएका र जीर्ण संरचना र फोहर थुप्रिएका ठाउँ रंगीन ब्यानरले छोपिएको छ। अस्तव्यस्त तीनकुने पार्कको बाहिर फूल र बिरुवा रोपिएको छ। विमानस्थल–तीनकुने– बानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ। सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ।

सडककिनारका बिजुलीका खम्बामा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सीका तस्बिर राखिएका छन्। सडकमा चम्किला र कृत्रिम गेट बनाइएका छन्। पाहुना आउँदा भित्री कुरूपता छोप्न सडक र छेउछाउका संरचना सजाइएको हो। ‘रातारात करोडौं रुपैयाँ खर्च गरेर सडकमा ब्यानर राखिएको छ,’ शुक्रबार तीनकुनेमा हिँड्दै गरेका अजय घिमिरेले भने, ‘दुई दिनलाई देखाउन मोटो रकम खर्च गर्नु राम्रो होइन, विकास निर्माण दिगो हुनुपर्छ।’

सगरमाथा, गौतम बुद्ध, पाटनको कृष्ण मन्दिर, पाटन दरबार, भक्तपुर दरबार, इलामको चिया बगान, रारा ताल, पशुपतिनाथ मन्दिर, हनुमानढोका दरबार, काष्ठमण्डप, पाँचतले मन्दिर, मुक्तिनाथ, गोसाइँकुण्ड, मनकामना मन्दिर, केबलकारलगायत नेपालका वेशभूषा झल्काउने रंगीन ब्यानर, पोस्टर र चित्र सडकभरि राखिएका छन्।

बानेश्वरदेखि माइतीघरसम्म रोपिएका फूल र बिरुवामा नयाँ माटो राख्ने, आइल्यान्ड रंगाउने, झन्डा राख्ने, बिजुली र सोलार बत्तीका पोल पुछ्ने, सडक सफा गर्नेलगायत कामको चटारोमा सरकारी निकाय छन्। काठमाडौं महानगरपालिकाले चिनियाँ राष्ट्रपति सवार हुने सडक सफाइ र सजावट गर्ने जिम्मा पाएको छ। भौतिक पूर्वाधार मन्त्रालय र पर्यटन बोर्डले राष्ट्रपति भण्डारी र उनका चिनियाँ समकक्षी सीको फोटो छाप्ने, सडक किनारका पोल र सरकारी कार्यालाय परिसरमा टाँग्ने जिम्मेवारी पाएका छन्।

काठमाडौं महानपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सफाइ र सजावट खर्चको तथ्यांक एकीकृत भइनसकेको बताए। उनले सजावटमा मात्रै मोटामोटी पाँच करोड रुपैयाँभन्दा बढी खर्च भएको बताए। उनका अनुसार हतारहतार काम गर्नुपर्ने भएकाले खर्च कति लाग्यो भनेर जोड्न बाँकी छ। ‘हामीलाई अहिले काम सक्नुपर्ने बाध्यता छ, कहाँ कति खर्च भयो भनेर हिसाबकिताब अझै निकालेका छैनौं,’ उनले भने, ‘केही ठाउँमा महानगरले आफूसँग भएका कर्मचारी प्रयोग गरेको छ भने केही काम ठेकेदार कम्पनीलाई जिम्मा दिएको छ।’

उनका अनुसार महानगरपालिकाले सजावटको काम गरेको छ। तीनकुने पार्कको छेउछाउ माटो भरेर फूल र बिरुवा रोप्ने, फोहर उठाउने, धुलो बढार्ने, बानेश्वरदेखि माइतीघरसम्म रोपिएका फूल र बिरुवामा नयाँ माटो राख्ने, रङ लगाउने, झन्डा राख्ने, बिजुली र सोलार बत्तीका पोल पुछ्नेलगायत काम महानगरपालिकाले गरेको खबर नागरिक दैनिकमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.