- वसन्त भुजेल
पावर र पैसाले मान्छेलाई अन्धो बनाउँछ । विभिन्न देशका ठूला ठूला तानाशाहहरु पावर र सम्पत्ति जति बढ्दै जान्छ उति उती अन्धो हुँदै जाँदा आफै समाप्त भएका उदाहरण धेरै छन् । चाहे चीनका तानशाह होउन, चाहे जापान वा इरानका । जर्मनीका हिटलर र इराकका सद्दाम हुसेनको जीवन पनि पावर र पैसाकै मोहले समाप्त गरिदिएको हो । विगतका उदाहरणहरु किन ? विश्वकै बैभावशाली देश अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रमलाई हेरे पुग्छ । उनी पावर र पैसाले पागल बनेका हुन् । पावर र पैसाको व्यवस्थापन गर्न नजान्नेको हातमा राज्य सत्ता पुग्यो भने ठूलो दुर्घटना हुनसक्छ । यतिबेला अमेरिका ठूलो दुर्घटनाबाट बालबाल बाँचेको छ । नेता छान्दा, भोट दिँदा विचार पुर्याउन सकिएन भने कतिसम्म खतरा हुँदो रहेछ ? भन्ने कुरा अमेरिकी जनताले डोनाल्ड्र ट्रम्पको चार वर्षे कार्यकालमा मज्जाले बेहोरेका छन् ।
लोकतन्त्र विश्वको समुन्नत आधुनिक शासन व्यवस्था हो । जसलाई धेरै मुलुकहरुले निर्विकल्प शासन व्यवस्था मानेका छन् । आफूलाई लोकतन्त्रको विरोधीका रुपमा उभ्याउन कोही पनि चाहाँदैनन् । तर लोकतन्त्र आफैमा साध्य होइन, साधन मात्रै हो । लोकतन्त्रमा जनताको मतले नै शासक निर्धारण गर्ने हो । देशको नेतृत्व असल व्यक्तिको हातमा पर्यो भने लोकतन्त्र फलिफाप हुन्छ, खराव व्यक्तिको हातमा पुग्यो भने अभिसाप हुन्छ । त्यसैले मत दिनु अघि उम्मेदवार तथा सम्वन्धित दलको नेताको पृष्ठभूमी, मानसिकता र चरित्र राम्रो सँग अध्यायन गर्नसक्नु पर्छ । होइन भने देशले नै दुःख पाउँछ । अरु देशको उदाहरण हेर्नै पर्दैन, हाम्रै मुलुकको उदाहरण हेरे पुग्छ ।
अंग्रेजीमा एउटा उखान छ –‘लिटिल नलेज इज डेन्जरस ।’ अर्थात अल्पज्ञान भन्दा अज्ञाननै ठिक । यो उखान नेपालको राजनीतिमा मिल्न आउँछ । हाम्रो लागि लोकतन्त्र बाँदरका हतमा नरिवल जस्तो भयो । यो मामिलामा दल तथा दलका नेता मात्रै दोषि होइनन्, हामी मतदाताको पनि कमजोरी छ । क्षणिक स्वार्थलाई हेरेर वा भाषणबाट प्रभावित भएर हामीले भोट दियौं । हाम्रो त्यही भोटले देश डुबाउँदै छ । हामी आफैले दुःख पाएका छौं । देश फेरी पनि द्धन्दमा फस्दै छ । यो राम्रो संकेत होइन । राजसंस्था फाल्नु ठूलो भुल रहेछ ।
राजासमेत अटाउने लोकतन्त्र अथवा लोकतन्त्र समेत अटाउने राजतन्त्र मात्रै नेपाल सुहाउँदो शासन व्यवस्था हो भनेर दूरदर्शी राजनेता वीपी कोइरालाले पटक पटक भनेका थिए । वीपीको यो मार्गदर्शन न त राजाहरुले सुने, न त वीपीको अवशान पछिका नेताहरुले ।
पावर र पैसा आगो जस्तै हो, दुरुपयोग भयो भने यसले क्षणभरमै संसार सखाप पार्नसक्छ । अहिले छिमिेकी मुलुक भारतले खतरनाक हतियार बनाएको छ । विश्व शक्ति संघर्षको होडवाजीका लागि उसले खतरनाक हतियार बनाएको हो । चीन भारत भन्दा पनि धेरै पावर र पैसा छ । उ अमेरिकासँग टक्कर लिनसक्ने अवस्थामा पुगिसकेको छ । भोलिका दिनमा अमेरिका र चीनबीचको द्धन्दले खतरनाक रुप लिने अनुमान गरिएको छ । उता रुससँग पनि तत्कालिन सोभियत संघका हतियारहरु यथावत छन् । थोरै मौका पाउना साथ रुस पनि अमेरिका र चीनसँग टक्कर लिने गरी पुन महाशक्तिका रुपमा उदाउन सक्छ । त्यसैले शीतयुद्ध अझै समाप्त भएको छैन । शीतयुद्धको खतरा अझै बाँकी छ । जसरी भाइरसले वातावरण अनुसार स्वरुप परिर्वतन गर्छ शीतयुद्ध पनि त्यस्तै हो, कोरोना भाइरस जस्तै शीतयुद्धको स्वरुप पनि परिस्थिति अनुसार परिवर्तन भइरहेको छ । पावर र पैसाका लागि भाइरस रुपी हतिायर समेत प्रयोग हुन थालिसकेको कहाली लाग्दो अवस्थाको रोकथाम कसले गर्ने ? यतिबेलाको मुख्य चिन्ता भनेकै यही हो । यसको रोकथाम तर्फ संयुक्त राष्ट्रसंघले पहल गर्नुपर्ने हो, तर खोइ कहाँ छ, संयुक्त राष्ट्रसंघ ? भन्ने अवस्था आएको छ । संयुक्त राष्ट्र संघ शक्ति राष्ट्रहरुको कठपुतली संस्था बन्ने खतरा बढेर गएको छ । कोरोनाको यो कहरमा डब्लु एचओ जस्तो संस्था पेण्डुलम हुनुको मुख्य कारण संयुक्त राष्ट्र संघकै साख घट्नु हो । विश्वस्वास्थ्य संगठनका पदाधिकारीहरु पावर र पैसामा नविकेको भए जैविक हतियार निर्माण गर्ने दुस्साहस कुनै मुलुकले गर्ने थिएनन् । यस्ता खतरनाक हतियारको होडवाजीलाई रोक नलगाउने हो भने संसार ध्वस्त हुन धेरै वर्ष कुर्न पर्दैन । डोनाल्ड ट्रम्पले नै त्यसको संकेत गरिसकेका छन् । भोली अमेरिका, चीन, रुस र भारतमा डोनाल्ड ट्रम्प जस्तै खतरनाक व्यक्ति शासन सत्तामा पुगे भने विश्वको अवस्था कति कहाली लाग्दो होला ?
पावर र पैसा विना जीवनको गाडी अघि बढ्दैन । अहिलेको जमानामा पावर र पैसा भनेको जीवनको इन्धन हो । तर पैसा सवै चिज हो त ? पावर सबै चिज हो त ? भन्ने प्रश्न ज्यादै महत्वपूर्ण छ । हामीले एउटा उखान सुन्दै आएका छौं –‘अति भए पछि खति हुन्छ ।’ त्यसैले एउटै व्यक्तिमा पावर र पैसा केन्द्रित हुन नदिन लोकतान्त्रिक शासन व्यवस्था अपनाइएको हो । तर लोकतन्त्रका कमजोरी तथा छिद्रमा प्रवेश गरेर द्रव्य पिचाशहरु शासन सत्तामा पुगिरहेका छन् ।
खतरनाक आणविक हतियारका आविस्कार अल्फ्रेड नोवेलले आफ्नो जीवनको अन्त्यकालमा ठूलो पश्चताप गरे । उनले आफ्नो आम्दानीको ठूलो हिस्सा विश्व शान्ति कायम गर्नका लागि जम्मा गरे । त्यही कोषबाट शान्तिका लागि योगदान पुर्याउनेलाई हेरक बर्ष ठूलो राशीको पुरस्कार दिइन्छ । जसलाई नोवल शान्ति पुरस्कार भन्ने गरिएको छ । हामी हरेक नागरिकले नोवेल शान्ति पुरस्कार पाउने कोसिस गरेका दिन पृथ्वी स्वर्ग तुल्य हुन्छ । नराम्रो काम त जसले पनि गर्छ नि, सिकाउँनै पर्दैन, राम्रो काम गर्ने पो मान्छे हो त । पशु र मान्छेवीचको भेद भनेकै विवेक हो । मान्छे सँग विवेक हुन्छ , पशु सँग हुँदैन । विश्व कता जाँदैछ ? हामी कहाँ निर चुकेका छौं ? भन्ने तर्फ प्रत्येकले गम्भीर चिन्तन गर्नुपर्ने आवश्यकता देखियो ।
हामीले हाम्रा सन्ततीलाई गलत बाटो देखाएका छौं । गलत पाठशालामा पढाएका छौं । जसका कारण आफूलाई जन्मदिने बाबुआमालाई चिन्न छाडिसकेका छन् । आफु भन्दा ठूलालाई आदर गर्न छाडिसकेका छन् । आफ्नो भाषा, धर्म संस्कृति, सामाजिक रितिरिवाजबारे अनभिज्ञ छन् । एक हिसावले रोवट जस्ता भइसके । रोवट सँग बिवेक हुँदैन, मानवता हुँदैन, आत्मा पनि हुँदैन । उसलाई समाज पनि चाहिँदैन । सभ्यता भनेको के हो ? संस्कार भनेको के हो ? केही पनि थाहा हुँदैन । हेर्दा मात्रै मान्छे जस्तै देखिन्छ तर मानवता बचाउने, मानव सभ्यता विकास गर्ने कुरा उसलाई थाहा हुँदैन । किनकी उसलाई औजार चलाउन, मेसिन चलाउन मात्रै सिकाइएको हुन्छ । शिक्षा भनेको त ज्ञान पो हो त । तर हामीले आफ्ना सन्ततीलाई ज्ञानी होइन रोवर्ट बनायौं ।
यस्तो शिक्षा पद्धती भन्दा हाम्रो मौलिक शिक्षा पद्धति गुरुकुल नै धेरै गुणा उत्तम हो । अब हाम्रा नीति निर्माता तथा चिन्तकहले त्यता तर्फ सोच्ने हो कि ? हुँदा हुँदा अब त गुरु नै आवश्यक नपर्ने अबस्था विज्ञान प्रविधिले ल्याइदिएको छ । इन्टरनेटमा जे खोज्यो त्यही छ । सबै इन्टरनेटमा भर पर्न थाले । इन्टरनेट पद्धति जुन बेला ध्वस्त हुन्छ त्यो बेला सबैथोक ध्वस्त हुने खतरा बढेको छ ।
(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)