पश्चिम दाङका दुई खोलामा स्वाइल टेष्ट

| 2023 Oct 12 | 10:19 am 1529

तुलसीपुर, असोज २२ । पश्चिम दाङका दुई खोलामा पुल निर्माणकालागि स्वाईल टेष्ट गरिएको छ । गहतेखोला–हापुरे सडक खण्ड अन्तर्गत पातेटाकुरा खोला र दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत ट्वाङखोलामा पुल निर्माणकालागि स्वाइल टेष्ट (माटो परीक्षण) गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले चालु बर्ष २०८०/०८१ का लागि पश्चिमका बिभिन्न ९ वटा खोलामा पुल निर्माणका लागि बजेट बिनियोजन गरेका छन्  । सोही अन्तर्गत निर्माणकालागि प्रक्रिया अघि बढिरहेको छ ।

सडक पूर्वाधार विकास कार्यालय दाङले उक्त खोलामा स्वाइल टेष्ट गरेको हो । स्वाइल टेष्ट गर्ने जिम्मा पाएको अग्नी बोरिङ स्वायल टेष्टका प्रतिनिधि कमल दाहालका अनुसार दुईवटा खोलामा स्वाईल टेष्ट भइसकेको छ ।

यी दुबै खोलामा सर्वे पनि भइसकेका छन् । पश्चिम दाङका बिभिन्न खोलामा ९ वटा पुलकालागि बजेट परेको छ । अन्य खोलामा पानीको वहाव कम हुने वित्तिकै सर्वे हुने इञ्जिनियर शुसिल अधिकारीले बताए । उनका अनुसार दशै तिहारको समयमा अन्य खोलामा पनि सर्वे र स्वाइल टेष्ट हुन्छ ।‘ अर्थ मन्त्रीज्यूले जति सक्यो छिटो काम अघि बढाउने भन्नु भएको छ’, इन्जिनियर अधिकारीले भने‘सोही अनुसार हामीले काम गरिरहेका छौं ।’

मन्त्री मास्कीले रिम खोलीमा बेलीवृज पुलकालागि ५० लाख, तिनतलेमा बेलिबृज पुल निर्माणकालागि ५० लाख भांगावारीमा बेलिबृजकालागि ५० लाख बजेट छुट्याएको मन्त्री मास्कीले बताए । त्यस्तै  तुलसीपुर देखि हापुर जोड्ने सडक अन्तर्गत पर्ने तुलसीपुर १ भमके खोलमा पुल निर्माणकालागि १ करोड, शान्तिनगर ३ पातेटाकुरा खोलामा पुल निर्माणकालागि ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणकालागि १ करोड,  बबई गाउँपालिका अन्तर्गत राजीखरे खोलामा पुल निर्माणकालागि ७५ लाख बजेट परेको छ । त्यस्तै ट्वाङखोलामा डिपीआरसहित पक्की पुल निर्माणकालागि १ करोड ५० लाख,पुरन्धारा हुँदै मलै जाने सडकको बबई नदीमा पुल निर्माणकालागि डीपीआर गर्न १५ लाख तथा बकरीया सरुवाडाँडा गोल्टाकुरी कालितारा सडकमा पुल निर्माणकालागि १ करोड २५ लाख बजेट परेको अर्थमन्त्री मास्कीले बताए ।

यी खोलामा पुल नहुँदा बर्षादको समयमा आवतजावतमा निकै समस्या हुने गरेको थियो । खोलामा पानीको बहाब बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो भने सवारी नै बगाउनेसम्मका समस्या नागरिकले भोग्दै आएका थिए । तर, अब ति खोलामा पुल बनेपछि ति समस्या हटेर जाने नागरिकले अपेक्षा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.