निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगले बाेलायाे

रिपोर्ट नेपाल | 2025 Oct 08 | 04:53 pm 473

असोज २२ काठमाडौँ – निर्वाचन आयोगले फागुन २१ मा तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा छलफल गर्न दलहरूलाई बोलाएको छ ।

निर्वाचनको मिति घोषणा गरेर कार्यतालिका सार्वजनिक गर्दा समेत दलहरुलाई छलफलका लागि नबोलाएको भन्दै सरकार र निर्वाचन आयोगको आलोचना भइरहेको थियो ।

आयोगका सचिव महादेव पन्थले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा छलफलका लागि दलहरूलाई आयोगमा आमन्त्रणा गरिएको बताए । आयोगले बुधबार २९ राजनीतिक दललाई पत्राचार गरेको छ । १ सय २२ दल आयोगमा दर्ता छन् ।

सबै दललाई एकै पटक बोलाएर छलफल गर्न असुविधा हुनसक्ने भन्दै आयोगले पहिलो चरणमा विघटित प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरूलाई बोलाएको हो । स्थानीय तहमा वडा सदस्यमा पनि प्रतिनिधित्व गराएका दलहरूको पहिचान गरी छलफलमा बोलाइएको छ ।

२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । त्यस्तै, राष्ट्रिय सभामा रिक्त हुने सदस्यहरुका लाग २० माघमा चुनाव हुने कार्यसूची छ । २० फागुनमा राष्ट्रिय सभामा १९ सदस्यको कार्यकाल पूरा हुँदैछ । निर्वाचन कानुनअनुसार पदावधि सकिनुभन्दा एक महिना अगावै राष्ट्रिय सभा सदस्यको निर्वाचन गरिनुपर्छ ।

आयोगले प्रतिनिधिसभा, राष्ट्रिय सभा चुनाव र विविध शीर्षकमा छलफलको एजेन्डा दिएर दलहरूलाई बोलाएको हो । २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनपछि २७ भदौमा प्रतिनिधिसभाको विघटन गरिएर २१ फागुनमा नयाँ चुनावको घोषणा गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.