नयाँ आईजीपीलाई प्रहरीको मनोबल उठाउने चुनौती

| 2025 Nov 11 | 07:41 am 1117

कार्तिक २५ काठमाडौँ / नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत एआईजी कार्कीलाई आईजीपी बनाइएको हो । उनले २७ कात्तिकबाट पद सम्हाल्नेछन् । ३० वर्षे सेवा अवधिका कारण उनी २९ महिनापछि अवकाश हुनेछन् ।

कार्की संगठनको ३३ औं आईजीपी हुन् । उनीसहित एआईजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह आईजीपीको प्रतिस्पर्धामा थिए । कार्की, अधिकारी र केसी १५ वैशाख २०८२ मा डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । शाह गत जेठमा एआईजीमा बढुवा भएका थिए । उनीहरूमध्ये वरीयतामा पहिलो नम्बरमा रहेका कार्कीलाई आईजीपीमा बढुवा गरिएको हो ।

हालका आईजीपी चन्द्रकुवेर खापुङको कार्यकाल ३० वर्षे सेवा अवधिका कारण बुधबार सकिँदै छ । गत १९ भदौमा मात्रै प्रहरी नेतृत्वमा आएका खापुङले ६९ दिन मात्रै नेतृत्वमा रहेर अवकाश पाउन लागेका हुन् ।

नवनियुक्त आईजीपी कार्की १८ चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । त्यसपछि डीएसपी, एसपी, एसएसपी, डीआईजी र एआईजी रहँदा इलाका प्रहरी, जिल्ला प्रहरी, प्रदेश, मानवस्रोत विकास विभाग र हाल उपत्यका प्रहरी प्रमुखका रूपमा नेतृत्व गरिसकेका छन् । उनीसँग प्रहरी प्रवक्ता, महानिरीक्षकको सचिवालय तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत विभिन्न देशमा रहेर काम गरेको अनुभव छ ।

सन् २००२ देखि २००४ सम्म पूर्वी टिमोरमा नीति तथा योजना तर्जुमासम्बन्धी निर्देशक र २००६ देखि २००८ सम्म हाइटीमा शान्ति मिसनअन्तर्गतकै ‘इन्डक्सन ट्रेनिङ टिम लिडर’ का रूपमा जिम्मेवारी निर्वाह गरेका कार्की प्रहरीमा अपराध अनुसन्धान, शान्तिसुरक्षा, प्रशिक्षण, आन्तरिक प्रशासनजस्ता काममा अब्बल मानिन्छन् ।

उनी काठमाडौं प्रहरी प्रमुख रहेकै बखत बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरी मुद्दा अदालतसम्म पुगेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं परिसरको समन्वयमा यो प्रकरणको अनुसन्धान भएर पूर्वउपप्रधानमन्त्री र मन्त्रीसहित हाइप्रोफाइल प्रतिवादीविरुद्ध मुद्दा दायर भएको थियो ।

कार्कीमाथि गत २४ भदौको प्रदर्शनका कारण गिरेको प्रहरीको सकल दर्जाको मनोबल उठाउने चुनौती हुनेछ । उक्त प्रदर्शनमा प्रहरीका साढे ४ सय ब्यारेक तथा कार्यालयमा तोडफोड र आगजनी भएको थियो । १२ सयभन्दा बढी हतियार लुटिएका थिए । ३ प्रहरीसहित ७६ जनाले ज्यान गुमाएका थिए । आजको कान्तिपुर दैनिक बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.