डेढ महिनादेखि निमित्तको भरमा त्रिवि

| 2023 Dec 27 | 07:56 am 961

काठमाडौँ, पुष ११ / सरकारले उपकुलपति, रेक्टर र रजिस्ट्रार नियुक्तिमा ढिलाइ गर्दा त्रिभुवन विश्वविद्यालय निमित्त पदाधिकारीको भरमा सञ्चालन हुने अवस्थामा पुगेको छ । डेढ महिनादेखि उपकुलपति र रेक्टरविहीन विश्वविद्यालयमा सोमबारदेखि रजिस्ट्रार पद पनि रिक्त भएको हो । दैनिक कामकाज चलाउन यी पदमा निमित्त तोकिएका छन् । त्रिवि सेवा आयोगको सदस्य पद पनि एक महिनादेखि रिक्त हुँदा आयोग पनि निष्प्रभावी बनेको छ ।

डेढ महिनादेखि निमित्तको भरमा त्रिवि

तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल गत कात्तिक १६ मा सकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षामन्त्री अशोककुमार राईले उपकुलपति नियुक्तिको सट्टा कात्तिक १७ मा रेक्टर शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिए । भुसाल कात्तिक १९ मा ३ महिने उपकुलपतिमा पदबहाल भएपछि रेक्टर पद पनि रिक्त छ । कुलपतिसमेत रहेका दाहालले रेक्टरलाई ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् । सहकुलपति तथा शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिको सिफारिसका आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था त्रिवि ऐनमा छ ।

रेक्टर पद रिक्त भएपछि कृषि संकायका डिन भार्गव धिताललाई निमित्तको जिम्मेवारी दिइएको त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले जनाए । ‘रेक्टरले पूर्ण रूपमा उपकुलपतिको कार्यभार लिनुभएको छ,’ उनले भने, ‘रजिस्ट्रार पद पनि रिक्त छ । डिनहरूमध्येबाट एक जनालाई निमित्त दिने तयारी छ ।’ रजिस्ट्रार पेशल दाहाल ४ वर्षे कार्यकाल पूरा गरेर सोमबार बिदा भएका हुन् । सेवा आयोगका सदस्य हेमराज ढकालको कार्यकाल मंसिर पहिलो साता सकिएको थियो ।

ऐनको व्यवस्थाअनुसार शिक्षामन्त्री राईको संयोजकत्वमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य चन्द्रकला घिमिरे सदस्य रहेको उपकुलपति सिफारिस समिति गठन भएको छ । प्रधानमन्त्री दाहालले कात्तिक २० मा सिफारिस समिति गठन गरे पनि हालसम्म उपकुलपति छनोट र सिफारिसको प्रक्रिया सुरु भएको छैन । प्रतिस्पर्धामा उपकुलपति छनोटका लागि कार्यविधि तयार पारिएको अधिकारीले बताए । ‘उम्मेदवारको योग्यता तोक्ने, आवेदन माग गर्ने, छनोटको मापदण्ड निर्धारण गर्ने, कार्ययोजनासहित मूल्यांकन गर्ने गरी कार्यविधि बनेको छ,’ उनले भने, ‘भागबन्डाभन्दा पनि प्रतिस्पर्धाका आधारमा यस पटक नियुक्त गर्न लागिएको छ ।’ समिति गठनपछि शिक्षामन्त्री राई स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना भएका कारण पनि केही ढिलाइ हुन पुगेको शिक्षा मन्त्रालयले जनाएको छ ।

पूर्णकालीन उपकुलपति, रेक्टर नभए पनि त्रिविले यही पुस २ मा ४९ औं दीक्षान्त समारोह गरेको थियो । समारोहको अध्यक्षता गरेका प्रधानमन्त्री दाहालले भागबन्डा अन्त्य गरी प्रतिस्पर्धाका आधारमा उपकुलपति चयन गरिने वाचा गरेका थिए । ‘विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिहरूमा भागबन्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारी नियुक्त गरिन्छ । त्यसका लागि देशभित्र र विश्वभरि रहेका विज्ञ नेपालीलाई विशेष आह्वान पनि गर्छु । राजनीतिक दलहरूलाई त्रिविमा भागबन्डा होइन, मेरिटका आधारमा नियुक्तिका लागि अग्रसर हुन अपिल गर्छु,’ उनले भनेका थिए ।

प्रधानमन्त्री दाहालले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वविद्यालयमा राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता दोहोर्‍याए । ‘विश्वविद्यालय सुधार्न राजनीतिक भागबन्डा हुनेछैन । अब विश्वविद्यालयमा इमानदार र मेरिटोक्रेसीलाई ध्यान दिइनेछ । यसको सुरुवात त्रिभुवन विश्वविद्यालयबाटै गरिनेछ,’ उनले भने । शिक्षाको गुणस्तर सुधार्न बहुआयामिक कदम चाल्ने बताउँदै उनले विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउन नदिने घोषणा गरे ।

उनले त्यस्तो प्रतिबद्धता गरे पनि सत्तारूढ कांग्रेस र माओवादीसँग निकट रहेका प्राध्यापकहरू उपकुलपतिलगायत पदाधिकारी बन्ने दौडमा छन् । कांग्रेस निकट पूर्वउपकुलपति तीर्थ खनियाँ, पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने उपकुलपतिको प्रतिस्पर्धामा रहेको चर्चा छ । अर्कोतर्फ यस पटक कांग्रेस निकट पहुँचवाला प्राध्यापकको रुचि उपकुलपतिभन्दा रजिस्ट्रारतर्फ देखिएकाले माओवादी निकटबाट उपकुलपति बन्ने अड्कल पनि प्राध्यापकहरू गर्छन् । माओवादीले निमित्त उपकुलपति भुसाललाई नै निरन्तरता दिन सक्ने अनुमान पनि गरिएको छ । खुला विश्वविद्यालयका पूर्वउपकुलपति लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल पनि माओवादी कोटामा उपकुलपति बन्न सक्ने चर्चामा छन् ।

‘कांग्रेसले उपकुलपति पाउँदा माओवादीबाट रजिस्ट्रार र माओवादी कोटाबाट उपकुलपति बन्दा कांग्रेसबाट रजिस्ट्रार बन्ने छुट्टाछुट्टै मेनुमा राजनीतिक तहमा लबिइङ भइरहेको छ,’ एक प्राध्यापकले भने, ‘उपकुलपतिको दौडमा हुने आफू अनुकूल रजिस्ट्रार र रजिस्ट्रारको आकांक्षीले त्यसअनुसार उपकुलपतिका लागि भनसुन गर्दै आएका छन् ।’ कतिपयले संकटग्रस्त त्रिविको सुदृढीकरणका लागि चिकित्सक भगवान कोइरालालाई उपकुलपति बनाउनुपर्ने पनि बताउँदै आएका छन् ।

यसअघि कोइराला पनि उपकुलपतिका लागि सिफारिसमा परेका थिए तर प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई नियुक्ति दिएका थिए । उपकुलपति र रजिस्ट्रार कांग्रेस, माओवादीबीच भागबन्डा हुँदा सेवा आयोग सदस्य र रेक्टरमध्ये एक/एक एकीकृत समाजवादी र जनता समाजवादी पार्टी निकट प्राध्यापकले पाउने अनुमान प्राध्यापकहरूले गरेका छन् । कान्तिपुर दैनिक बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.