घरको जग खन्ने क्रममा ढिस्कोले पुरिँदा इलाममा चार भारतीयको मृत्यु

| 2023 May 05 | 08:59 pm 1357

इलाम, बैशाख २२: घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सूर्योदय नगरपालिका-१० वरबोटेमा चार जना भारतीय कामदारको मृत्यु भएको छ।

बरबोटे छिपिटार रिङ रोड नजिक विनोद श्रेष्ठको घर बनाउने क्रममा शुक्रबार अपराह्न पौन ५ बजे ढिस्को खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा भारतको बिहार राज्यस्थित किसनगन्ज जिल्ला दिगलबैंक-५ का तोसिब आलम, अजिमोदिन, मुजाफर आलम र अब्दुल आलमको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्स्पेक्टर सन्तोष राईले जानकारी दिए।

चारै कामदार अन्दाजी १८ देखि २२ वर्ष उमेरका छन्। उनीहरूको शव पोस्टमार्टमका लागि फिक्कल अस्पताल लगिएको छ। घर बनाउनका लागि सात जना आएको मृतकका साथीले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.