काठमाडौँ ०९ असार / नेपाली कांग्रेसका महामन्त्री प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘जीबी राईको लोकेसन पत्ता लागिसक्यो’ भनेर दिएको अभिव्यक्तिको औचित्यप्रति आशंका व्यक्ति गरेका छन् ।
शर्माले भने, ‘लोकेसन पत्ता लागिसक्यो भनेको जीबी राईलाई भगाउनलाई हो ? माइकबाट फुकेर लोकेसन पत्ता लागिसक्यो भनेर स्टन्डबाजी गर्ने ? कि सरकार चाँडै नै जीबी राईलाई हाजिर गराउँदैछ प्रश्न गरे ?’
महामन्त्री शर्माले मलेसियाका गृहमन्त्रीले नेपालका गृहमन्त्रीसँग कुरा गरेको भनेर गोपनीयता नखोलेको तर नेपालका गृहमन्त्री लामिछानेले भने गोपनीयता खोलेको बताए । ‘हाम्रा गृहमन्त्रीले राजपत्रमा छाप्नबाहेक मिडियामा बिस्कुन लगाउनुहुन्छ’ उनले भने ।
गृहमन्त्री लामिछानेले सुपर्दगी सन्धी नभएकाले राईलाई मलेसियाबाट ल्याउन कठिन भएको बताएका थिए । तर शर्माले भने मलेसियाको कानुन अनुसार प्रक्रिया पुर्याउन ल्याउन सकिने दाबी गरे । लोकेसन पत्ता लागिसकेको भए चार दिन बित्दासमेत किन पक्राउ नगरेको महामन्त्री शर्माले प्रश्न थियो ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले गत बिहीबार सहकारी ठगीको आरोप लागेका र अहिले फरार रहेका जीबी राई मलेसियामा रहेको र उनको लोकेसन पत्ता लागिसकेको बताएका थिए ।