क्यानडामा गुन्जियो नेपथ्य

| 2023 Oct 07 | 07:33 am 1833

काठमाडौं । लोकपप ब्यान्ड नेपथ्यले क्यानडामा पहिलोपटक कन्सर्ट सुरु गरेको छ । अल्बर्टा राज्यको प्यालेस थिएटरमा आफ्नो प्रस्तुति दिँदै नेपथ्यले आइतबारबाट क्यानडामा कन्सर्ट सुरु गरेको हो । यस्तै दोस्रो कन्सर्ट बुधबार भ्यानकुभर सहरको ‘दी भोग थिएटर’मा नेपथ्यले सम्पन्न गरेको छ । साँझ ७ बजेबाट सो हलमा सुरु भएको पहिलो कन्सर्टमा नेपथ्यले पहिलो प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत ग¥यो । त्यसपछि सो कन्सर्टमा ‘भेंडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ ‘सा कर्णाली’ र ‘खान्न म त लामपाते सुरती’लगायतका गीतहरू प्रस्तुत गरेको गायक अमृत गुरुङले बताएका छन् ।

त्यसपछि  कार्यक्रममा गायिका मीना निरौलाले ‘ठमेल बजार’ र ‘काले दाइ’जस्ता गीतहरू सुनाएर दर्शकलाई नचाइन् ।

गायक अमृतका अनुसार त्यसपछि उनले ‘चरी मर्यो’, ‘जोमसोमे बजार’, ‘शिरफूल’ र लाहुरेहरूले ल्याएको ‘नैनाताल’जस्ता गीतहरू सुनाउँदै दर्शकलाई निरन्तर नचाए, ‘तपाईंहरूले विदेशमा कमाएको सिप, पैसा अनि तपाईंहरूको मेहेनतबाट मातृभूमि नेपाल पनि लाभान्वित हुनुपर्छ,’ सदा झैं गीतका बिचमा सन्देशसमेत दिंदै गायक अमृतले भनेका थिए, ‘नेपालमा सडक आश्रितको आवाजलाई साथ दिने र समाजमा मानवता प्रवर्दनको अभिप्रायले गएको वर्षदेखि नेपथ्यले ‘मानवताका लागि संगीत’ अभियानलाई अघि बढाउँदै आइरहेको छ ।’

कन्सर्टको अन्त्यतिर भने सदाझैँ सर्वकालीक हिट ‘रेशम’, ‘तालको पानी’ र अन्त्यमा राष्ट्रिय झन्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसूर्य’ सुनाइएको थियो । अमृतले क्यानाडाको यो शृंखलाबद्ध भ्रमण पनि सो उद्देश्यमा समर्पित समभाव बोकेको मानवसेवा आश्रमको कामप्रति समर्पित रहेको जानकारी दिए ।

कन्सर्टमा अमृतलाई सदैव झैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । अमृतका अनुसार यो कन्सर्टमा क्यालगरी मात्र नभई अल्बर्टा राज्यकै एडमन्टन, लेथब्रिज, मेडिसिन ह्याट, ओकोटोक्स, क्यानमोर र ग्रेटनभ्यालीलगायतका सहर र बस्तीदेखि नेपथ्यको गीत सुन्न कार्यक्रममा नेपालीहरू आएका थिए । अब नेपथ्यको तेस्रो अर्थात् क्यानडाका लागि यसपटकको अन्तिम सो ८ अक्टोबरमा पूर्ववर्ती व्यापारिक सहर टोरन्टोस्थित क्यानाडाकै विख्यात सभागृह ‘म्यासी हल’मा हुने भएको छ ।

( राजधानीबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.