कोरोना कहर, पूर्वाधार निर्माणको अबसर

| 2020 Jul 11 | 08:07 am 1849

  • शकुन्तला आचार्य

सन् २०२० मा धेरै देशहरुको आर्थिक बृद्धिदर ऋणात्मक हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । तर नेपाल त्यसको अपवाद बनेको छ । चालु आर्थिक वर्षको वजेट पेश गर्ने क्रममा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वृद्धिदर ६ प्रतिशतबाट खुम्चेर २ प्रतिशतमा झर्ने अनुमान गरेका थिए । विश्वबैंकले भने १ प्रतिशतको हाराहारीमा रहने अनुमान गरेको छ । विश्वका अधिकांश विकसित मुलुकहरुको आर्थिक वृद्धिदर ऋणात्मक भइरहेका बेला नेपालले एक प्रतिशतवृद्धिदर हासिल गर्यो भने पनि त्यसलाई निराशाजनक मान्नु हुन्न ।

कोरोना भाइरसको महामारी दिन प्रतिदिन बढिरहेको र नियन्त्रणको कुनै लक्षण नदेखिएको अवस्थामा अहिले नै आर्थिक वृद्धिदरको प्रक्षेपण गर्नु हतार हुनेछ । यो संक्रमण कहाँ सम्म पुग्छ ? यसले कति सम्म क्षति पुर्याउँछ ? अहिले नै यसै भन्न मिल्ने अवस्था छैन । जबसम्म कोरोनाको औषधी तथा खोप पत्ता लाग्दैन वा जबसम्म प्राकृतिक रुपमा नै कोरोना नियन्त्रणमा आउँदैन तब सम्म विश्व अर्थतन्त्र ओरालो लागिरहने निश्चित जस्तै छ, तर ओरालोको गती कति हुने ? भन्ने कुरा संवन्धित मुलुकहरुको व्यवस्थापनमा भर पर्छ । उदाहरणका लागि कोरोनाको उद्गम मुलुक चीनले कुसल व्यवस्थापकीय क्षमता अपनाएर आफ्नो अर्थतन्त्रलाई ध्वस्त हुन दिएको छैन । विश्वका अरु मुलुकहरुको तुलनामा चीनको आर्थिक वृद्धिदर सन्तोषजनक नै छ ।

कोरोनाको यो महामारीले विश्व अर्थतन्त्रमा एउटा गतिलो पाठ सिकाएको छ । त्यो हो–‘जुन मुलुकमा आम्दानीको स्रोतमा विविधता छ, ती मुलुकहरुको अर्थतन्त्रको जोखिम कम देखिएको छ । जुन मुलुकको आम्दानीको स्रोतमा विविधता छैन ति मुलुकहरु चुर्लुम्म डुवेका छन् । उदाहरणका लागि खाडी राष्ट्रहरुलाई लिन सकिन्छ । ती राष्ट्रहरुको आम्दानीको ९० प्रतिशत भन्दा ठूलो स्रोत पेट्रिलियम पदार्थको विक्रि हो, तर यतिबेला पेट्रोलियम पदार्थको मुल्य ऋणात्मक हुन पुगेको छ । यसै गरी पर्यटनमा भर पर्ने मुलुकहरु, अत्यावश्यकीय समान बाहेक अरु सामन उत्पादन गर्ने मुलुकहरु, बैदेशिक रोजगारीमा भर परेका मुलुकहरुको अर्थतन्त्र डामाडोल हुने अवस्थामा छ ।

हामीलाई मुख्य चासो भनेको आफ्नै मुलुकको अर्थतन्त्रका विषयमा हो । जुन मलुकको कुल ग्राहस्थ उत्पादनमा बैदेशिक रोजगारीको हिस्सा २० प्रतिशत भन्दा बढी छ त्यो मुलुकको अर्थतन्त्र अब संकटमा पर्ने प्रक्षेपण विश्वबैंकले गरेको छ । त्यसैले नेपालको अर्थतन्त्र संकटमा पर्ने निश्चित छ । किनकी नेपालको कुल ग्राहस्थ उत्पादनमा बैदेशिक रोजगारीको योगदान करिव ३० प्रतिशत छ । यसै गरी हाम्रो अर्थतन्त्रमा पर्यटन व्यवसायको योगदान प्रत्यक्ष र अप्रत्यक्ष गरी ५ प्रतिशतको हाराहारीमा छ । अब केही वर्ष पर्यटन व्यवसाय समाप्त हुने निश्चित जस्तै छ । पहिलो कुरा त कोरोनाका कारण हामी विदेशी पर्यटकलाई निमन्त्रणा गर्न सक्ने अवस्थामा छैनौ, गरे पनि उनीहरु कोरोना संक्रमण अवधिभर आउँदैनन् । यसैगरी कोराना संक्रमण सकिएपछि पनि उनीहरुलाई केही वर्ष आर्थिक उपार्जनकै लागि विताउनु पर्नेछ, किनकी घुम्नका लागि रकम जुटाउनु पर्ने हुन्छ । हामी कहाँ आउने विदेशी पर्यटक भनेका अधिकांश श्रमजीविहरु नै हुन् । यतिबेला श्रमजीविहरुको रोजगारी कटौती भएको छ ।

यसैगरी हाम्रो अर्थतन्त्रमा यातायातको क्षेत्रले पनि ठूलो योगदान पुरयाएको छ । करिव १५ लाखलाई प्रत्यक्ष रोजगारी दिएको अनुमान गरिएको छ । विगत चार महिनादेखि ठप्प रहेको यातायातको क्षेत्र कहिले सुचारु हुने हो ? त्यसको टुंगो छैन । यातायात मजदुरहरु बेरोजगार बनेका छन् ।  हाम्रो अर्थतन्त्र तथा राज्यको आम्दानीको मेरुदण्ड भनेको बस्तु आयत पनि हो । बस्तु आयतबाट प्राप्त हुने भन्सार तथा मुल्यअभिवृद्धि करको हिस्सा हाम्रो मुलुकको राजश्वमा करिव ५० प्रतिशतको हाराहारीमा छ । राज्यलाई प्राप्त हुने यो आम्दानी यतिबेला सुकेको छ । बस्तु आयतपछि आन्तरिक ढुवानी, थोक विक्रेता, खुद्रा विक्रेता हुँदै उपभोक्ता सम्म पुग्ने क्रममा धेरैले रोजगारी पाएका हुन्छन् । यस क्रममा अर्थतन्त्र धेरै पटक चलायमान भइरहेको हुन्छ । तर अहिले यो गति पनि ठप्प छ ।

यसैगरी पछिल्लो समय मुलुकमा सन्तोषजनक विकास भएको बैंक तथा वित्तीय क्षेत्रको हो । केही वर्ष अघिसम्म बैंकहरु मुख्य शहर तथा जिल्ला सदरमुकाम भन्दा बाहिर जान सकेका थिएनन् । बैंकबाट कर्जा पाउन त परै जाओस, आफुसँग भएको रकम राख्न र झिक्नका लागि पनि ठूलो पापड बेल्नु पर्ने अवस्था थियो, तर छोटे अवधीमै मुलुकमा धेरै बैंक तथा वित्तीय संस्थाहरु खुले । गाउँ–गाउँमा र टोलटोलमा पुगेर सेवा दिने होडवाजी चल्यो । मुलुकका ७ सय ५३ ओटै पालिकामा बैकिंङ सुविधा पुगेको छ । ऋण लिनका लागि सोर्सफोर्स लगाउनु पर्दैन । बैंकहरु ऋण चाहियो की ? भनेर सोध्दै घरघरमा आउन थालिसकेका थिए । यो अवस्था भनेको कुनै पनि मुलुकको अर्थतन्त्रका लागि स्वर्ण युग हो । यो स्वर्ण युग नेपालमा भरखर सुरु भएको थियो । तर कोरोनाले थल पारिदिएको छ । यतिबेला मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरुको हालत धेरै खराव छ । लक डाउनका कारण मानिसहरुले खर्च तथा लगानी गर्ने ठाउँ पाएका छैनन् । आँफूसँग भएको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेका छन् । यस वापत बैंकहरुले ठूलो परिमाणमा व्याज तिर्नु परिरेहको छ । तर जम्मा भएको निक्षेप लगानी गर्न बैंकहरुले सकेका छैनन् । अब ब्याज केले तिर्ने ? बैंकहका लागि ठूलो समस्या उत्पन्न भएको छ । केही बैंकहरुले कर्जाको व्याजदर ह्वात्तै घटाउँदै विज्ञापन गर्न थालेका छन् । निक्षेपको व्याज भन्दा पाँच प्रतिशतसम्म बढी व्याज लिएर विगतमा कर्जा प्रदान भइरहेको थियो । यस्तो चर्को व्याजको कर्जा लिन पनि हारालुछ हुन्थ्यो, तर अहिले निक्षेपको भन्दा एक दुई प्रतिशत मात्रै बढी व्याज लिएर कर्जा प्रवाह गर्न खोज्दा पनि कसैले वास्ता नगरेको बैंकर्सहरुको गुनासो छ ।

कर्जा तथा निक्षेपको व्याजदर ठूलो परिमाणमा घटेको मात्रै छैन, फलाम, सिमेन्ट जस्ता निर्माण समाग्रीको मुल्य उल्लेख्य रुपमा घटेको छ, अर्थात १० वर्ष अघिको भन्दा अहिले करिव २० प्रतिशत कम मुल्यमा फलाम सिमेन्ट उपलव्ध हुन थालेको छ । अर्कातिर मुलुकको श्रम शक्ति बेरोजगार भइरहेको छ । यस्तो अवस्थामा सरकारले मुलुकको श्रम शक्तिलाई पूर्वाधार निर्माणको काममा लगाउने वातावरण बनाउन कत्ति पनि ढिला गर्नु हुन्न । सरकारले उचित व्यवस्थापन गर्न जान्ने हो भने कोरोनाको कहर मुलुकका लागि पूर्वाधार निर्माणको अवशर पनि हुनसक्छ । अन्य क्षेत्रमा कटौती भएको रोजगारी पुर्वाधार निर्माण तथा कृषिको क्षेत्रमा लगाउने हो भने मुलुकको आर्थिक वृद्धिदर विश्वबैंकले प्रक्षेपण गरे भन्दा माथि हुनसक्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.