कर पुराण

रिपोर्ट नेपाल | 2018 Aug 27 | 02:37 pm 3796

नेपालको ढुकुटी रित्तिएकाले यो सरकार ढुकुटी भर्नतिर लागेको छ । त्यसका लागि कर सम्बन्धी नयाँ र रोचक व्यवस्था गरेको छ । सरकारले पत्याउनै कठिन हुने करसम्बन्धी नयाँ व्यवस्था गरेकाले अब नेपाल सरकारलाई नेपाल सर कर भनेर सम्बोधन गरे पनि हुनेछ । अब निम्नानुसारको कर तिर्नुपर्नेछ ।

आमागर्भवती भएपछि नै पेटभित्र रहेकोले बच्चाले कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तो अवस्थाले हरेक व्यक्ति करको दायरामा आउने सुनिश्चितता भएको छ । नवजात शिशुसहितका बच्चाहरु धेरै रोएमा ध्वनी प्रदूषण बढ्ने भएकाले धेरै रुनेहरुले रोएको समयको १० प्रतिशतको हिसाबले ध्वनी कर तिर्नुपर्नेछ ।

विद्यालयले दिएको गृहकार्य नगर्ने विद्यार्थीले सजाय कर तिर्नुपर्नेछ । २ वा धेरै विषयको गृहकार्य नर्गेले यो कर मासिकरुपमा एकमुष्ट रुपमा तिर्न सक्नेछन् । कक्षामा धेरै हल्ला गर्ने विद्यार्थीले पनि माथि उल्लेख भएअनुसारको ध्वनी कर तिर्नुपर्नेछ ।

यो सरकारले सामाजिक सञ्जाल फेसबुबलाई पनि करको दायरामा ल्याएको छ । अब फेसबुकमा हालेको फोटो वा स्ट्याटसमा आउने लाइक र कमेन्टको आधारमा फेसबुक लोकप्रियता कर तिर्नुपर्नेछ । आफूले महिनाभरी हालेको फोटो र स्ट्याटसमा आएको कमेन्टलाई गणना गर्दा सर्वाधिक लाइक वा कमेन्ट आएको फोटो वा स्ट्याटसमा मात्र कर तिर्नुपर्नेछ । ५ सय भन्दा कम लाइक वा कमेन्ट आएको फोटो र स्ट्याटसमा कर छुट गरिएको छ ।

रोजगारमा रहेका हरेक व्यक्तिले बैंक खाताबाट तलब लिनुर्पे व्यवस्था गरिएको छ । तलब लिएर महिनाभरि आफूले चाहेको शीर्षकमा खर्च गरी बाँकी रहेको पैसामा बचत कर तिर्नुपर्नेछ ।

पहिलोपटक चुनाव चिन्हको आधारमा कर उठाउन सकिने व्यवस्था गरिएको छ । जसअनुसार घाम पार्टी सरकारमा रहेकाले घाम तापेको हर तिर्नुपनर्छे । त्यस्तै रुख पार्टीले छहारी कर, छाता पार्टीले छाता ओढेको कर, तराजु पार्टीले सामानजोख्दाको कर उठाउन सक्नेछन् ।

कसैले आन्दोलनको क्रममा मसाल बालेको खण्डमा मसाल पार्टीले कर उठाउन सक्नेछ । सरकारमा रहेका पार्टी बाहेक अन्य पार्टीले यस कर बाट गरेको कुल आम्दानीको तोकिएको प्रतिशतले सरकारलाई कर बुझाउनुपर्नेछ ।

देशका यूवाहरु लामो समयसम्म मोबाइल फोनमा व्यस्त हुने गरेको पाइएकाले यसलाई निरुत्साहित गर्न मोबाइल करको व्यवस्था गरिएको छ । मोबाइलबाट एक पटकमा १० मिनेट भन्दा बढी कुरा गरेमा, दिनमा २० वटा भन्दा बढी म्यासेज गरेमा र सामाजिक सञ्जालमा एक घन्टामा ३० मिनेट भन्दा बढी समयसम्म अनलाइनमा देखाएमा यस्तो कर तिर्नुपर्नेछ ।

यसरी लामो समयसम्म फोन प्रयोग गर्नेमा बेरोजगार यूवाहरु पाइएकोले उनीहरुले रोजगारी खोजुन् भन्ने हेतुले बेरोजगारहरुले कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । रोजगार पाउनासाथ यस्तो कर तिर्नुपर्ने छैन । तर रोजगारबाट आएको तलबमा लाग्ने कर र माथि उल्लेख गरिएको बचत कर भने यथावत् रहनेछ ।

टिभी हेर्दा एक घन्टामा १० पटक भन्दा बढी च्यानल परिवर्तन गरे सोहिअनुसारको
कर तिर्नुपर्नेछ । सडकमा बाटो काट्दा कर तिर्नुपर्ने । यसरी बाटोबाट उठेको करले जेब्राक्रस बनाइनेछ । पैदल हिड्न प्रोत्साहन गर्न साइकलसहितका सवारीमा कर लगाइएको छ ।

सार्वजनिक सवारीले गीत बजाएको कर तिर्नुपर्ने व्यवस्था यसअगाडिदेखि नै रहेकोमा अब गाडिभित्र यात्रा गर्नेहरुले इयर फोन मार्फत गीत सुनेको खण्डमा कर लाग्ने भएको छ । इयरफोन प्रयोग नगरी गीत सुन्दा ठूलो आवाज आई अरुलाई समस्या पर्न गएमा माथि उल्लेखित गरिएअनुसारको ध्वनी कर लाग्नेछ ।

चामलको लागि अर्बै रुपिँया बाहिरिएको हुँदा अब भात खान निरुत्साहित गरिनेछ । बिहान, दिउँसो र बेलुका पनि गरी तीनैपटक भात खाने परिवारलाई कर लाग्नेछ । भात धेरै खानाले रोग बढ्ने भएकाले भातको विकल्पमा पुवा, रोटी, ढिँडोलगाएतलाई अघि सारिएको छ । चटपट र पानी पुरीको व्यवसाय बढ्दो रहेको तर कर नतिर्ने गरेको पाइएकोले अबदेखि पानी पुरी र चटपटमा पनि कर लाग्नेछ । यस्तो कर प्रत्येक प्लेटमा लाग्नेछ ।

अन्त्यमा देशमा तीन तहको सरकार रहेकाले माथि उल्लेखित करहरु तीनवटै सरकारलाई छुटछ्टै रुपमा तिर्नुपर्नेछ । सरकारले व्यवस्था गरेका यी करको सम्बन्धमा कहीँ कतै कुनै पनि विधिबाट विरोध गर्न पाइनेछैन । विरोध गर्नेका लागि शतप्रतिशत बढी कर लाग्नेछ । तोकिएको कर नतिर्नेलाई भने २ सय प्रतिशत जरिवाना कर लाग्नेछ । कामना गाईजात्रा बिशेष

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.