चैत २६ काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई परिवारको जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, ओलीलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाटै परिवारको जिम्मा लगाइएको छ । लेखकलाई महाराजगन्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणबाट परिवारको जिम्मा लगाइएको छ।
सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो।
ओली र लेखकलाई यही चैत १४ गते भक्तपुरस्थित उनीहरूका निवासबाट प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो ।