काठमाडौं, जेठ २०: इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेपछी १५ वटा निजी वायुसेवा सञ्चालकहरूको संगठन (आयोन) ले मंगलबारदेखि लागू हुने गरी बढीमा २ सय २० रुपैयाँसम्म हवाई भाडा बढाउने निर्णय गरेको छ ।
यात्रुको टिकट शुल्कमा फेयर (भाडा), फयुल सर चार्ज (इन्धन शुल्क) र विमानस्थल शुल्क गरी तीनवटा शीर्षक हुन्छन्। यसपटक एयरलाइन्स सञ्चालकहरूले फयुल सर चार्ज अन्तर्गत लिने शुल्कमा वृद्धि गरेका छन्। अहिले भाडा नभई इन्धन शुल्क मात्रै बढाउने निर्णय भएको हो।
निजी एयरलाइन्सले हवाई इन्धनमा कम्तीमा ४ रुपैयाँ प्रतिलिटर हवाई इन्धनको मूल्य थपघट हुँदा फयुल सर चार्ज पुनरावलोकन गर्छन्। उनीहरूले पुनरावलोकन गरेको दरलाई नागरिक उड्डयन प्राधिकरणले सदर गर्नुपर्छ।
संघले यसअघि पुसमा पनि हवाई इन्धनको मूल्य वृद्धि हुँदा फयुल सर चार्ज बढाएको थियो। आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी इन्धनको भाउ बढाएको हो।
मुलुक भर काठमाडौंसहित ३० वटा विमानस्थलमा हवाई सेवा छ। यिनमा नेपाल वायुसेवासहित नौवटा एयरलाइन्सले उडान सञ्चालन गर्छन्। दैनिक सबैभन्दा धेरै उडान हुनेमा काठमाडौं, पोखरा, लुक्ला, सिमरा र विराटनगर पर्छन्।