आजदेखि चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल भ्रमणमा, यस्तो छ कार्यतालिका

रिपोर्ट नेपाल | 2019 Oct 12 | 09:29 am 1141

काठमाडौं, २५ आसोज : राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी जिङपिङको शनिबार अपराह्नदेखि दुई दिवसीय राजकीय भ्रमण हुँदैछ ।

तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । शनिबार काठमाडौँमा विशेष विमानबाट अवतरण गरेपछि केही क्षणको विश्रामपछि चिनियाँ विशिष्ट पाहुनाले आफ्ना नेपाली समकक्षी श्रीमती भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा शनिबार नै राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । आजै राष्ट्रपति सीसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिष्टाचार भेट गर्नेछन् ।

आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि उक्त मन्त्रालयले वार्ताको मिति सार्वजनिक गरेको छैन ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यस्तो छ शनिबारको कार्यतालिका

राष्ट्रपति सी शनिबार बेलुकी ५: ०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणसँगै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत गरिने छ। विमानस्थलमै सैनिक सलामी अर्पण गरिने छ।

६ बजे सी सोल्टी होटल जानेछन्। त्यसपछि ६: ३० बजे राष्ट्रपति भवन शीतलनिवास जाने कार्यतालिका छ। करिब ४५ मिनेट दुई पक्षीय छलफल पछि सोल्टी होटल फिर्ता हुने सवा सात देखि साढे सात बजेसम्म विपक्षी दलका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

७: ३० देखि राजकीय भोजमा सहभागी हुनुका साथै सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति गर्ने कार्यक्रम रहेको छ। शनिबार मुख्यगरी राष्ट्रपतिसँग भेट र राष्ट्रपतिको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ। सीको रात्रिभोज गराउने होटल सोल्टी निकै सिँगारीएको छ भने उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.