अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि प्रतिनिधिसभा बैठक स्थगित

| 2024 Jun 04 | 02:30 pm 809

काठमाडौँ २२ जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ ।

रोष्ट्रममा बोल्न गएका राप्रपा अध्यक्ष लिङ्देनले संसदमा अर्थमन्त्री वर्षमान पुन संसदमा उपस्थित हुनु पर्ने धारणा राखे ।

राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कुरा अर्थमन्त्रीलाई नै सुनाउनुपर्ने भन्दै अर्थमन्त्री आएपछि मात्रै बोल्ने अडान लिए । अर्थमन्त्री नै चाहिन्छ नि, सभामुख महोदय एकछिन ब्रेक गरौं, अर्थमन्त्री खाली भएपछि सुरु गरौं’, उनले भने ।

लिङ्देनले आफूले पाएको थोरै समय अर्थमन्त्री नआउँदै सकिए के गर्ने भन्दै अर्थमन्त्री आएपछि समय गणना सुरु हुने भए मात्र बोल्ने बताए । ‘उहाँ आउनुभएपछि सुरु गर्छु, म उभिन सक्छु’, लिङ्देनले भने, ‘एक छिन ब्रेक गरे पनि हुन्छ ।’

एमाले सांसद दयालबहादुर शाहीले नियमापत्ती गरे । उनले बोल्न गएपछि सरासर बोल्नुपर्छ, दोहोरी खेल्नुहुँदैन भनेपछि राप्रपा सांसदहरु उठे ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय पार्टीका संसदीय दलका नेताले अर्थमन्त्री खोज्दा दोहोरी खेलेको हुन्छ भन्दै प्रतिवाद गरे । ‘संसद कसैको पेवा होइन, जनताबाट निर्वाचित भएको एक जना सांसदको त्यति नै महत्व हुन्छ’, उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.