अधिकांश बालबालिका दाम्लाे र फलामकाे साङ्लाेमा बाँधिन बाध्य

रिपोर्ट नेपाल | 2019 Jun 23 | 07:19 am 2061

पाल्पा, असार ८:  कोही ओछ्यानबाट उठ्नै सक्दैनन्। कसैको आँखा त कसैको कानमा समस्या छ। कसैको मानसिक अवस्था ठिक छैन। कोही बोल्न सक्दैनन्। कसैको कम्मरमुनिको भाग चल्दैन।

कतिपय दाम्लोमा बाँधिएका छन् त कति कष्टपूर्ण जीवन बिताइरहेका छन्। रिब्दीकोट गाउँपालिका ख्याहास्थित जोगिथुमको कुमालबस्तीका अधिकांश बालबालिकाको समस्या हो यो। ७० घरपरिवार रहेको विपन्न बस्तीमा अधिकांश घरमा तीनदेखि पाँचजनासम्म अपांगता भएका व्यक्ति छन्। विपन्नताका कारण उनीहरू रोगको उपचार गराउन सक्दैनन्।

गाउँमा धेरै अपांगता भएका व्यक्ति भएपछि सबलांग व्यक्ति चिन्तित छन्। कसैले देउता रिसाए भन्छन्। कोही पितृ रिसाएको बताउँछन्। बोक्सी लागेर दुःख दिएको भन्नेहरू पनि छन्। गाउँ नै अन्धविश्वास रुमल्लिएका कारण उनीहरूको समस्या जटिल बनेको छ।

गाउँपालिकाले जोगिथुममा ५० जनाभन्दा बढी व्यक्तिलाई अपांगता परिचयपत्र वितरण गरेको छ। ३० जनाले जटिल किसिमको परिचयपत्र (रातो कार्ड) लिएको वडाध्यक्ष विष्णु गैरेले बताए। उनले अपांगको माग र चाहनाअनुसार वडाबाट सहयोग गर्न नसकिएको बताए। गैरेका अनुसार बस्तीमा परिचयपत्र लिन छुटेका व्यक्ति थप्रै छन्। उनीहरू वडा कार्यालयसम्म जान नसक्दा परिचयपत्र पाउन वञ्चित भएका हुन्। शौचालय जान नसक्नेको अवस्था दयनीय बन्दै गएको छ।

ख्याहाकै ८ वर्षीय शिव कुमाल चार वर्षदेखि सिक्रीमै बाँधिएका छन्। उनमा मानसिक समस्या रहेको छ। परिवारमा उपचार गराउने हैसियत छैन, एकाध अस्पतालमा लगेर उपचार गर्दा निको नभएपछि उनलाई सिक्रीले बाँधेर राखिएको हो।

उनीहरू अधिकांशमा शारीरिक, बौद्धिक, मस्तिष्क पक्षाघात, अटिजम, प्यारालाइसिसजस्ता समस्या छ। कतिपय जन्मिँदै अपांगता भएर जन्मिएका छन्। कोहीमा जन्मिएपछि समस्या देखिएको छ।

बालबालिका मात्र हैन, ठूलामा मानिसमा पनि यो समस्या उत्तिकै छ। ‘बाबा उभिन सक्नु हुन्न। हिँड्डुल पनि गर्न सक्नु हुन्न। शौचालय लैजान कठिन छ। एउटा ह्विल चियर पनि किन्न सकेका छैनौं’, विष्णु कुमालले भने। गाउँमा प्रशस्त जग्गाजमिन नभएकाले कुमाल परिवारको दैनिकी ज्याला मजदुरीमा चल्ने गरेको छ। बाहिर काम गर्न जाँदा परिवारका सदस्यहरूले अपांगता भएकालाई सिक्रीले बाँधेर राख्ने गरेका छन्।

घरमै सुत्केरी भएका महिलाबाट जन्मिएका अधिकांश बालबालिकामा अपांगता देखिएको अपांग पुनस्र्थापना केन्द्र पाल्पाका कार्यक्रम संयोजक कृष्ण गहतराजले बताए। उनीहरूको सहयोगका लागि पुनस्र्थापना केन्द्र सञ्चालन सहायक सामग्री वितरण गर्नुपर्ने र आउँदो पुस्ताका लागि आयआर्जन, जनचेतना, बालविवाह र हाडानाता विवाहलाई उन्मूलन गर्ने गरी अभियान सञ्चालन गर्नुपर्ने उनले बताए। गाउँमा माध्यमिक शिक्षा पास गरेका तीनचार जना मात्र छन्। आजकाे अन्नपूर्ण पाेष्टमा प्रकाशित

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.