सीमा बिवाद र बेलायतको भूमिका

| 2020 May 27 | 03:26 pm 12133

  • बसन्त भुजेल

ज्ञानले मानिसलाई दूरदर्शी बनाउँछ । दूरद्रष्टाहरुले एक सय – दुई सय वर्ष पछिको समेत सोच राखेर योजना बनाउन सक्छन् तर अदुरदर्शीहरुले योजना बनाउँदा भोली या पर्सीको समेत सोच राख्न सक्दैनन् । नेपालका सन्दर्भमा पृथ्वीनारायण शाहलाई दूरदर्शी राजा र बीपी कोइरालालाई दुरदर्शी राजनेता भन्ने गरिन्छ । जसले सयौं वर्ष पछिको सोच राखेर योजना बनाएका थिए ।

पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गर्दै गर्दा बेलायत कहिल्यै सूर्य नआस्ताउने देशका रुपमा अघि बढिरहेको थियो । सयौं वर्ष पछिको सोच राखेर बेलायतीहरुले आफ्नो साम्राज्य विस्तार गरेका थिए । त्यतिबेलाको युग नै साम्राज्यवादी थियो । युरोपका स्पेन, पोर्चुगल, फ्रान्स, जर्मनी, इटाली लगायतका मुलुकहरुले पनि आफ्नो साम्राज्य विस्तार गर्दै लगेका थिए । तर बेलायतले उपनिवेश बनाएका देशहरुमा शिक्षा, स्वास्थ्य, रेल सडक जस्ता विकासका पूर्वाधार निर्माण गरिएको थियो । लोकतान्त्रिक परिपार्टीको विकास पनि गरिएको थियो तर अन्य मुलुकले आफ्ना उपनिवेशहरुलाई अन्धकारमा राखेका थिए । आज आएर हेर्दा बेलायतको उपनिवेश भएका देशहरु हरेक दृष्टिकोणले निकै अघि छन्, तर अन्य देशको उपनिवेश भएका मुलकहरु अहिलेसम्म पनि तहस नहस छन्, गृहयुद्धको चपेटामा छन् । यस्तो किन भयो त ? किनकी बेलायले सयौं वर्ष पछि सम्मको सोच राखेर योजना बनायो भने अरु साम्राज्यवादी मुलुकहरुले तत्कालिन लाभलाई मात्रै ध्यानमा राखेर योजना बनाए ।

यो आलेखमा बेलायतको प्रसंग उल्लेख गर्नुको मुख्य कारण हो–‘यतिबेला जल्दो–बल्दो समस्याका रुपमा उठेको कालापानी मुद्धा ।’ सन् १९४७ साल अघि हामी उत्तर बाहेक अन्य तीन तिर बेलायतको छिमेकी थियौं । बेलायत सँग सुगौली सन्धी भई हाम्रो बर्तमान सीमा रेखा कायम भएको हो । दक्षिण एशियाका प्राय सबै देश बेलायतले निल्यो तर नेपाल सँग सन्धी गर्यो । नेपालको सार्वभौमिकतालाई बेलायतले आँफू बरावरको हैसियत दियो । किन दियो ? नेपाल सँग नसकेरै दिएको पक्कै होइन । नेपाललाई निलेर भन्दा मित्रता राख्दा भविष्यमा आफूलाई लाभ हुने बेलायतले देख्यो । नभन्दै नेपालीहरुको सहयोगले बेलायतले अरु धेरै मुलुकमा आफ्नो साम्राज्यवाद विस्तार गर्यो । सुगौली सन्धीपछि तराईका केही भूभागहरु बेलायतले नेपाललाई फिर्ता गर्यो तर लिम्पियाधुरा–कालापानी क्षेत्रमा भने महाकाली पूर्व पनि बेलायतले च्याप्दै ल्यायो । तराईको समथर र उव्जाउ भूमी धेरै फिर्ता गरिदिएका कारण लिम्पियाधुराको थोरै बञ्जर भूमीको विषयमा नेपालका शासकहरुले खासै चासो दिएनन् । किनकी भोली यो क्षेत्रको रणनीतिक महत्व कस्तो होला ? भन्ने नेपालका शासकलाई थाहा थिएन , तर अंग्रेजहरुले भने मज्जाले बुझेका थिए । भविष्यमा जलस्रोत , पर्यटन र चीनसँगको व्यापारका लागि यो क्षेत्रको बिशिष्ट महत्व हुने उनीहरुले बुझेका थिए ।

व्रिटिशहरुले पहिलो पटक १४ अगष्ट १६१६ मा भारतीय भूमीमा पाइला टेकेका थिए । त्यसबेला अहिलेको भारतीय भूमीमा साना ठूला गरेर पाँच सय ५० देश थिए । विस्तारै व्यापार बढाउन थाले । स्थानीय व्यापारीको साथ लिँदै त्यहाँका राजाहरुलाई आफ्नो बसमा पार्दै गए । १६५८ बाट भारत भूखण्ड भित्रका सबै देशमा शासन चलाउन थाले । यस क्रममा उनीहरुले नेपाल र भारत दुवै देशको नक्सा बनाए । यो नक्सा नै अहिलेसम्मको आधिकारिक हो । जुन नक्सामा महाकालीलाई सीमा नदी मानिएको छ । सीमाविादलाई टुंगो लगाउने मुख्य आधिकारिक दस्तावेज भनेको यही हो ।

कस्तो छ कालापानी ?
यो भूभाग ३ हजार मिटर भन्दामाथि उचाई भएको हिमाली क्षेत्र हो । जसलाई लिपुलेक भनिन्छ । यहाँ बसोबास खासै छैन । तर चीनतर्फ जोड्ने ४ वटा भञ्ज्याङ (कुटी , लिपु , कालापानी र टिंकर) यसै क्षेत्रमा पर्ने भएकोले यसलाई भारतले रणनीतिक महत्वका साथ हेरेको देखिन्छ । यी ४ वटा भञ्ज्याङमध्ये कुटी क्षेत्रको भञ्ज्याङ व्रिटिशका पालामा नै पुरै आफ्नो सिमाभित्र पारिएको थियो भने गुञ्जी क्षेत्रको कालापानी भञ्ज्याङलाई नेपाल, भारत र चीनको त्रिदेशीय सिमा भित्र पारिएको थियो । लिपु र टिंकर भञ्ज्याङ नेपाल तर्फ नै पारिएको थियो । तर भारतले नयाँ नक्सामा गुन्जी क्षेत्रका लिपु र कालापानी भञ्ज्याङलाई पुरै आफ्नो भूभागमा पार्दै त्यस भन्दा करिब ६० किलोमिटर पूर्वको टिंकर भञ्ज्याङको लेकलाई त्रिदेशीय सीमा कायम गराउने प्रयास गरेको छ । नयाँ विवादको जड यही हो ।

भारतले २०१९ सालमा सैनिक क्याम्प राखेको गुन्जी क्षेत्रभन्दा उत्तर पश्चिमतर्फ ६ वटा गाउँ छन् । ती गाउँहरु नेपालतर्फ भएको, ती गाउँहरुको प्रशासन नेपालले चलाएको वा ती गाउँबाट नेपालले मालपोत लिने गरेको प्रमाण सरकारसँग सुरक्षित छन् । यसैको आधारमा सरकारले नक्सा जारी गरेको हो । केहीवर्ष अघि कालापानीको विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ पत्रकार भैरव रिसालले लामो आलेख नै लेखेका थिए । उनले आलेखमा भनेका थिए– २०१८ सालको जनगणनामा म गणकको रुपमा दार्चुलाको उत्तरी क्षेत्रमा पुगेको थिएँ, त्यतिबेला गुञ्जीदेखि कुटीसम्मका महाकाली नदी किनारमा ६ वटा गाउँको जनगणना म आँफैले गरेको हुँ, त्यतिबेलाको जनगणनाको अभिलेख सरकारले सार्वजनिक गर्नुपर्यो ।’ तर हाम्रो मुलुकका सत्ताधारीहरु मस्त निन्द्रामा छन् या नियत खराब हो ? भन्ने प्रश्न उठेको छ । मुलुकको सिमाजस्तो संवेदनशील विषयमा यसरी उदासिन रहनु खतराको संकेत हो ।

सुगौली सन्धीपछि पश्चिमतर्फ नेपाल भारतको सीमाना नदी महाकाली हो भन्ने कुरामा कुनै विवाद छैन । त्यस अघि नेपालको सीमाना सतलज नदी हो । अंग्रेजसँग नेपालले युद्ध हारे पछि सन् १८१६ मा सुगौली सन्धी भयो । सुगौली सन्धीमा महाकाली नदीलाई सीमा नदीका रुपमा उल्लेख गरिएको छ । तर महाकाली नदीको उदगमस्थलका विषयमा भारतले बखेडा निकालेको छ । २०१९ मा भारत र चीनबीच युद्ध भएपछि महाकाली नदीको उद्गमस्थलका विषयमा भारतले बखेडा निकालेको हो । महाकाली नदी कुटी भन्दा उत्तरतर्फको लिपुलेक लिम्पियाधुराबाट उत्पत्ती भई दक्षिण पूर्वतर्फ बग्छ । १ सय १० किलोमिटर दक्षिण पूर्व बगेपछि महाकाली नदीमा उत्तरबाट सिधै आएको एउटा खोला मिसिन्छ । त्यसपछि महाकाली नदी सिधै दक्षिण बग्छ । त्यो खोला मिसिने ठाउँ गुन्जी उपत्यका हो । करिब ३ हजार मिटर उचाईको गुन्जी उपत्यकामा भारतले चीनसँग युद्ध हुँदा आफ्नो सैनिक क्याम्प राखेको थियो ।

अंग्रेज र नेपालबीच सुगौली सन्धी भएको २ सय ४ बर्ष बितेको छ । सन् १८१६ मा नेपाल र अंग्रेजबीच सुगौली सन्धी हुनुअघि नेपालको पश्चिमी सीमा सतलज नदीसम्म थियो । सुगौली सन्धीका कारण यो सीमा करिब ५ सय किलोमिटर पूर्व महाकाली नदी कायम हुन आयो । नेपालको पश्चिम सीमाना महाकाली नदी हो भन्ने कुरा सुगौली सन्धीमा स्पष्ट उल्लेख छ । तर महाकाली नदीको उदगमस्थलको विषयमा नेपाल अहिलेसम्म मौन छ ।

महाकाली नदीको उद्गमस्थलका विषयमा भारतले गर्दै आएको दाबीका सन्दर्भमा अहिले फेरी कुरा उठेको छ । पानीको बहावका हिसाबले लिम्पियाधुराबाट बग्ने नदी नै महाकाली नदी हुनु पर्ने हो, तर भारतले त्यसभन्दा १ सय १० किलोमिटर पूर्वमा पर्ने गुन्जी भन्ने ठाउँमा मिसिने एउटा खोलालाई नै महाकाली नदी भन्दै आजभन्दा ५७ वर्षअघि सैनिक क्याम्प राख्यो । यतिबेला गुन्जीबाट पनि ६० किलोमिटर पूर्वको टिङ्कर भन्ज्याङ सीमाना भएको भन्दै भारतले नयाँ नक्सा सार्वजनिक गर्यो । अहिले त सडक उद्घाटन गरिसकेको छ ।

यो भूभाग सजिलै छाड्न भारत तयार देखिन्न । चीनसँग जोड्ने अर्थात् आवतजावत गर्न सकिने ३ वटा भन्ज्याङ पर्ने भएकाले भारतले टिंकरदेखि लिम्पियाधुरासम्मको करिब ३ सय ७० वर्गकिलोमिटरको यो क्षेत्रलाई रणनीतिक रुपमा लिएको छ । त्यसैले सामान्य अवस्थामा यो दाबी छाड्न भारत तयार नदेखिएको हो । त्यसैले सीमा अतिक्रमणको यो मुद्दा निकै पेचिलो बन्ने देखिन्छ । कृषिका दृष्टिले खासै महत्वपूर्ण नभए पनि चीनसँगको रणनीतिक, पर्यटकीय तथा व्यापारिक दृष्टिले ज्यादै नै महत्वपूर्ण यस भूभागका बारेमा नेपालले बेलैमा अन्तर्राष्ट्रिय लबिङ अघि बढाउन जरुरी छ ।

नेपाली भूभाग गुञ्जि उपत्यकामा भारतीय सेनाको क्याम्प राख्दा त्यसबेला नेपाल सरकार चुप लाग्यो । भर्खर पञ्चायती व्यवस्था सुरु भएकोले भारतलाई नचिढ्याउनका लागि राजा महेन्द्र मौन रहेका थिए । तर भारतले गुन्जी उपत्यकाबाट आफ्नो सैनिक क्याम्प हटाएन । उल्टै गुन्जीमा मिसिने खोला नै महाकाली नदी भएको दाबी गर्दै स्थायी रुपमै सिमाना कायम गर्यो । यो रहस्य पञ्चायती व्यवस्था विघटन भए पछि मात्रै बाहिर आयो । २०४६ सालको परिवर्तन पछि नेपालले वास्तविक महाकालीको उद्गमस्थलका विषयमा कुरा उठाउन थाल्यो ।

बेलायबाट सिक्नु पर्ने कुरा अहिले हामीले हेर्ने भनेको गुगल पेजमा समेत भेटिने टोपोग्राफिक नक्सा हो । यसको सहायताले हामी सँग भएका नदी नाला तथा प्राकृतिक संम्पदा देख्न पाइन्छ । पूर्व पश्चिम राजमार्ग धरान धनकुटा राजमार्ग । लगायत नेपालका धरै सडकमा बेलायती सहयोग छ । २०५० सालको बाढी पहिरोमा पृथ्वीराजमार्गका पुल बगाउँदा बेलायत सरकारले वेलीव्रिजको सहायता गरेको कुरा यहाँनिर स्तुत्य छ । नेपालका धेरै झोलुंगे पुलहरु व्रिटिश सहयोगमा बनेका हुन् ।

गाउँ घरका धेरै खानेपानीका आयोजनाहरु व्रिटिस सहयोग नियोग डिएफआइडीद्धारा बनाइएका छन् । यसमा गोर्खा वेलफेयर ट्रष्टको ठूलो योगदान छ । सेभ द चिल्ड्रेन युकेको सहयोग धेरै छ । तर पछिल्ला दिनमा नेपाल सरकारले ठूलो लगानी भने भित्र्याउन सकेको छैन । संसार बनाउने बेलायतले नेपालमा लगानी नगर्नु भनेको हाम्रो आफ्नै कमजोरी हो । लगानी भित्र्याउने मामिलामा सरकार चुकेको छ । लगानीका लागि सुनिश्चित बातावरण बनाउनु पर्छ ।

नदीनाला भनेका हाम्रो मुलुकका लागि हिराका खानी हुन् । तर यसको फाइदा केही निजी व्यापारी तथा भारतले मात्रै लिने गरी योजना बनेका छन् । ठूला नदी भारतले ओगट्ने र साना नदी तथा खोलाहरुको लाइसेन्स निजी क्षेत्रका व्यापारीहरुले झोलामा राखेका छन् । अभिलम्व नेपाल सरकार आफैले उत्पादन गर्नु पर्छ । अथवा नेपाललाई फाइदा हुने गरी प्रतिस्पर्धाको माध्यमबाट काम अघि बढाउनु पर्छ । नभए जलस्रोतको धनी देशका रुपमा नेपालको नाम जप्नुको कुनै अर्थ छैन । यस्तै अवस्था हो भने नेपालको जलस्रोत सँधैका लागि भारतको हातमा जानेछ । भोली आफ्नै नदीनालावाट खानेपानी आपूर्तीका लागि पनि भारतको अनुमति लिनु पर्ने दिन आउँछ । मलाई लाग्छ भारत जलविद्युतलाई भन्दा पनि खानेपानीका लागि नेपालका नदीनालाहरु ओगट्न चाहन्छ । त्यसैले नेपालको पानीको साँचो उसले आफ्नो हातमा राख्न चाहन्छ ।

वैदेशीक मुद्रा आर्जनका लागि नेपालको सबै भन्दा ठूलो संभावना भनेकै पर्यटन हो । तर, यस क्षेत्रको विकासका लागि नेपालले खासै फड्को मार्न सकेको देखिँदैन । चीन र भारत दुवै छिमेकीमा करिव डेढ अर्ब जनसंख्या छ । हरेक वर्ष यी दूई देशबाट करिव १६ प्रतिशत जनसंख्या विदेश घुम्न जान्छन् । उनीहरु मध्ये एक प्रतिशतलाई नेपालमा आकर्षित गर्ने हो भने पनि निकै महत्वपूर्ण उपलव्धी हुन्छ र यसै गरी हरेक वर्ष करिव ३० करोड पर्यटक चीन र भारत पुग्छन् । त्यसमध्ये केहीलाई मात्रै नेपालमा आकर्षित गर्ने हो भने पनि ठूलो उपलव्धी हुन्छ । तर यस तर्फ नेपालका नीति निर्माताहरुको ध्यान कहिल्यै गएन ।

के नेपालमा विज्ञको अभाव भएकै हो ? सन् २००३ तिर बेलायतमा ठूलो आर्थिक अस्थिरता उत्पन्न भयो । मानिसहरुले लाइन लागेर बैंकहरुबाट आफ्नो निक्षेप निकाल्न थाले । यो संकट पछि बैंक अफ् इंगलैण्डले आर्थिक विज्ञको खोज गर्यो । क्यानडाका गर्भनर मारकोनीलाई बोलाइयो । उनले विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको देशलाई तत्कालिन समस्याबाट बाहिर निकाले पनि हाम्रो देशमा बिज्ञ छैनन् भनेको चाँही होइन । धेरै विज्ञ छन् , तर अधिकांश काम विज्ञ भन्दा भाषण विज्ञ छन् । भाषणमा त मंगल ग्रहमा प्लटिङ गरेर हरेक नेपालीलाई घडेरी बाँढ्ने कुरा गर्छन् । ठाउँको ठाउँ मान्छे ढाल्ने उखान टुक्का धाराप्रवाह बाचन गर्न सक्छन् । तर यस्तो ज्ञानले गरिवको पेट भरिँदो रहेनछ । मुलुकको विकास हुँदो रहेनछ । देशको मुहार फेरिँदो रहेनछ ।

म जस्तो धेरै पढेको पिएचडी गरेको , मान्छे संसारमा अर्को छैन , मैले नै यो दशको अर्थतन्त्र हाक्नुपर्छ भन्नु गलत हो । विज्ञहरु सबैको सहयोग लिनुपर्छ । धेरै पढेका विद्धान भनिनेहरुको व्यवहार पनि कहिलेकाँही पागल जस्तो देखिन्छ । तसर्थ नेपालको भुगोल माटो सुहाँउदो नेपालीको भावना बुझेको विज्ञको छनौट गर्ने हो कि ? हाम्रो अर्थतन्त्र खासै ठूलो पनि छैन । हाम्रो देशको भन्दा ठूला अर्थतन्त्र भएका कयौं निजी व्यापारी कम्पनीहरु विश्वमा छन् । तर हाम्रो त देश हो । जस्तो भन्यो त्यस्तै विज्ञ रोजी रोजी पाउन सक्छौं । विज्ञ खोज्दा रंग र गोत्र होइन देशका लागि माया गर्ने रोज्नु पर्छ ।

(भुजेल गाेर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.