साढे ३३ केजी सुन प्रकरणका अभियुक्त वाङ्गेलद्‍वारा आत्मसमर्पण

रिपोर्ट नेपाल | 2018 Jun 03 | 12:28 pm 3835

मोरङ, जेठ २०: साढे ३३ केजी सुन तस्करी प्रकरणका महत्वपूर्ण सदस्य मानिएका छिरिङ वाङ्गेल पनि आत्मसमर्पण गरेका छन् ।

वाङ्गेलले विराटनगरस्थित जिल्ला अदालत मोरङमा कार्यालय खुल्ने वित्तिकै आत्मसमर्पण गरेका हुन् । आत्मसपर्मण लगत्तै वाङ्गेलको बयान सुरु गरिएको छ ।

सुन ओसार पसारमा महत्वपूर्ण भूमिका खेल्दै आएका भनिएका वाङ्गेल तस्करी गरि ल्याइएको साढे ३३ केजी सुन हराएदेखि नै वेपत्ता थिए ।

यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ्गेल भएको बयान दिएका थिए । गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए ।

उनले अाफू छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने गरेको बताएका थिए । छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान थियाे ।

खत्रीले पनि गत बिहीबार मात्रै जिल्ला अदालत, मोरङमा अात्मसमर्पण गरेका थिए । गोरेले खत्रीलार्इ पक्राउ गरे प्रकरणको धेरै कुरा सार्वजनिक हुने दाबी गरेका थिए । यद्यपि, खत्रीले अदालतमा इन्कारी बयान दिए ।

उनले प्रहरीकै एउटा गुटले अाफूविरुद्ध षड्यन्त्र गरेकाे दाबी गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.