सम्भावित विश्व सम्पदा स्थलको अध्ययन सुस्त

| 2021 Dec 21 | 07:19 am 1565

काठमाडौँ, पुस ६ः तिलौराकोटको प्राचीन शाक्य साम्राज्यको अवशेष खोजी कार्य भइरहेको छ । सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन कार्य भइरहेको हो । यद्यपि बजेट अभावका कारण विश्व सम्पदा सूचीका लागि पहिचान गरिएका अन्य १४ सम्भावित विश्व सम्पदा स्थलको अध्ययन अगाडि बढ्न सकेको छैन । नेपालका दुई सांस्कृतिक र दुई प्राकृतिक सम्पदा स्थल विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

सरकारले मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा, खोकना, रामग्राम (बुद्धको अवशेष स्तूप), पनौतीको मध्यकालीन वास्तुकला, पाल्पाको तानसेन दरबार, रिडी, सिञ्जा उपत्यका, दैलेखको भूर्ति मन्दिर परिसर, लोमान्थाङको मध्यकालीन पर्खाल, कीर्तिपुरको मध्यकालीन बस्ती, बज्रयोगिनी र साँखु क्षेत्र, नुवाकोट दरबार, गोरखा दरबार, तिलौराकोट र जानकी मन्दिर गरी १५ स्थानलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरी पहिचान गरेको थियो ।

पुरातत्त्व विभागका सूचना अधिकारी डा. सुरेशसुरस श्रेष्ठका अनुसार सम्भावित विश्व सम्पदाका लागि पहिचान गरिए पनि स्थानीय चासो र बजेट अभावमा सो क्षेत्रको थप अध्ययन एवं अनुसन्धान अगाडि बढ्न सकेको छैन । विश्व सम्पदामा सूचीकृत हुन आवश्यक तथ्य र प्रमाण जुटाउन अध्ययन र अनुसन्धान निकै महत्त्वपूर्ण हुन्छ । सो कार्यका लागि विशेषज्ञसहितको अनुसन्धान र उत्खनन आवश्यक हुन्छ, जुन बजेटका हिसाबले महँगो हुन्छ । उनले भने, “अनुसन्धान र अध्ययनका लागि विभागसँग बजेट पर्याप्त छैन । राज्यले अनुसन्धान र संरक्षणमा ठूलो बजेट लगानी गर्नुपर्छ ।”

उनका अनुसार नेपालका सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धान र संरक्षण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने हो भने वार्षिक ३० करोड रुपियाँभन्दा बढीको बजेट तयार गर्नुपर्ने हुन्छ । उनले भने, “नेपालका सम्पदाको अध्ययन अनुसन्धान गर्ने नै हो भने बजेट अपुग छ । भूकम्पपछि निर्माणमा केही बजेट आए पनि नियमित अनुसन्धानको बजेट निकै कम छ ।”

स्थानीय चासो र जवाफदेहिताको कमीका कारणसमेत सम्भावित विश्व सम्पदा स्थलको काम अगाडि बढ्न नसकेको उनले बताए । सम्भावित सम्पदा सूचीमा रहेका १५ स्थलमध्ये तिलौराकोटलाई सूचीकृत गर्न सरकारले अनुसन्धानको कामलाई तीव्रता दिएको छ । शाक्य गणराज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न तथ्य र प्रमाणको खोजीका लागि उत्खनन भइरहेको छ । यद्यपि तिलौराकोट सहर मात्र थियो कि राजधानीका रूपमा दरबारसमेत थियो भन्ने विषयमा अध्ययनले निष्कर्ष निकालिसकेको छैन ।

सूचना अधिकारी डा. श्रेष्ठका अनुसार सहर र दरबारका केही प्रमाण भेटिएका छन् । यद्यपि अध्ययनको निष्कर्ष निस्किसकेको छैन । फागुनसम्म केही निष्कर्ष आउला । सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न छवटा मापदण्ड हुन्छन् । तीमध्ये सांस्कृतिक सम्पदाका लागि कम्तीमा एउटा मापदण्ड र प्राकृतिक सम्पदाका लागि कम्तीमा चारवटा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।

मानवीय मस्तिष्क, समाज र संस्कृतिको उपजका रूपमा स्थापित भौतिक संरचना, स्मारक स्थल बहुमूल्य सम्पदा हुन् । ती सम्पदा विश्व मानव जातिका साझा सम्पदा हुन् । तिनको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले युनेस्कोले विश्व सम्पदा समितिअन्तर्गत विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको संरक्षण गर्दै आएको छ । विश्व सम्पदा महासन्धि, १९७२ सन् १९७५ देखि लागू भएको हो । नेपालले सन् १९७८ मा यसको अनुमोदन गरेको हो । त्यसयता काठमाडौँ उपत्यकाका सात क्षेत्रलाई एक रूपमा काठमाडौँ उपत्यका विश्व सम्पदा स्थल भनी सूचीकरण गरिएको छ ।

नेपाल सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ अनुसार यी सात क्षेत्रलाई चार किल्ला तोकी सीमाङ्कन गरेर क्रमशः स्वयम्भू (२०३६ साल), हनुमानढोका, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण तथा बौद्धनाथ (२०४१ साल), पशुपतिनाथ क्षेत्र (२०५५ साल)लाई अलग–अलग संरक्षित स्मारक क्षेत्र भनी घोषणा गरिएको थियो । प्राकृतिक सम्पदामा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

नेपालले सन् १९९६ र सन् २००८ मा गरी दुई पटक विभिन्न राष्ट्रिय सम्पदालाई सम्भावित विश्व सम्पदाका सूचीमा सूचीकृत गरिसकेको छ । त्यसमध्ये सन् १९९६ मा सम्भावित विश्व सम्पदाका सूचीमा सूचीकृत गरिएको लुम्बिनी, भगवान् बुद्धको जन्मस्थललाई सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको थियो । यद्यपि अन्य सम्भावित सम्पदा स्थल यति लामो समय बितिसक्दा पनि अझैसम्म विश्व सम्पदामा सूचीकृत हुन सकेका छैनन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.